स्थानीय तहका विकासका आयोजना स्थानीय तहलाई नै दिनुपर्छ
– खजिन्द्र राई, प्रमुख, चौविशे गाउँपालिका, धनकुटा
देश संघीयतामा गईसकेपछि नयाँ शैलीमा काम गर्ने अवधारणा बनेको छ । हामी स्थानीय सरकारको पहिलो ध्येय त समृद्धि नै हो । विकासको पहिलो खुड्किलो चेतना हो भन्ने लाग्छ । प्राय अहिलेको स्थानीय सरकारको विकास बजेट भन्दापनि साधारण बजेटको अंश ठूलो छ । साधारण खर्चमै बजेट बढि जान्छ । राजनीतिक प्रणालीको आवश्यक विकास नभएकोले राजनीतिक जिम्मेवारी कम भएको हो जस्तो लाग्छ । केन्द्रले स्थानीय तहलाई नै अधिकार र स्रोत सम्पन्न बनाउनु पर्छ । यसले सवृद्धता प्रदान गर्दछ । चौविशे गाउँपालिकाको समग्र वस्तुस्थितिको बारेमा पालिका प्रमुख खजिन्द्र राईसँग रेसुङ्गा टुडे साप्ताहिककर्मी केशव आचार्यले गरेको कुराकानी ।
आज आम गाउँवासीको सेवामा हुनुहुन्छ । यो सेवा गर्ने अवसर त आम गाउँवासीले नै दिनुभएको हो । यो अवसर पाईरहँदा यहाँलाई कस्तो महशुस भै रहेको छ ?
निर्वाचित भैसकेपछि संघीयताको अभ्यासमा नयाँ शैलीका साथ लागेका छौ । गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउन पहिलो चरण चेतना, शिक्षा र स्वास्थ्य नै हो । त्यस पछिमात्र भौतिक पूर्वाधार हो । तर आजको बुझाई भौतिक पूर्वाधारको निर्माणलाई विकास मान्ने चलन छ । यति हुँदाहुँदै पालिकाको काममा निरन्तर खटिरहेका छौ । आवश्यक्ताको प्राथामिकिकरण गरि आवश्यक्ता परिपूर्ति गरिरहेका छौ । आम नागरिकलाई प्रत्यक्ष सेवा प्रदान गरिरहेका छौ । यसमा खुशिकै अनुभूति भैरहेको छ ।
चौविशे गाउँपालिका राजारानी यस गाउँपालिकाको नाम रहेको छ । प्राचीन बाईसे चौविशे राज्यबाट प्रेरित नाम हो ?
हो । त्यसको साथै २४ वटा थुम्को रहेकोले पनि चौविशे गाउँपालिका नामाकरण गरेको हो । लिम्बु भाषामा मारोक र पारोक यसै गाउँपालिकामा अवस्थित छ त्यसलाई नेपाली भाषामा राजारानी भनिएको हो ।
यस गाउँपालिकाको भौगोलिक संरचना कस्तो रहेको छ ?
