जनकपुरधाममा सोमबार रातिदेखि निषेधाज्ञा
काठमाण्डौ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिकाले सोमबार रातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ ।
आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जनकपुरधाममा सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
उनले निषेधाज्ञा जनकपुरधाम उपमहानगरपालिकाका साथै उत्तरमा महेन्द्रनगर नजिकको औरही पुलसम्म जारी गरिने बताए । यस समयमा अति आवश्यक कामबाहेक सबैलाई घरभित्र बस्न आग्रह गरिएको उनले बताए ।
यो स्थानीय प्रशासन ऐन अन्तर्गत जारी गरिएको भट्टराईले बताएका छन् । यस भन्दा पहिले नै प्रदेश २ को बीरगंज, राजविराज र जलेश्वरमा निषेधाज्ञा जारी गरिसकिएको छ ।
अहिले काठमाण्डौ उपत्यकामा देखिएको संक्रमणले तिब्रता लिईरहँदा सरकारले कस्तो रणनीति अवलम्बन गर्दा चासोको विषय बन्दै गईरहेको छ ।