मतदाता झुक्याउने खेलमा आयोग
काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले नामको पार्टीलाई मान्यता दिएको छ । उसले चुनाव चिन्ह समेत पाएपछि त्यसबारे चर्चा परिचर्चा हुन थालेका छन् । माओवादी पृष्ठभूमिका केही र एमालेकै कतिपय केपी शर्मा ओलीका अलोचकहरुले सो पार्टी दर्ता गराउन उनकै भूमिका रहेको आरोप लगाएका छन् ।
नेकपाको चुनाव चिन्ह सूर्य र नेकपा एमालेको उदाउँदै गरेको सूर्य उस्तैउस्तै भएका कारण सुदूरगाउँ शहरका अशिक्षित मतदाताहरु झुकिन सक्ने बताइएको छ ।
नेकपाले अहिले प्रयोग गरेको चिन्हमा सूर्य मात्र अंकित छ । नेकपा एमालेको चिन्हमा दुई डाँडाको विचमा उदाउदै गरेको सूर्य राखिएका कारण मतदाताहरु झुक्किन सक्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । यसअघि रोलर र डोजर, गाई र गोरु, हलो र घेराभित्र हलो, हसियाँ–हथौडा र गोलाकारभित्र हसियाँ–हथौडाजस्ता मिल्दाजुल्दा धेरै चुनाव चिन्हले मतदान झुक्किएका उदाहरण छन् । यस्तो उदाहरण हुँदाहुँदै पनि निर्वाचन आयोगले चुनाव चिन्ह दिँदा गम्भीर ध्यान दिएको पाइदैन ।