चाडवाड आउदै गर्दा चिनी मँहगो हुदै

सरकारले समयमै ध्यान नदिदा उपभोक्ता मारमा पर्ने


काठमाडौं । सरकारले समयमै निर्णय लिन नसक्दा चाडबाडको मुखमा चिनी महंगिएको छ । व्यापारीको रणनीतिलाई सरकारले व्यवास्ता गर्दा यो स्थितिको सृजना भएको हो । काठमाडौंमा एक महिना अगाडि ८० रुपैयाँ प्रतिकिलोमा पाइने चिनी अहिले ९० रुपैयाँ पुगिसकेको छ ।

अहिले होलसेलमै चिनीको मूल्य ८० रुपैयाँभन्दा बढी पर्छ । स्वदेशी उत्पादन रित्तिएपछि भारतबाट सस्तोमा आयात गरिएको चिनी उपभोक्ताले महंगो मूल्यमा किनिरहेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

खाद्य व्यवस्था र साल्ट ट्रेडिङको विवरणअनुसार झण्डै एक हजार मेट्रिक टन चिनी मात्रै मौज्दात रहेको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । हाल मुलुकभरको चिनीको दैनिक माग नै दुई हजार मेट्रिक टन हो । खाद्य व्यवस्थाले खुद्रामा आफैं चिनी बिक्री गर्छ भने साल्ट ट्रेडिङले थोकमा बिक्री गर्ने गर्दछ ।

ठुला खुद्रा बिक्रेताहरुले साल्ट ट्रेडिङबाट झण्डै एक महिनादेखि नै थोकमा चिनी किन्न नपाएको खुद्रा व्यापार संघका महासचिव अमुल काजी तुलाधरले बताएका छन् । साउनमा नै यस्तो अवस्था आएपछि हाम्रो ठूलो चाड दशैं तिहारमा यसको झनै ठूलो हाहाकार हुने देखेको छु । यसमा सरकारले बेलैमा ध्यान दिनु पर्छ । नत्र उपभोक्ता मारमा पर्छन भने केही काला बजारीले राज गर्ने कुरा तुलाधरले बताए ।