ईश्वर नै दाहिना नभएपछि …
काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री र पर्यटनमन्त्रीबीच विवाद चर्किएको छ । रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बनेको सीसीएमसीले अनुमति नदिँदा २६६ जना नेपाली लिन दुवई पुगेको विमान रिक्तै फर्किनु परेपछि पर्यटनमन्त्री योगेश भट्टराईले रक्षामन्त्रीप्रति रोष व्यक्त गरेका छन् ।
विदेशमा अलपत्र परेका नेपालीलाई सरकारले घर ल्याउने निर्णय गरेपनि कहिले, कसरी ल्याउने भन्ने विषयमा स्पष्ट कार्ययोजना बनाएको देखिदैन । यस्तै नेपालीहरुलाई ल्याउन दुवई विमानस्थल पुगेको विमान रित्तै फर्किएको घटनाले मन्त्रीहरुबीचमै समन्वय छैन भन्ने स्पष्ट भएको छ ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले उद्धार गर्न खटाइएको विमानमाथि किन रोक लगायो भन्ने प्रश्न उठेको छ । पर्यटनमन्त्रीले रक्षामन्त्री ईश्वर पोखरेललाई नसोधेको भन्दै व्यक्तिगत रिसइवी देखाएर राष्ट्रकै छवि धमिलो बनाउने काम भएको टिप्पणी आएका छन् ।
सोमवार बसेको मन्त्रिपरिषद् वैठकले सीसीएमसीलाई कोरोना रोकथाम र नियन्त्रणका लागि ठोस प्रस्ताव ल्याउन निर्देशन दिएको छ भने सो समितिले ठिकसँग काम नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नै पटकपक गुनासो गर्दै आएका छन् ।
सोमवारको वैठकमा पर्यटनमन्त्री भट्टराईले सरकारको गति एकातिर र काम गर्ने शैली अर्कातिर भएको भन्दै घुमाउरो शैलीले रक्षामन्त्रीलाई व्यंग्य गरेका थिए । उनले मन्त्रीहरुबीचमै समन्वय नहुँदा काम कसरी हुन्छ भन्ने प्रश्न पनि गरे । सीसीएमसीका कर्मचारीले रक्षामन्त्रीले आदेश नदिएका कारण नेपाल एयरलाइन्सको जहाज दुवईबाट रित्तै फिर्ता बोलाउनु परेको बताएका छन् ।
सोमवार राति २१३ जना यात्री लिएर दुवई गएको विमानमा २६६ जना नेपाली ल्याउने कार्यक्रम बनाइएको थियो । दुवई विमानस्थलमा सम्पूर्ण स्वास्थ्य परीक्षण गराएर नेपाल आउने तयारीमा बसेका नेपालीहरु समेत रक्षामन्त्रीको आदेशका कारण क्रुद्ध भएका छन् ।
त्यस्तै एक सार्वजनिक कार्यक्रममा रक्षामन्त्री पोखरेलले सेनाको मानमर्दन गर्न खोजेपछि उनको थप आलोचना भएको छ । रक्षामन्त्री पोखरेल नेपाली सेनामाथि आक्रोश पोख्नुको कारण औषधि खरिद र फाष्ट ट्रयाक निर्माणलाई लिइएको छ । रक्षामन्त्री पोखरेलले मेडिकल सामग्री आपूर्तिको अनुभव नभएको र वाणिज्य विभागमा दर्ता समेत नरहेको एउटा व्यापारी समूह ओम्नीलाई सामग्री ल्याउन दिएपछि चौतर्फी आलोचना भएको थियो । बजारदर भन्दा चार गुणासम्म महंगो तथा गुणस्तरहीन सामग्री खरिद गरेर कोरोना भाइरस संकटमा पनि भ्रष्टाचार गर्न खोजेको भन्दै उपप्रम तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल विवादमा तानिएका छन् ।
प्रधानमन्त्री ओलीले ओम्नी समूहसँगको सम्झौता रद्द गर्दै आवश्यक स्वास्थ्य सामग्री सेना मार्फत जिटुजी विधिबाट खरिद गर्ने निर्णय चैत्र १६ गतेको मन्त्रिपरिषद् वैठकबाट गरेका थिए ।
तर रक्षामन्त्री पोखरेलले ओम्नी समूहले ल्याएका सामान नसकिएसम्म औषधि खरिद नगर्न र ओम्नीले ल्याएका सामानलाई सेनामार्फत प्रयोग गर्न खोजेका थिए । तर सेनाले उनको योजनालाई अनुमोदन नगरिदिएपछि उनी रिसाएका थिए । त्यस्तै काठमाडौ–तराई फाष्ट ट्रयाकको परामर्शदर्ता छनौटमा रक्षामन्त्री पोखरेलले आफू निकटस्थलाई लाभ दिलाउन खोजेका थिए । त्यसले पनि उनी र सेनाबीचको सम्वन्धमा दरार उत्पन्न गराएको स्रोतको दावी छ ।
रक्षामन्त्री र सेनाको सम्वन्धमा दरार उत्पन्न भएको समाचार सार्वजनिक भएपछि रक्षामन्त्री पोखरेलले मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ज्ञवालीलाई विज्ञप्ति जारी गर्न लगाएर ‘नेपाली सेनासँग कुनै मतभेद छैन’ भन्न लगाएका छन् । रक्षामन्त्रालयको विज्ञप्तिलाई घुमाउरो शैलीमा गरिएको भुलसुधारका रुपमा हेरिएको छ ।
विज्ञप्तिमा ‘नेपाली सेना राज्यको अत्यन्त अनुशासित, वफादार, भरपर्दो, व्यवसायिक र सुदृढ सुरक्षा संयन्त्र रहेको’ भन्दै रक्षामन्त्रालयले सरकारबाट भएको सवै निर्देशन र निर्णयहरुको सेनाले चुस्त र प्रभावकारी कार्यक्रम गर्दै आएको समेत उल्लेख गरिएको छ ।