सटडाउनसँगै लकडाउनको त्रास
सम्पादकीय
काठमाडौं उपत्यकालगायत बिभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कोरोना महामारीको संक्रमण तिब्ररुपमा फैलिएको भन्दै नियन्त्रण र रोकथामको लागि सटडाउन घोषणा गरेका छन् । शुक्रबार संघीय राजधानी काठमाडौं उपत्यका अन्तर्गत काठमाडौं, भक्तपुर र ललितपुर गरी तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जोखिम बढेको भन्दै आइतवार देखि लागु हुने गरी कार्यालयबाट दिईदै आएको सार्वजनिक सेवा कटौती गरेको घोषणा गरेका छन् । राजधानी उपत्यका अन्तर्गतका तीनै जिल्लाको शान्ति सुरक्षाबाहेक अन्य सम्पुर्ण सार्वजनिक सेवा आगामी भदौ ८ गतेसम्म कटौति गरिएको छ । बझाङ, धनुषा, झापा, नुवाकोट, सिरहा, दार्चुला, महोत्तरी, जुम्ला, मोरङ र कञ्चनपुर जिल्लाका केही नगर र वडाहरुमा आशिंकरुपमा सार्वजनिक सेवा स्थगित गरिएका छन् ।
मुलुकका ८ जिल्लामा पुर्ण र १३ जिल्लामा आंशिक निषेधाज्ञा जारी भइसकेको छ । सप्तरी, सुनसरी, सर्लाही, बारा, पर्सा, स्याङ्जा, बाँके र बर्दियालगायत एकदर्जन जिल्लाहरुमा निषेधाज्ञा जारी भइसकेको छ । यसैगरी सरकारले लकडाउनको लागि आवश्यक पूर्वतयारी स्वरुप अहिले बिभिन्न जिल्लाहरुमा सटडाउन गर्ने काम गरिरहेको अनुमान लगाउन थालिएको छ । बिश्वभर फैलिरहेको कोरोना महामारीको कहरबाट नेपाल पनि अछुतो छैन । महामारीको जोखिम कम गर्न र रोग फैलन नदिन भन्दै सरकारले हतार हतारमा अघिल्लो बर्षको चैत्र ११ बाट पुरै मुलुकमा लकडाउन गरेको थियो । त्यतिबेला मुलुकमा जम्मा दुईजना संक्रमित भेटिएका थिए । यसबिचमा संक्रमितको संख्या शुक्रबारसम्म २२ हजार २ सय १४ पुगेको छ । यसमध्ये १५ हजार ८ सय १४ जना निको भएर घर फर्किसकेका छन् । अहिलेसम्म मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।
झण्डै चार महिना लगाइएको लकडाउनले पुरै मुलकको जनजीवन प्रभाबित भयो । यसपछि त आर्थिक गतिबिधिहरु ठप्प भए । मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा जान सकेनन् । अनि त रोगले भन्दा पनि भोकले मर्नुपर्ने स्थिति सिर्जना भएपछि नागरिकस्तरबाट लकडाउन खुकुलो पार्न सरकारलाई दवाव दिन थालियो । सरकारले जनताको मागलाई सम्वोधन गर्दै असार २६ गतेदेखि लकडाउनलाई केही खुकुलो बनायो । लकडाउन खुकुलो भएसँगै जनजीवन केही सहज भयो । तर सँगसँगै जोखिम बढ्न सक्ने कुरालाई सरकारले वास्ता नगरी साउन ७ गतेबाट लकडाउन पुरै हटाएर जिल्लाभर खुल्ला गरिएपछि जोखिम त्यत्तिकै बढदै गएको छ । एक जिल्लाबाट अर्काे जिल्ला र बाहिरी जिल्लाबाट काठमार्डौ उपत्यका भित्रनेहरुको चापका कारण अहिले पुनः महामारीको जोखिम बढेर जनजीवन फेरि त्रासमय भएको छ ।
सर्वसाधारण नागरिक जोखिम मोलेरै भएपनि काममा निस्किएका छन् । उनीहरुले स्वास्थ्य सावधानी अपनाएको पनि देखिदैन । यसैगरी सार्वजनिक यातायात संचालनमा आएपछि पनि जोखिम बढेको अनुमान लगाउन सकिन्छ । सवारी साधनमा यात्रा गर्नेहरुले कुनै पनि किसिमको स्वास्थ्य सावधानी अपनाइएको पाइदैन । उनीहरु मास्क, सेनिटाइजर बिना पनि यात्रा गरिरहेको देखिन्छ । यसले पनि जोखिम बढाउन मद्दत गरिरहेको छ । बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका प्रबेशमा गरिएको हेलचेक्राईले पनि उपत्यकामा संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको हो । अव सरकारले बिनाहिच्किचाहट कडाईका साथ स्वास्थ्य मापदण्ड उल्लंघन गर्नेहरुलाई कारवाही गर्दै अगाडि नबढ्ने हो भने मुलुकले कुनै पनि हालतमा महामारी न्युनिकरण गर्न सक्ने अवस्था रहदैन ।