गुल्मीमा होल्डिङ सेन्टर स्थापना गरिने

गुल्मीमा होल्डिङ सेन्टर स्थापना गरिने
मनु सुनार
गुल्मी साउन २१ ।

गुल्मीमा होल्डिङ सेन्टर स्थापना गरिने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ लाई मध्यनजर गर्दै जिल्लाका तीन स्थानीयतहरुमा होल्डिङ सेन्टर स्थापना गरिने भएको हो ।

मंगलबार (आज) बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले रेसुङ्गा नगरपालिका, रुरुक्षेत्र गाउँपालिका र मदाने गाउँपालिकामा होल्डिङ सेन्टर स्थापना गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत उद्वव पन्थीले जानकारी दिनुभयो ।
विदेशबाट आएकाहरुलाई होल्डिङ सेन्टरमा राखी उनीहरुको पिसिआर जाँच गरिने निर्णय भएको पन्थीले जानकारी दिनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिले यसअघि नै जिल्लामा कोभिड–१९ परिक्षण प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।
यसको व्यवस्थापनको जिम्मा रेसुङ्गा नगरपालिकालाई दिईएको छ । प्रयोगशालालाई छिटो सञ्चालन गर्नका लागि जिल्लामा रहेका नगरपालिकाले १५र १५ लाख तथा प्रत्येक गाउँपालिकाहरुबाट १०र१० लाख संकलन गर्ने निर्णय समेत यस अघि नै भइसकेको छ ।
सोही सन्र्दभमा नगरपालिका तथा गाउँपालिकाले निर्णयभएअनुसारको ५० प्रतिशत रकम तत्काल नै रेसुङ्गा नगरपालिकालाई उपलब्ध गराउने आजको बैठकले निर्णय गरेको पन्थीले जानकारी दिनुभएको छ । निरन्तरको अबिरल वर्षाले जिल्लाका विभिन्न गाउँपालिकाहरुमा पु¥याएको क्षतिको विवरण सम्बन्धित स्थानीयतहले संकलन गर्ने, पुर्नस्थापना तथा राहतको कार्यलाई अगाडि बढाउने समेत बताईएको छ ।
पीडितहरुको राहत र सहयोग जुटाउन स्थानीय सरकारहरुले अनुगमन पहिचान र बितरण कार्य साथै जनता आवास कार्यक्रम लाई छिटो अगाडि बढाउने, लगायतका बिषयमा छलफल तथा निर्णय भएको हो । हिन्दु धर्मालम्बीहरुको आउँदै गरेका महानपर्वहरु जन्माष्टमी, तीज पर्वलाई घरमै बसेर मनाउने, सार्वजनिक कार्यक्रम नगर्ने निर्णय भएको समेत पन्थीले जानकारी दिनुभयो ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको अध्यक्षता रहेको बैठकमा जिल्ला समन्व्य समितिका प्रमुख लक्ष्मण पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो । जिल्लाका नगरपालिका मेयर तथा गाउँपालिकाका अध्यक्षहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न संघसंस्थका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।