कर तिर्न पनि घुस दिनुपर्ने
सरकारको नारालाई धज्जी उडाउँदै कर्मचारी
काठमाडौं । सरकारले गतबर्षको चैत्र ११ बाट लगाएको लकडाउनलाई असार २६ गते बाट केही खुकुलो बनायो । खुकुलो बनाएसँगै चालु आर्थिक बर्षको कर तिर्नलाई सजिलो बनाएको समाचार बाहिर आए । साउनको पहिलो साता अर्थात ७ गतेबाट लकडाउनलाई पुरै खुल्ला गरियो । त्यसपछि त नागरिकले हरेक बर्ष सरकारलाई तिर्नुपर्ने कर तिर्न नागरिकहरु बाध्य नै भए ।
मुलुकमा कोरोनाको त्रास कम नहुँदै र लकडाउन हटेसँगै सर्वसाधरण नागरिकहरु कर तिर्नको लागि अग्रसर हुन थालेका छन । तर कर तिर्न गएका नागरिकहरुले सजिलो गरी तिर्न पाएका छैनन । कर तिर्न पनि घण्टौ लाइनमा बस्नुपर्ने र बिचौलियको सहयोग लिनुपर्ने अवस्थाको सिर्जना गरेका छ ।
यातयात व्यवस्था बिभाग अन्तर्गतका सेवा कार्यालयहरुले सेवाग्राहीलाई सोझै कर नलिएर बिचौलियामार्फत लिने गरेको पाइएको छ । भक्तपुरको श्रृजनानगरस्थित सल्लाघारीमा रहेको यातयात सेवा कार्यालयले अघिल्लो आर्थिक वर्ष र चालु आवको सवारी कर तिर्न गएका सवारी धनीसँग भन्दा पनि बिचौलिया मार्फत कर लिने गरेको गुनासो बाहिर आएको छ । कर्मचारी त्यसो गर्दा सेवाग्राही मर्कामा पर्नुका साथै अतिरिक्त रकम तिर्न बाध्य भएका छन ।
गएको सोमवार सवारी कर तिर्न गएका सयौं सेवाग्राहीहरु कार्यालयभित्र प्रबेश गर्न नै पाएनन । कर तिर्नको कुरै छाडौं कार्यलयभित्र प्रबेश गर्न नपाएपछि कर तिर्न गएकाहरु कर्मचारीसँग आक्रोसित हुँदै कराइरहेका थिए । आजको कोटा पूरा भएको भन्दै कर्मचारीले गेट बन्द गरेर भित्र पस्न नदिएपछि उनीहरु त्यसरी आक्रोसित हुने परेको हो ।
भिडभाड हुँदा कोरोना संक्रमण हुने भन्दै निहुँ बनाएर आफु मालामाल बन्न कर्मचारीहले आफु अनुकुलको नियम बनाएका छन । उनीहरुले टोकन प्रणाली लागु गरेका छन् । कर तिर्न आउने सवै सेवाग्राहीलाई लाइन लगाएर फटाफट कर लिनुपर्नेमा त्यसो गरिएको छैन । बिहानदेखि लाइनमा बस्नेहरुलाई मात्र अफिस खुलेपछि टोकन दिने गरिन्छ ।
दैनिक रुपमा टोकन प्रणालीमार्फत २ सय ५० जनाको र बिचौलियामार्फत त्यति नै संख्यामा कर लिने गरिएको छ । प्रति सवारी साधन तीनसयका दरले बिचौलियाहरुले सवारीधनीसँग अतिरिक्त रकम लिने गरेका छन् । आधा रकम बिचौलिया र आधा रकम कर्मचारीले हात पार्ने गरेको बताइएको छ । कर्मचारीले कार्यालय खुल्नै बित्तिकै बिहान १० बजे नै यो संख्यामा टोकन बाँडने र गेट लगाउने गरेका छन् । बाँडेको टोकन अनुसार मात्र सेवाग्राहीलाई पालोपालो भित्र बोलाएर कर लिने र बाँकी सेवाग्राहीलाई त्यसै फर्काउने गरिएको छ ।
कर तिर्न नपाएर घर फर्कन लागेका तिनै सेवाग्राहीबाट सेवा कार्यालय वरपर रहेका इन्सोरेन्स कम्पनीका कर्मचारीले अहिले फाइदा उठाइरहेका छन् । उनीहरुले अतिरिक्त शुल्क लिएर बिना लाइन र झण्झट कर तिरीदिने भन्दै पैसा असुल्ने गरेको पाइएको छ । उनीहरुसँगै मिलेर कर्मचारीहरुले फाइदा उठाउँदै मालामाल बन्दै आएका छन् ।
एक सेवाग्राही भन्छन् – सीमित व्यक्तिलाई टोकन दिने र बाँकी सेवाग्राहीहरुको दलाल मार्फत नविकरण र सवारी कर लिने गरेका छन् । सेवाग्राहीसँग सिधै काम गर्दा कुनै शुभलाभ नहुने भएपछि कर्मचारीले कोटा प्रणाली लागु गरेका हुन । सेवाग्राहीलाई फिर्ता पठाउने र बिचौलियामार्फत काम गराउँदा थप आम्दानी गर्नका लागि कर्मचारीले हिजोआज यस्तो फर्मुला प्रयोग गर्ने गरेका हुन । यसो गर्दा शुभलाभ पनि हुने र सेवाग्राहीसँग फेसटुफेस गर्नु नपरेपनि शुभलाभ भइरहने ।
कार्यालय परिसर वरपर दुईवटा बीमा कम्पनीका एजेन्टहरुले थर्डपार्टी बीमा गर्ने कार्यालय स्थापना गरेका छन् । यिनै कार्यालयका कर्मचारीहरु अहिले सरकारी कार्यालयका कर्मचारीको मध्यस्थकर्ता र बिचौलिया बनेर काम गरिरहेका छन् । उनीहरु बिहान बेलुकी सवारी धनीको बिलब्लुक संकलन गर्छन र ३ बजेपछि दक्षिणासहित कर्मचारीलाई काम लगाउँछन् । यो काम सेवा कार्यालय परिसरमा खुल्लारुपमा भइरहेको छ । तर सरोकारवाला निकायहरुले पुरै आँखा चिम्लेर बिचौलिया र भ्रष्ट कर्मचारीलाई संरक्षण गरिरहेको पाइएको छ ।
गएको आइतवार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा बोल्दै सार्वजनिक निकायका कर्मचारीले १ रुपैंया घुस लिएको पाइएपनि कारवारी गर्ने बताएका थिए । तर अख्तियारलाई नै चुनौती दिनेगरी दिनहुँ सेवा कार्यालयहरुमा खुल्लारुपमा यस्ता गतिबिधिहरु भइरहेका छन् । कर तिर्न गएका सर्वसाधारण नागरिकले अतिरिक्त शुल्क (घुस) खुवानुपर्ने बाध्यता छ । यसतर्फ यातायात व्यवस्था विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यान खोइ गएको । सरकारले अगाडि ‘सबृद्ध नेपाल, सुखि नेपाली’को नारालाई कागजमा नै सिमित पारिदिएर धज्जी उडाइरहेका छन ।