युवतीमाथि एसिड आक्रमण गर्ने दुई युवक सार्वजनिक


काठमाडौं । हिजो सीतापाइलामा २२ वर्षीया युवती पवित्रा कार्कीलाई एसिड प्रहार गर्ने दुई व्यक्तिलाई प्रहरीले हिजो राति नै पक्राउ गर्न सफल भएको छ ।
काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाले टेकुमा संयुक्त पत्रकार सम्मेलन गरेर दुई जनालाई सार्वजनिक गरेको छ ।
युवतीलाई एसिड हानेको अभियोगमा पक्राउ पर्नेहरुमा रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन् । साँझ ८ बजेट युवतीलाई एसिड हानेका उनीहरुलाई राति ११ बजे डल्लुबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताएका छन् । सीसीटिभी फुटेजका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कार्कीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि मोहम्मदले उनलाई एसिड हान्ने योजना बनाएको पाइएको प्रहरीले जनाएको छ । आफूले एसिड प्रहार गर्दा चिन्ने हुनाले कामदार मुन्नालाई प्रयोग गरेर आलमले ट्वाइलेट–बाथरुम सफा गर्ने एसिड प्रहार गरेको बताएको प्रहरीले जनाएको छ ।
भारतीय नागरिक मोहम्मदले साहुको निर्देशनमा एसिड हानेको बयान दिएका छन् । राति नै भारततिर जान भनेको पनि मुन्नाले खुलासा गरेका छन् । तर, महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको द्रुत एक्सनका कारण मुन्ना बिहीबार राति ११ बजे पक्राउ परेपछि भाग्न पाएनन् ।
घटनास्थल नजिकै रहेको क्लोज सर्किट ९सीसी० क्यामरा फुटेजका आधारमा प्रहरीले मुन्नालाई पक्राउ गरेको हो । साहु मोहम्मदले पनि अभियोग स्वीकारेका छन् । आक्रमणमा परेकी कार्कीले आफूसँग प्रेम नगरेको आरोप उनको छ । तर, पीडित युवतीले भने उनी आफ्नो अभिभावक जस्तो भएको बयान दिएकी छन् ।
कीर्तिपुर अस्पतालमा उपचाररत कार्कीले प्रहरीसँग भनेकी छन्, ‘उनले यस्तो गर्लान् भन्ने मलाई एकरति पनि विश्वास थिएन ।’