कोरोनाको नाममा खर्च भएको १२ अर्व अपारदर्शी !

काठमाडौं । सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा हालसम्म झण्डै १२ अर्व रकम खर्च भएको बिवरण सार्वजनिक गरेको छ । गएको चैत्रदेखि साउन महिनाको अन्तिमसम्ममा यो रकम खर्च भएको सरकारको भनाई छ । औषधी, स्वास्थ्य सामाग्री खरिद, स्वास्थ्य पुर्वाधार निर्माण, बिस्तार, जनशक्ति परिचालन र क्वारेन्टाइनलगायत क्षेत्रमा सरकारले यो रकम खर्च गरेको जानकारी सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले दिएका छन् ।
उनका अनुसार संघीय सरकारबाट हालसम्म पाँच अर्व ८४ करोड ८० लाख खर्च भएको छ । यसैगरी प्रदेश सरकारहरुबाट १ अर्व ४९ करोड ७० लाख र स्थानिय तहबाट ६ अर्व २ करोड ८१ लाख रकम कोभिड १९ सँग सम्वन्धित कार्यमा खर्च भएको छ । तर सरकारले यो रकमबाट अहिलेसम्म एउटा पनि भेन्टिलेटर मेसिन खरिद गरेको छैन । यसैगरी आइसियु मेसिन पनि खरिद गरेको छैन । बिदेशबाट उद्धार गरिएका भनिएका नागरिकहरु आफ्नै खर्चमा नेपाल आइरहेका छन् । सरकारले उद्धारका नाममा उनीहरुसँग चर्को हवाई टिकट मात्र होइन, नेपाल आइसकेपछिको क्वारेन्टिनमा बसेको शुल्कसमेत असुलेको छ । श्रमिकले शतप्रतिशत खर्च आर्फै गरेको भएपनि यत्रो रकम कहाँ र कसरी खर्च भयो भन्ने बिषयले अहिले चर्चा बटुलेको छ । यसकारण पनि सरकारले खर्च गरेको भनिएको रकम पारदर्शी नभएको जानकारहरुले बताएका छन् ।
अहिले मुलुकमा कोरोना संक्रमितको संख्या थामी नसक्नु गरी बढिरहेको छ । रोग नियन्त्रण र रोकथामका लागि खर्च गरिएको सरकारी रकम बालुवामा पानी हाले सरह भएको छ । सरकार संक्रमणलाई निहुँ बनाएर अपारदर्शी ढंगले सरकारी ढुकुटीको दोहन गरिरहेको छ भन्ने यो बलियो उदाहरण र प्रमाण पनि हो । सर्वसाधारण नागरिक कोरोना लागेको हप्तौ दिनसम्म पनि उपचार पाउन नसकेर घरमै बस्न बाध्य छन् । यसैगरी उपचारका लागि अस्पतालको गेटमा पुगेर पनि उपचार नपाएर बिभिन्न ठाउँमा धाउँदा धाउँदै बिरामीले मृत्युबरण गरेको समाचार दिनहुँ बाहिर आएका छन् । सरकार भने संक्रमण नियन्त्रण र रोकथामको नाममा यत्रो रकम खर्च गरेको भन्दै गर्वले छाति फुलाएर खर्च सार्वजनिक गरिरहेको छ ।