काँग्रेस गुल्मीको कडा आन्दोलनपछि सामी परियोजनाको परिक्षा स्थगित

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा आइतबार हुन लागेको आप्रवासन (सामी) परियोजनाको परिक्षा नेपाली काँग्रेसको कडा आन्दोलन पछि स्थगित भएको छ । सामी परियोजना कार्यक्रममा नगरपालिकाले एकलौटी रुपमा कार्यक्रम अगाडी बढाएको भन्दै नेपाली काँग्रेसले आज दिनभर धर्नासँगै बिरोध जनाएको थियो ।

काँग्रेसको कडा विरोधपछि नेपाल सरकार र स्विस सरकारको संयुक्त सहयोगमा सञ्चालन हुन लागेको सामी परियोजनाको कर्मचारी भर्नाका लागि हुन लागेको परिक्षा स्थगित भएको हो ।

कर्मचारी आवेदन सूचनालाई गोप्यमा राख्ने, पर्याप्त दरखास्त पर्ने वातावरण विपरित कार्य गरि आ–आफ्ना कार्यकर्ता भर्ना गर्ने उद्देश्यका साथ नाम सुचिकृत गरि गर्न लागिएको भन्दै परिक्षा तत्काल स्थगितका लागि काँग्रेस रेसुङ्गा नगर समितिले आजदिनभर धर्नासँगै आन्दोलनमा उत्रिएको थियो ।

अन्तिम समयमा आएर रेसुङ्गा नगरपालिकाले एक सुचना जारी गर्दै असहज परिस्थितिका कारण अर्को सुचना नभए सम्मका लागि परिक्षा स्थगित भएको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासीनीले जानकारी दिनुभयो ।

त्यस परियोजनाको लागि रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका, छत्रकोट गाउँपालिका र इस्मा गाउँपालिकाका लागि कर्मचारी छनौट गर्न आज गर्न लागिएको परिक्षा अन्तिम समयमा आएर असहज परिस्थितिको कारण जनाउँदै स्थगति गरेको उहाँको भनाई छ ।

रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुसालले काँग्रेसको अबरोध गरेका कारण परीक्षा संचालन गर्न नसकिएको बताउनुभयो । उहाँले नगरपालिकाले सबै कार्य प्रक्रियागत रुपमा गरेको र काग्रेसले अबरोध गर्नुमा कुनै तुक नरहेको उल्लेख गर्नुभयो ।

रेसुंगा नगरपालिका गुल्मीका सूचना अधिकारी शंकर प्रसाद गौतमले आफूहरुले नियम संगत २०७६ फागुन १२ गते सूचना प्रकाशन गरी आबेदन माग गरिएको र सोही अनुसार छोटो सूचिमा नाम प्रकाशन गरिएको बताउनुभयो ।

आज दिनभर नेपाली काँग्रेस रेसुङ्गा नगर समिति गुल्मीले रेसुङ्गा नगरपालिकामा धर्नासँगै विरोध प्रर्दशन गरेको थियो । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस गुल्मीका उपसभापति बिष्णु प्रसाद बलालले नगरपालिकाले सुचनालाई गोप्य राखि आफ्ना कार्यकर्ता भर्ती गर्नेतर्फ केन्द्रित देखिएको आरोप लगाउनुभयो । उहाँले नगरपालिकामा नितिगत भष्ट्रचार मौलाउँदै गएको बताउनुभयो ।

यसअघि रेसुङ्गा नगर समितिले ज्ञापनपत्र मार्फत परिक्षा तत्काल रोक्न ध्यानकर्षण गराएपनि आफुहरुको मागलाई वेवास्ता गरेकाले आन्दोलित हुनु परेको नगर सभापति छवि पाण्डेले बताउनुभयो । उहाँले पुन विज्ञापन गरी परिक्षा सञ्चालन गर्नुपर्ने आफुहरुको माग रहेको उल्लेख गर्नुभयो ।

जिल्लाका ४ वटा स्थानीय तहमा यो कार्यक्रम लागु हुनेभएकाले यो कार्यक्रमको संयोजन रेसुंगा नगरपालकाले गरेको छ । रेसुंगा, मुसिकोट नगरपालिका, इश्मा र छत्रकोट गाउँपालिकाका २४ जना कर्मचारी छनोटका लागि आइतबार परीक्षा तोकिएको थियो । बैशाखमा गर्ने भनिएको परीक्षा लकडाउनका कारण हुन नसकेको र असार २७ गतेका लागि तोकिएको परीक्षा बर्षातका कारण संचालन गर्न नसकिएको नगरपालिकाले जनाएको छ ।