आर्थिक प्रलोभनमा पर्ने प्रहरी निलम्बन
काठमाण्डौ । सिन्धुली जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आर्थिक प्रलोभनमा परी आफूलाई दिइएको जिम्मेवारी इमान्दारीताका साथ निर्वाह नगर्ने २ प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ ।
बा ६ ख ५५६३ नम्बरको सवारी साधनसँग रकम लिएको पुष्टि भएपछि उनीहरुलाई निलम्बन गरिएको बागमती प्रदेश प्रहरीका प्रवक्ता तथा एसएसपी सुदीप गिरीले जानकारी दिए ।
निलम्बन पर्नेमा इलाका प्रहरी कार्यालय धिमान सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार कमल बहादुर खड्का र प्रहरी चौकी ढुंग्रेबास सिन्धुलीमा कार्यरत प्रहरी जवान वीरप्रसाद यादव छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले उनीहरुमाथि छानबिन गर्न प्रहरी नायब उपरीक्षकको संयोजकत्वमा समिति समेत गठन गरिसकेको छ।
सेवाग्राहीसँग आर्थिक प्रलोभनमा परि सेवा प्रभावित बनाउने एक प्रहरी निरीक्षकसहित १३ जना प्रहरी कर्मचारी निलम्बन भइसकेको र ‘ड्युटीमा इमान्दारीता प्रदर्शन गर्ने २५ जना प्रहरी कर्मचारी पुरस्कृत समेत भएको एसएसपी गिरीले बताए ।
प्रहरी सेवालाई मर्यादित बनाउने आफ्नो ड्युटीमा इमान्दारीता प्रदर्शन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने र गैह्र व्यवसायीक कार्यमा संलगनलाई कारबाही गर्ने कार्यलाई बागमती प्रदेश प्रहरीले विशेष अभियान सञ्चालन गर्दै आइरहेको छ ।