रावावेशी गापा ४ का वासिन्दा खानेपानी समस्याबाट मुक्त
खोटाङ्ग । प्रकृतिले ठगेकै कारण पुस्तौंदेखि पानीको लागि तड्पिदै आएका साविक डुम्रेधारापानी गाविस वडा नं. ६,७,८ र ९ (हाल रावावेसी गाउँपालिका–४) अव सँधैका लागि पानीको समस्याबाट मुक्त भएको छ ।
लिफ्टिङ खानेपानी योजना सञ्चालनमा ल्याइएपछि उनीहरुको समस्या समाधान भएको हो । लिफ्टिङ खानेपानी योजनाको उद्घाटन साउन २३ गते गाउँपालिका अध्यक्ष लिलनाथ निरौलाले गरेका छन् ।
पिउने पानीको समस्यालाई हल गर्नका लागि गाउँपालिकाले ४४ लाखको लागतमा खहरे जरुवापानी लामपाते लिफ्टिङ खानेपानी योजना सञ्चालनमा ल्याएको हो । स्थानीय सरकार बनेसँगै सुरु गरिएको योजना हालै सम्पन्न भएको हो ।
साविकको डुम्रेधारापानी ६ जरुवापानी मुहानबाट विद्युतीय मोटरमार्फत पम्पिङ गर्दै २ हजार ३ सय मिटरमाथि निकालेर वितरण शुरु गरेको हो ।
जरुवापानीमा रहेको धाराको पानीलाई गाउँमा पुर्याउनका लागि तीन ठाउँमा ट्यांकी निर्माण गरिएको छ भने दुई ठाँउमा विद्युतीय मोटर जोडिएको छ ।
लिफ्टिङ योजनाले साविकको डुम्रेधारापानी–६ जरुवापानी, डुम्रे धारापानी ७ कोटगाउँ, डाँडागाउँ, डुम्रेधारापानी ८ सिम्ले र डुम्रेधारापानी ९ भोर्लेनीका दुई सय भन्दा बढी उपभोक्ता लाभान्वित भएको वडाअध्यक्ष ज्ञानुराज पाण्डेले बताएका छन् ।
लिफ्टिङ योजनामार्फत गाउँमै पानी आएपछि पिउने पानीका लागि घण्टौं हिड्नुपर्ने वाध्यता अन्त्य भएको स्थानीयले बताएका छन् ।
स्थानीयवासीले हरेक चुनावमा उम्मेदारहरुलाई भन्थे — “हामीलाई अरु केही चाहिँदैन खाने पानीको व्यवस्था गरिदिए पुग्छ ।” आज स्थानीयको माग पूरा भएको छ ।
स्थानीय जनप्रतिनिनिधहरु गाउँपालिका अध्यक्ष लिलानाथ निरौला, ४ नम्वर वडा अध्यक्ष ज्ञानवहादुर पाण्डेलगायतले दत्तचित्त भएर काम गरेकाले वर्षौदेखि पानी नपाएर छटपटाएका स्थानीयहरु हर्षित भएका छन् ।
त्यस्तै स्थानीयहरुले गौरव र आधारभूत आवश्यकताको आयोजना सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै यसलाई जसरी लागि परेर सम्पन्न गरियो, यसको सुरक्षा र संरक्षणमा पनि त्यतिकै लागि पर्नुपर्ने माग गरेका छन् । त्यस्तै उनीहरुले आफ्नो तर्फबाट सकेको संरक्षण गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
सोही स्थानमा चाडै नै दुधकोशीबाट लिफ्टिङ गरी पानी सिंचाई सहितको योजना संचालनमा आउँदैछ । सो क्षेत्रमा खानपाीको चरम समस्या रहेका र सो सयोजना संचालनमा आएपछि त्यस क्षेत्रका वासिन्दा खानेपानीका साथै सिंचाईको समस्याबाट मुक्त हुने विश्वास लिइएको छ ।