नेपाल–चीन सम्वन्ध थप सुदृढ हुने विश्वास
काठमाडौं । नेपाल–चीनबीच १ अगष्ट १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुई देशबीच सम्वन्धको ६५ औं वर्षगाँठको अवसरमा हिजो दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रहरुबीच शुभकामना आदानप्रदान गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी, चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई ज्ञापन गर्नु भएको छ ।
सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नु भएको छ ।
राष्ट्रपति सीले गत अक्टोबरमा गरेको नेपालको ऐतिहासिक राजकीय भ्रमण तथा त्यस अवसरमा दुवै देशले आपसी सम्बन्धलाई अझ उन्नत तुल्याउन विकास र समृद्धिका लागि चिरस्थायी मैत्रीयुक्त सहयोगको रणनीतिक साझेदारीको निर्णय गरेका स्मरण राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा गर्नु भएको छ ।
सन्देशमा राष्ट्रपति भण्डारीले गत अप्रिलमा आफूले गरेको चीनको राजकीय भ्रमण र त्यस बखत दुवै देशबीच भएका महत्वपूर्ण सम्झौता र समझदारीको पनि सम्झना गर्नु भएको छ ।
चीनले हासिल गरेको विकास र समृद्धिको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले चीनको दुई शताब्दीको विकास लक्ष्य प्राप्तिमा सफलताको शुभकामना पनि व्यक्त गर्नु भएको छ ।
नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनबाट प्राप्त सहयोग र कोभिड–१९ महामारीविरुद्ध अत्यावश्क औषधि र उपकरणका साथै ज्ञान र अनुभव बाँडेकामा राष्ट्रपति भण्डारीले सह्राना गर्नु भएको छ ।
त्यस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिएको बताउनु भएको छ । राष्ट्रपति सीले चीन–नेपाल सम्बन्धको ६५ औं वर्षगाँठको अवसरमा समकक्षी विद्यादेवी भण्डारीलाई पठाएको बधाई सन्देशमा द्विपक्षीय सम्बन्धलाई निरन्तर प्रगति पथमा अगाडि बढाउन उहाँसँग काम गर्न इच्छुक रहेको बताउनु भएको छ ।
चिनियाँ राष्ट्रपति सीले दुवै देशका नागरिकहरुले अधिक लाभ लिन सकुन् र क्षेत्रीय स्थिरता तथा विकासमा सकारात्मक योगदान दिन सकियोस् भन्ने उद्देश्यले नेपालसँग मिलेर अघि बढ्ने इच्छा व्यक्त गर्नु भएको छ ।