मोती जयन्तीमा पुस्तक विमोचन तथा पुरस्कार प्रदान

गुल्मी । १५५औँ मोती जयन्तीको अवसरमा बुधबार गुल्मीमा विविध कार्यक्रम गरी मनाइएको छ । किरण पुस्तकालय तम्घास गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को जोखिमलाई ध्यान दिँदै भौतिक दूरी कायम गदै विविध कार्यक्रमका मनाइएको हो । त्यस अवसरमा साहित्यकारहरु लक्ष्मण प्रसाद रिजाल, रामप्रसाद पन्थी, नमोनारायण पन्थीले कविता वाचन गर्नुभएको थियो ।

त्यस अवसरमा वरिष्ठ साहित्यकार तथा किरण पुस्तकालयका सचिव दीन पन्थी एवं कार्यक्रमका प्रमुख अतिथि मदाने गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले मोती जयन्ती तथा कार्यक्रमको सान्र्दभिकताका विषयमा प्रकाश पार्नुभएको थियो ।

गजल चालिसा पुस्तक विमोचन

मोती जयन्तीको अवसर पारेर साहित्यकार मन बहादुर खत्री मनुद्वारा लिखित तथा किरण पुस्तकालयद्वारा प्रकाशित ‘गजल चालिसा’ गजल सङ्ग्रहको विमोचन गरिएको थियो । किरण पुस्तकालयका सचिव तथा वरिष्ठ साहित्यकार दीन पन्थी एवं कार्यक्रमका प्रमुख अतिथि मदाने गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले पुस्तकको विमोचन गर्नुभएको थियो ।

साहित्यकार एवं समीक्षक राम प्रसाद पन्थीले पुस्तकका बिषयमा समीक्षा गर्नुभएको थियो । उहाँले नेपाली कविता परम्परामा सिङ्गो माध्यमिक कालको नेतृत्व र विकासमा महत्वपुर्ण योगदान पु¥र्याएका युवा कवि मोतीराम भट्टद्वारा नेपाली साहित्य जगत्मा भित्र्याईएको गजल विधाको विकास र श्रीवृद्धिमा गुल्मेली गजलकार मन बहादुर खत्री मनुले एउटा इट्टा थप्ने काम गरेको बताउनुभयो ।

गजल चालिसाले समसायिक जीवन र जगतका उतारचढावहरु प्रस्तुत गरेको उल्लेख गर्नुभयो । यसभित्र श्रृङ्गारिक धाराका संयोग श्रृङ्गार र वियोग श्रृङ्गारका अनुपम उदाहरणहरु प्रस्तुत भएको बताउनुभयो ।

वासनात्मक प्रेमलाई तुच्छ ठान्दै आत्मिक प्रेमको महानता माथि जोड दिइएको छ । गजलकारका आफ्नै निजी अनुभूति, जीवनका उकाली ओराली, बाल्यकालका रमाइला पलहरु लगायत वर्तमानमा भोग्नु परेका विविध उहापोहहरु प्रस्तुत भएका छन् ।

साथै गजल संङग्रहमा वर्तमान विश्वले भोगेको कोरोना कहरको महामारी, प्राकृतिक प्रकोप, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जगतका विभिन्न घटनाक्रमहरु, राजनैतिक जगतमा देखिएका विकृति र विषङ्गतिहरु जीवन्त रुपमा प्रस्तुत भएका छन् ।

देशभक्ति ,राष्ट्रभक्ति धर्म संस्कृति र परम्परालाई मुलभूत रुपमा उठान गरिएको छ । यस सङग्रहले केवल नरनारीका प्रेम र आर्कषणमा मात्र सीमित नरही सिङ्गो मानव जगतका विविध पक्षहरु समेट्दै राष्ट्रियताका उदात्त भावनाहरु प्रस्तुत गरेको पन्थीले बताउनुभयो ।

जानकी साहित्य पुरस्कार वरिष्ठ साहित्यकार पन्तलाई प्रदान

यस वर्षको जानकी साहित्य पुरस्कार गुल्मीको रुरु गाउँपालिकाका वरिष्ठ साहित्यकार रामप्रसाद पन्तलाई प्रदान गरिएको छ । किरण पुस्ताकालय तम्घास गुल्मीले मोती जयन्तीको अवसर पारेर आज पन्तलाई सो पुरस्कार प्रदान गरेको हो ।

साहित्य सिर्जना, दायित्व वाङ्मयको स्थापना र विकास एवं दायित्व मासिक साहित्यक पत्रिकाको सम्पादन र प्रकाशन गरी नेपाली भाषा, साहित्यको श्रीवृद्धिमा पु¥र्याएको योगदान स्वरुप पन्तलाई जानकी साहित्य पुरस्कार –२०७७ बाट सम्मान् गरिएको पुस्तकालयले जनाएको छ । लामो समय देखि निरन्तर रुपमा साहित्यको क्षेत्रमा क्रियाशील पन्तका दजनौँ भाषा, साहित्य, संस्कृतिसँग सम्बन्धित कृति तथा रचना प्रकाशित छन् ।
साहित्यप्रति अत्यन्त रुची राख्ने स्वर्गीय जानकी ज्ञवाली गौतमको स्मृतिमा उहाँको परिवारद्वारा किरण पुस्तकालयमा स्थापना गरिएको जानकी ज्ञवाली गौतम प्रतिष्ठानको अक्षयकोषको व्याजद्वारा प्रत्येक वर्ष सो पुरस्कार प्रदान गरिदैँ आइएको छ । त्यस अवसरमा जानकी साहित्य पुरस्कार संस्थापक तथा संरक्षक शङकर गौतमले पुरस्कारको स्थापना, उद्देश्य तथा पुरस्कार प्राप्त व्यक्तित्वका साहित्यक पक्षका बिषयमा जानकारी दिनुभएको थियो ।
राष्ट्र कविको निधनमा शोक सभा
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति किरण पुस्तकालय तम्घास गुल्मीले शोक व्यक्त गरेको छ । राष्ट्रकवि घिमिरेद्वारा रचित गौरी खण्डकाव्यका केही श्लोकहरु वाचन तथा मौन धारण गरी स्वर्गीय कविप्रति श्रद्धा तथा सम्मान व्यक्त गरिएको थियो ।
कार्यक्रममा रेसुङ्गा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरि बहादुर खत्री, पूर्व क्याम्पस प्रमुख ढुण्डिराज पोखरेल लगायत किरण पुस्तकालयका आजीवन सदस्य, विभिन्न पदाधिकारीहरु एवं साहित्यानुरागी महानुभावहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन किरण पुस्तकालयका सदस्य गोपाल पन्थीले गर्नुभएको थियो ।