कोरोना संक्रमित बढेसँगै लकडाउनको सम्भावना बढ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा २ सय ४६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । मुलुकभरका प्रयोगशालामा ८ हजार १ सय ३१ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या २० हजार तीन सय ३२ पुगेको छ । मृत्यु हुने संक्रमितको संख्या ५७ रहेको छ ।
मुलुकमा कोरोना संक्रमण महामारी जारी रहेकै समयमा फेरी लकडाउनको त्रास बढेको छ । झण्डै चार महिना लामो लकडाउन खुलेपछि नेपाली जनताले राहातको महसुस गर्न पाएका थिए । असार २६ पछि केही खुकुलो बनाइएको बन्दाबन्दीलाई साउन ६ गते रातिबाट पुरै खुल्ला गरिएको थियो । लकडाउन खुल्ला भएसँगै संक्रमणको जोखिम पनि त्यतिकै बढिरहेको छ ।
मुलुकमा गएको असार १४ गते एकैदिन ७ सय ४० जनामा सर्वाधिक कोरोना भाइरस संक्रमणका बिरामी फेला परेका थिए । त्यसपछि त्यसको ग्राफ बिस्तारै तल झर्दै साउनको पहिलो सातामा दुई अंकमा आइपुगेको थियो । तर साउनको दोश्रो हप्तादेखि निरन्तर संक्रमित बढिरहेका छन । काठमाडौं बाहिर सप्तरीको राजबिराज, पर्साको बिरगंजमा संक्रमित हवात्तै बढेपछि लकडाउन गरिएको छ । शनिवारदेखि मोरङको बिराटनगर महानगरपालिकाले पनि लकडाउन गर्न लागिएको छ ।
यता काठमाडौं उपत्यकामा अहिले दैनिक संक्रमितको संख्या बढिरहेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ । शुक्रबार एकैदिन काठमाडौं उपत्यका ३८ र शनिवार ६ जनामा संक्रमण भेटिएको छ । शुक्रवार काठमाडौंमा ३३, ललितपरमा ५ र भक्तपुरमा १ जना संक्रमित भेटिएका थिए भने शनिवार ६ जना मात्र संक्रमित भेटिएका छन । यसरी संक्रमित बढनुमा भारतबाट नेपालमा रोजगारीका लागि आउनेहरु नै बढी पाइएको तथ्याङहरुले पुष्टि गरेको छ ।
केही दिन अगाडि भारतबाट काठमाडौं हँुदै ओखलढुङगामा पुगेका २५ जनाको स्वाव परीक्षण गर्दा १८ जनामा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन । अहिले सुक्षाकर्मी र स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण भएको घटना निरन्तर बाहिर आइरहेका छन । स्याङजा र काठमाडौंमा ठुलो संख्यामा सुरक्षाकर्मीमा संक्रमण भएको पुष्टि भइसकेको छ ।
साउनको पहिलो हप्तासम्म सुरक्षित मानिएको काठमाडौं उपत्यकामा अहिले दिनदिनै संक्रमितको संख्या बढनुले पनि संक्रमण समुदायस्तरमा प्रवेश गरेको होकी भन्ने आंशका बढाएको छ । तर सरकारले यो कुरालाई स्वीकार गरेको छैन ।