प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाउने ओली पक्षको प्रस्ताव
काठमाडौं । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज ९ दिनपछि भेटवार्ता भएको छ । प्रधानमन्त्री निवासमा चार घण्टा लामो वार्ता विवाद समाधानका लागि सकारात्मक भएको बताइएको छ ।
दुई अध्यक्षबीचको छलफलमा महासचिव बिष्णु पौडेल, नेताहरु शंकर पोखरेल र जनार्दन शर्मा पनि सहभागी भएको बताइएको छ । तर, पौडेलले भने दुई अध्यक्षबीच एक्लाएक्लै छलफल भएको बताए । वालुवाटार स्रोतका अनुसार एक्लाएक्लै र सामुहिक छलफल भएको बुझिएको छ ।
असार १० बाट शुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग दाहाल र माधव नेपाल समूहाले राखेपछि विवाद चर्किएको थियो ।
विवाद मिलाउन दुवै अध्यक्ष पक्षका नेताहरुले दौडधूप गरिरहेका छन् । यसबीचमा ओली र प्रचण्डबीच झलनाथ खनाल तथा सुवास नेम्वाङलाई समेत राखेर छलफल भएको थियो । सहमतिका विभिन्न विकल्पहरु आए पनि दुई अध्यक्षले केही दिनभित्रै सबैलाई मान्य हुने गरी निकास निकाल्ने संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन् ।
बुधबार एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पनि प्रधानमन्त्री ओलीले पाँच दिनभित्र पार्टी भित्रको विवाद समाधान हुने दावी गरेका थिए ।
वालुवाटार स्रोतका अनुसार अहिलेको विवाद समाधान गर्न महाधिवेशन आयोजक समिति गठन गर्ने नयाँ प्रस्ताव ओली पक्षले अगाडि सारेको बुझिएको छ । हालको केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको तर्फबाट अर्का अध्यक्ष प्रचण्डसमक्ष राखिएको बुझिएको छ ।
बुधबार प्रचण्डलाई भेटेका महासचिव पौडेल र स्थायी कमिटी सदस्य पोखरेलले सो प्रस्ताव राखेका थिए । तर आज दुई अध्यक्षबीच सो बारे कुरा भएन नभएको खुलाइएको छैन । तर आजको वार्ता सकारात्मक भएको बुझिउको दुवै पक्षका नेताहरुले बताएका छन ।
हालको केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने त्यसको संयोजक दाहाललाई दिने । तर सो समितिले चैतमा महाधिवेशन गर्ने प्रयोजनबाहेक अरु कुनै निर्णय गर्न नपाउने प्रस्ताव गरिएको बताइएको छ ।
केपी ओलीले आफू पूरै कार्यकाल प्रधानमन्त्री हुने र महाधिवेशन आयोजक समितिले महाधिवेशन तयारीबाहेक अन्य कुनै निर्णय गर्न नपाउने वैधानिक व्यवस्था गरेपछि आफू पार्टीभित्रको बहुमतीय समीकरणबाट जोगिने उपायका रुपमा आयोजक समितिलाई लिएका हुन सक्ने रानीतिक विश्लेषकहरु बताउँछन् ।
‘नेकपाको विधानमा महाधिवेशन आयोजक समिति गठन गर्ने प्रावधान छैन । त्यसका लागि दुई अध्यक्षबीच समझदारी भएर पार्टीका कमिटीमा छलफल गराई केन्द्रीय कमिटीमा लगेर विधान संशोधन गर्नुपर्ने हुन्छ ।’ एक नेताले भने ।
दुई अध्यक्षबीच हुने समझदारीमा अन्य बरिष्ठ नेताहरु पनि सहमत हुने गरी विकल्पमा छलफल भइरहेको र निष्कर्षमा नपुगेसम्म कुनै कुरा बाहिर नलाने सहमति भएको पनि बालुवाटार स्रोतले जनाएको छ ।
त्यस्तै बरिष्ठ नेताहरुको समझदारीमा मन्त्रिपरिषद पुनर्गठन, कतिपय प्रदेश सरकारको नेतृत्व हेरफेर र सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र गठन जस्ता विषय पनि छलफलमा भइरहेको बुझिएको छ ।