अध्यक्षद्धयलाई सर्वाधिकार बनाईंदा नेकपा रसातलमा
दुई तिहाई जनमतको अपमान गर्दै नेकपा
काठमाडौं । नेकपाका दुई अध्यक्षलाई सम्पुर्ण अधिकार दिइएकोले पनि अहिले नेकपाको उचाई रसातलमा पुगेको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भई नेकपा गठन हुँदा पार्टीमा अरु नेताहरु पनि छन् भन्ने कुराको ख्याल नगरिदाको परिणाम अहिले पार्टीले भोग्नु परेको छ । मूलतः नेकपा एमाले माओबादीसँग पार्टी एकीकरण गर्नु अगावै अर्थात एमाले छँदै सो पार्टीबाट माधव कुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली क्रमश पार्टी महासचिव, अध्यक्ष हुँदै प्रधानमन्त्री भइसकेका थिए ।
पार्टी एकीकरण गर्दा तत्कालीन र अहिले पनि नेकपाका अध्यक्ष रहेका नेताद्धय ओली र पुष्पकमल दाहाल प्रचण्डले यो बिषयलाई पुरै बेवास्ता गरे । आफुहरु मात्र पार्टीको सर्वेसर्वा भएर अगाडि बढ्न खोजेको र अरु मुख्य नेतालाई वाइपास गरेर पार्टी एकीकरण गरेको परिणाम अहिले भोगिरहेका छन् । नेकपा भित्र अहिले चलिरहेको बिवाद बिधि, बिधान र पद्धतिको भन्दा पनि पदको लडाईं नै मुख्य हो । यो कुरा नेताहरुको बोली र व्यवहारले पनि पुष्टि गर्दै गइरहेका छन् ।
बिगतमा भएको चुनावमा मतदाताले झण्डै दुईतिहाइ मत नेकपालाई दिएका थिए । जनताको यत्रो मत पाएको दल नेकपा भित्र अहिले कुर्सीको लागि चलिरहेको आन्तरिक कलहका कारण दुनियाँ हाँसिरहेको छ । नेकपालाई मत दिनेहरु आम मतदाताहरु आफैंलाई धिक्कारी रहेका छन् ।
पार्टीभित्रको आन्तरिक झगडा मिलाउन नेकपाका नेताहरु असफल भएपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको दौडधुप र सक्रियतासँगै नेकपाको हालत कुन स्तरमा पुगेको रहेछ भन्ने कुराको पुष्टि गरिदिएको छ । नेकपालाई पाँच वर्षको लागि मुलुक चलाउन दिएको जनमतको अहिले अपमान भइरहेको छ । मुख्यगरी प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबाट नै त्यस्तो काम भइरहेको छ । बलियो र एउटै कम्युनिष्ट पार्टी र त्यसले पाँचवर्षसम्म मुलुकमा शासन गरेको र मुलुकलाई परिवर्तन भएको हेर्ने अभिलाषा आम नेपाली जनताको छ र थियो । तर त्यसलाई पुरा हुन नदिनको लागि अहिले हरेक किसिमका फोहोरी खेल चलिरहेका छन् । यो खल खेल्ने काम अरु कतैबाट नभएर नेकपा भित्रबाट नै भइरहेको छ । यसवाट निर्वाचनमा बिनाशर्त नेकपालाई समर्थन गर्दै भोट दिएका जनता दिक्क छन् । उनीहरुले आफुमाथि नेताहरुले लात हान्ने काम गरेको महसुस गरिरहेका छन् ।
दुई नेताले महाधिबेशन नभएसम्मका लागि आफुहरु नै सर्वेसर्वा हुनेगरी आर्फैमा अधिकार केन्द्रित गर्दा यस्तो परिस्थिति आएको बिश्लेषण हुन थालेको छ । त्यसको लागि उनीहरुले आफु अनुकूलको नौ सदस्य सचिवालय गठन गरेर आफु अनुकूलका नेताहरुलाई काखी च्याप्दा परिणाम उल्टो आएको छ । पार्टी एकीकरणको बाँकी कार्यभार निर्धारित समयमा टुङ्ग्याउने भने पनि त्यो बातावरण बन्न सकिरहेको छैन । सचिवालयका नेताहरु कसको पक्षमा बहुमत पु¥याउने भन्ने कसरतमा छन् । असार १० गते देखि जारी स्थायी समितिको बैठक पङ्गु बन्दै गइरहेको छ । बस्दै स्थगित हुँदै आएको बैठकले कुनै निकास निकाल्न नसकेपछि केन्द्रिय समितिको बैठक बोलाउन माग गरिएको छ । नेकपाको ४ सय ४४ केन्द्रिय समिति मध्ये १ सय ५० जनाले बैठक बोलाउन लिखितरुपमा माग गरेका छन् ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली बिवाद समाधानतिर भन्दा पनि अर्को समूहलाई पेलेरै जाने मनस्थितिबाट अगाडि बढिरहेका छन् । प्रचण्डको समूह यही मौका हो भन्दै बहुमतको दम्भ देखाएर प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीलाई हटाएर कुर्सी हात पार्ने ध्याउन्नमा सक्रिय भएर लागेको छ ।