चारवटा प्रदेशमा भारी वर्षाको सम्भावनाः सर्तक रहन अनुरोध

काठमाण्डौ । मनसुनी न्युन चापीय रेखा अहिले नेपालभन्दा दक्षिण तर्फ अवस्थित छ । देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षा समेत हुनसक्ने महाशाखाले जनाएको छ । उक्त स्थानहरुमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा सूचित गरिएको छ ।

बुधबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

बिहीबार देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश , गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

शुक्रबार देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।