पत्रकार बलराम बानियाँको शव भेटियो
काठमाडौं । सोमबारदेखि हराइरहेका पत्रकार बलराम बानियाँको शव भेटिएको छ ।
उनको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा भेटिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।
बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएका थिए ।
बानियाँको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेऊबाट स्वीच अफ भएको थियो ।अपराध महाशाखाले उनको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा उनको खोजी थालेको थियो ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोलामा हराएको हुनसक्ने आशंकामा उनको खोजी थालेको थियो । खोला किनारमा भेटिएको जुत्ता बानियाँकी छोरीले बुबाकै भएको पुष्टि गरेकी थिइन् ।
परिवारका सदस्यलाई फोटो देखाएर शवको सनाखत गरिएको अपराध अनुसन्धान महाशाखाले बताएको छ । बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक हुन् ।