प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लामा यो गाउँपालिका अवस्थित छ । यसको पूर्वमा पाँचथर, पश्चिममा सागुरेगढी उत्तरमा तमोर नदी र दक्षिणमा मोरङ्गको केरावारी गाउँपालिका रहेको छ । यो पहाडी ईलाका भएकोले केही भिरालो जमिन छ । याहा ४५ सय घरधुरी रहेका छन । साविकका ७ वटा गा.वि.स मिलाएर ८ वटा वडामा विस्तार गरिएको छ । यहाँ मुख्यतः लिम्वु, मगर, राई र देवान जातीको बसोवास रहेको छ । यस गाउँपालिकाले देशको कुल क्षेत्रफल मध्ये १४७.६० वर्ग कि.मि क्षेत्रफल ओगटेको छ ।
यस गाउँपालिकाको शिक्षाको गुणस्तर र स्वास्थ्यको वर्तमान स्थिति कस्तो छ ? बताईदिनुस् ।
विकासको अपरिहार्य तत्व चेतना नै हो । यो शिक्षाको माध्यमबाट प्रेरित हुन्छ तसर्थ शिक्षाको गुणस्तर बढाउन बढि ध्यान दिईरहेका छौ । शिक्षालाई नै पहिलो प्राथमिकता दिने काममा पूर्व प्राथमिक शिक्षाको स्तर देखिनै निरन्तर अनुगमन, आवश्यक सामाग्री र दरवन्दीको व्यवस्थापन गरिरहेका छौ । सरकारको शिक्षामा लगायको त्यति ठूलो लगानीलाई कम ध्यान दिएको जस्तो लाग्छ । अवका दिनमा यो क्षेत्रमा निरन्तर अनुगमन जरुरी छ भन्ने लागेर यस पालिकामा रहेका ४४ वटा सामुदायिक विद्यालयहरुमा ई हाजिरी, सि.सि.क्यामेरा, विज्ञान र होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई छात्रवृतिको व्यवस्था गरेका छौ । वडा नं ६ को एउटा प्पसटु स्कूलमा ईन्जिनियरिङ्ग पढाउने व्यवस्था गरेका छौ । प्रा.वि तहमा नेट मार्फत पढाईरहेका छौ । ३२ वटा भवनहरु निर्माण सम्पन्न भैसकेका छन । यहाँ एउटा क्याम्पस, प्लस टु र स्कूलहरु रहेका छन् । यस गाउँपालिकामा ७ वटा स्वास्थ्य चौकी, ४ वटा सामुदायिक स्वास्थ्य ईकाइ रहेका छन । ११ वटा सुलभ फार्मेसी सञ्चालन गरि कतिपय निःशुल्क र कतिपय बाहिरको भन्दा सस्तो मुल्यमा नागरिकलाई उपलब्ध गराईरहेका छौ ।
आजका दिनसम्म आम गाउँवासीलाई अनुभूति हुनेगरि के के काम गर्नु भयो ?
आज हामीले आम गाउँवासीलाई अनुभूति हुनेगरि निम्न कामहरु गर्यौ । गुणस्तरिय पढाई, छात्रवृति, ई.सि.डि, के.जीमा दरवन्दी व्यवस्थापन, सुलभ फार्मेसी, ल्याव सञ्चालन, कृषि अनुदान, विउविजन, पशुमा अनुदान, पशु विमा, विपन्न र वृद्धलाई निःशुल्क मोतिया विन्दुको उपचार, दाँतको उपचार, पालिकाको भवन निर्माण, पालिकामा एम्बुलेन्सको व्यवस्था, गाउँपालिकाबाट तलवभत्ता खाने सम्पूर्ण कर्मचारीहरुको बालबच्चा सामुदायिक स्कूलमै पढाउनु पर्ने व्यवस्था गरेका छौ । साथै यस गाउँपालिकाको दीर्घकालिन लक्ष्यलाई पछ्याउदै अगाडि बढिरहेका छौ ।
विश्व चर्चित माहामारी कोभिड–१९ बाट आज विश्व नै आक्रान्त छ । यस माहामारीलाई थप फैलन नदिन यस गाउँपालिकाले कस्तो रणनीति अवलम्वन गरिरहेको छ ?
शुरुको समयमा पर्चा, प्रचार प्रसार, माईकिङ्ग, सावधानी गर्ने आदि ग¥यौ । हाम्रा स्वास्थ्य चौकीहरुलाई स्रोतयुक्त राखेका छौ । पि.सि.आर गरिरहेका छौ । १५ दिन सम्म सिलपनि ग¥यौ, संक्रमणलाई रोक्नकै लागि गरेका हौं । विदेशबाट आउनेलाई क्यारेन्टिनमा राखेका छौ, बाहिरबाटै पि.सि.आर लिएर आउनेलाई होम क्यारेन्टिनमा राखेका छौ । हाल यस चोविशे गाउँपालिकामा संक्रमित छैनन् संक्रमण मुक्त छ ।
कोभिड–१९ को कारण गर्नुपरेको बन्दाबन्दीबाट सामान्यतया साधारण परिवार बढि पीडित भएको पाईन्छ । ति त्यस्ता परिवारलाई यस गाउँपालिकाले कस्तो सहयोग पु¥यायो ?
