थप ८ सय ३८ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

जम्मा संक्रमित ३० हजार ४ सय ८३ पुगे / १३७ मृतक

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज दिएको जानकारी अनुसार नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार हालसम्म पीसीआर विधिबाट ५ लाख ७९ हजार ८ सय ९९ परीक्षणहरु गरिएको छ । पछिल्लो २४ घन्टामा १३ हजार ६ सय ७९ पीसीआर परीक्षण गरिएको थियो ।
पीसीआर परीक्षणमा मात्र हालसम्म ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च भएको छ प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
त्यस्तै पछिल्लो २४ घन्टामा २ सय ५० जना डिस्चार्ज भएसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १२ हजार २ सय ३४ जना रहेका छन् । आइसोलेसनमा संख्या १८ हजार २१४ जना रहेको उनले बताएका छन् । त्यस्तै आईसीयुमा राखेर १३३ जनाको उपचार भइरहेको र १५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रवक्ता गौतमले जनाएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ ।