सिन्धुपाल्चोक पहिरो अपडेट : ११ को शव भेटियो, २७ जना अझै वेपत्ता
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिरामा परी वेपत्ता भएका ३८ जना मध्ये ११ जनाको शव भेटिएको छ भने २७ अझै वेपत्ता छन् । पानी परेका कारण उद्दारमा समस्या परेको प्रहरीले जनाएको छ ।
शव भेटिएकाहरुमा चार पुरुष, दुई महिला र पाँच बालक छन् ।
मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
बेपत्ता २७ जनाको खोजी जारी राखेको प्रहरीले जनाएको छ । पहिराले ३५ घर पुरेको थियो । घाइतेमध्ये रुपबहादुर दोङ, जानुमाया दोङ, पासाङ दोङ र केवरिङ तामाङसमेत चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी चौतारा अस्पतालमा उपचार गराइएको छ । गम्भीर घाइते यामुल्हामु दोङको मनाङ एयरको हेलिकोप्टरमार्फत उद्धार गरी नयाँ बानेश्वरस्थित नेपाल निजामती अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच गृहमन्त्री रामबहादुर थापा आज अपराह्न राहत सामग्रीसहित घटनास्थल पुगी घटनाका बारेमा जानकारी लिएका छन् । राहत सामग्रीमा त्रिपाल, म्याट, लत्ताकपडा तथा खाद्य सामग्री रहेको प्रहरीले जनाएको छ ।
त्यसअघि प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल पुगी घटनाका बारेमा जानकारी लिएर फर्किएका थ्एि ।