लगभग १४ सय ५० परिवारलाई राहत बाँडियौ । बन्दाबन्दीको समयमा गाउँपालिकावासीलाई आईपरेको समस्यामा हामी प्रतिनिधिहरु खटियौं । उहाँहरुलाई कुनै समस्या परेर खवर गर्नसाथ हामी समस्यास्थलमा पुगियौ ।
यहाँहरुले चुनावताका आम गाउँवासीमा गरेका प्रतिवद्धताहरु त पुरा हुन्छन नी होईन ?
अहिलेसम्म लगभग ६० प्रतिशत पुरा भैसकेका छन् । हाम्रो ५ वर्षको अवधिमा सबै पुरा गर्न बजेटकै कारण कठिनाई हुन्छ । पालिकाको खासै आफ्नो आम्दानी हुदैन, केन्द्रको अनुदान नै हो यसमा पनि बजेटको ठूलो अंश सामान्य खर्चका जान्छ । विकास खर्चको अंश न्यून हुन पुग्दछ । अहिलेको कोभिड–१९ को कारण लगभग १० प्रतिशत काम चाहि पुरा हुन नसक्ने देखिन्छ । हामी निरन्तर प्रयाशमा छौ उच्च गतिमा काम चाहि भैरहेको छ ।
यहाँको गाउँपालिकाको सार्वजनिक काममा हिजो आज जनसहभागिता कत्तिको जुट्ने गरेको छ ?
अहिले छैन । सरकारले नै गनुपर्छ भन्ने विचार आम नागरिकमा पलाएको जस्तो लाग्छ ।
देशमा आज यति धेरै सरकार बनेका छन् । सरकारी सुविधा गाउँ गाउँमा पुगेको छ तर पनि आम नागरिक र सरकारबीचको मतभेद बढिरहेको पाईन्छ । यहाँलाई यो किन भैरहेको जस्तो लाग्छ ?
पहिलो नम्वरमा त प्रणाली ९क्थकतझ० नबसेको कारणले हो । आम नागरिकका अपेक्षा पनि यो संघीयगणतन्त्रमा धेरै हुनु स्वभाविक नै हो यसमा जनप्रतिनिधिहरुले पनि पाँच वर्ष पछि फेरि नागरिकमा नै जानु पर्छ भन्ने सोचलाई शिरोधार्य अलि नगरे कै हो जस्तो लाग्छ । विकासका आवश्यक्ता पहिचान गरि योजना निर्माण गर्दा राम्रो हुन्छ । पक्ष र प्रतिपक्षबीचको प्रतिशोध हुनुले आफ्नाको समर्थन र अर्काको विरोधै गर्नुपर्छ भन्ने शैली मौलायो । संघीयतालाई सफल बनाउन हामी सबै लाग्नु पर्छ यो हाम्रो ठूलो बलिदानीको प्रतिफल हो भन्ने लाग्छ ।
यस गाउँपालिकाको आम्दानीका स्रोतहरु के के हुन् ?
कृषि हो । कर उठ्ने आधारहरु छैनन् ।
अवका दिनमा हाम्रो गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउन केन्द्रिय सरकारले कस्तो कानून बनाईदिए हुन्थ्यो जस्तो लाग्छ ?
केन्द्रिय सरकारले स्थानीय तहका विकास आयोजनाहरुलाई स्थानीय तहमा नै सुम्पने खालको कानून बनाउनु पर्छ जस्तो लाग्छ । कानूनको कार्यन्वयन व्यवस्थापन र दण्डहीनताको निरुपणलाई केन्द्रिय सरकारले ध्यान दिनु पर्छ ।
पाँचवर्षे कार्यकालमा लगभग ३ वर्ष पुरा भैसकेको छ । यस अवधिका चाहेर पनि गर्न सकिन भन्ने लागेको कुनै त्यस्तो काम छ ?
भेडेटार राजारानी सडक खण्ड पुरा गर्न कठिनाई, यो ठूलो आयोजना हामी आउनु भन्दा पहिल्यै शुरु भएको तर बजेटको कारणले पूर्ण नहुने देखिन्छ ।
अन्त्यमा यहाँलाई भन्नै पर्ने भन्ने लागेको केही छ ?
सबै कुरा भनिसकें । अन्तमा तपाई र तपाईको मिडियालाई धेरै धेरै धन्यवाद !