कोरोनाले तीज पर्व प्रभावित
गुल्मी । हिन्दू नारीहरुको महान् पर्व हरितालिका तीज महिला दिदीबहिनीहरुले घरमै बसी मनाएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमले घरमै बसी तीज पर्व मनाएका हुनु । गुल्मीको रेसुङ्गा नगरपालिका–१ क्याम्पसरोडकी करुण पन्थी विगतका वर्षमा दुई चार दिन अघि नै माइत जानुहुन्थ्यो ।
तर यस वर्ष विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को जोखिमले घरमै तीज मनाउनुभएको छ । ‘प्रत्येक वर्ष तीज पर्व माइती घरमा मनाउथेँ । तर यस वर्ष घरमै छु । कोरोना भाइरसको जोखिमले माइत गइँन् ।’ पन्थीले भन्नुभयो ‘वर्षमा एक दिन भएपनि टाढा–टाढाबाट दिदीबहिनी जम्मा भएर रमाईलो गर्ने गरिन्थ्यो ।’ उहाँ यसपालिका कोरोना जोखिमका कारण घरमै बसी तीज पर्व मनाएकोे बताउनुहुन्छ ।
रेसुङ्गा नगरपालिका–१ क्याम्पस रोडकी कमला कंडेलले पनि यस वर्ष घरमै तीज पर्व मनाउनुभयो । माइतीघरमा वृद्ध बुबा आमा हुनुहुन्छ । अहिले महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण फोन मार्फत दिदीबहिनीहरसँग कुराकानी गरी सम्झीएको कंडेल बताउनुहुन्छ ।
उहाँमात्र होइन रेसुङ्गा नगरपालिका–१ की जमुना पाण्डे पनि यस वर्ष तीजमा माइत जानुभएन् । विगतका वर्षमा तीज पर्वमा माइती परिवारसँगै मनाउने गरेको भए नि यस वर्ष कोरोनाको जोखिमका कारण घरमै बसेर तीज पर्व मनाएको उहाँको भनाई छ । कोरोना महामारीबाट आफु पनि बचौँ र अरुलाई पनि बचाउँ भन्ने उद्देश्यले सरकारले जारी गरेको सुचनालाई आत्मसाथ गर्दै यस वर्ष घरपरिवारसँगै तीज पर्व मनाएको पाण्डेको भनाई छ ।
विश्वव्यापी महामारीको बीच यस वर्ष दिदीबहिनीहरुले घरमै बसेर तीज पर्व मनाएका हुन् । विगतका वर्षमा महिलाहरुले सौभाग्य सुचक धागोपोते, टीका गरगहना, रङ्गीचङ्गी कपडा,पहिरेर विभिन्न शिवमन्दिरहरु तथा आफुलाई पाएक पर्ने ठाँउमा जम्मा भएर तिजका गीतहरु गाएर मनाउने गर्थे । तर यस वर्ष त्यसो हुन सकेन् ।
चिदिचौर सुनसान
तीज पर्वको अवसरमा मौलिक संस्कृति सहितका गीतहरु गाउँने तथा नाच गान गर्ने पुरानो परम्परा रहि आएको छ । तीजको अवसरमा गीतका माध्यमबाट महिलाहरुले आफुले भोगेका सुख दुखका बेदनहरु साट्ने गर्दछन् ।
तिजको अवसरमा व्रत बस्नुका साथै नारी बेदना समेटीएका गीतहरु गाएर मनाउने तीज पर्वको संस्कृति रहि आएको छ । वर्षौ देखि आफनो घरमा परेका दुख नारी वेदनाहरु माइतीमा जम्मा भएका साथीसँघीहरुसँग गीतको मार्फत पोख्ने गर्दछन् । पर्वको अबसरमा लामो समय देखि टाढिएका आफन्तहरु पनि जम्मा भएर खुसी साट्दै गीत मार्फत गाउने प्रचल पनि छ ।
हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर व्रत गरी आफ्नो कामना पूरा गरेको धार्मिक कथनअनुसार यो पर्व मनाइँदै आएको हो । तीज पर्वमा पानीसमेत नखाई विवाहित महिलाहरु शिवको पूजा आराधना गर्दै आफ्ना पतिको तथा परिवारजनको सुख,शान्ति दिर्घायु, सुस्वास्थ्यको कामना गरी व्रत बस्दछन् ।
अविवाहित महिलाहरु सुयोग्य तथा आदर्श पति प्राप्त गर्ने कामनाका साथ ब्रत बस्ने गर्दछन् । यस दिन पानी समेत नखाई ब्रत बस्नुपर्ने हुनाले अघिल्लो दिन बेलुकी नै विभिन्न परिकार तथा मिष्ठान्न तयार गरी व्रतालुहरुले दर खाने प्रचलन छ । महिलाहरु आज तिज सम्बन्धी गीत,गाएर आफ्नो मनभित्रको बह पोख्ने गर्दछन् ।
प्रत्येक वर्ष जिल्लाको सदरमुकाम तम्घासमा अवस्थित चिदिचौरमा तीज पर्वको दिन चहलपहल हुने गर्दथ्यो । तर यस वर्ष भने सुनसान रह्यो । महिलाहरुको सौभाग्य सुचक सिन्दुर, धागोपोते, टीका, गरगहना, रङ्गीचङ्गी कपडा पहिरेर दिनभर काँधमा छड्के तिलहरीसँगै मादलको तालसँगै तीजका भाकामा कम्मर मकाई–मकाई नाँचेको देख्न्थियो ।
तर यस वर्ष विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण चिदिचौर सुनसान रह्यो । विगतका वर्षमा तीज पर्वको चहलपहल एक महिना अघि देखि नै शुरु हुने भएपनि यस वर्ष भने तीजको छनक देखिएन् । तीन पर्वको मर्म र संस्कृति जर्गेनाका लागि जिल्लाका विभिन्न स्थानमा हुने तीज गित प्रतियोगिताले समग्र जिल्ला नै तीजमय हुने गर्दथ्यो । यस वर्ष भने सबैको ध्यान कोरोना भाइरसले केन्द्रित गरेको छ ।
घरमै पर्व मनाउँदा पनि सर्तक बनौँँ
सामुहिक रुपमा तीज पर्व मनाउन नपाएपछि यतिबेला सामाजिक सञ्जालमा सतर्कता अपनाई पर्व मनाइरहेका भिडियो तथा तस्वीरहरु सार्वजनिक हुने गरेका छन् । घरमा बसेर पर्व मनाउँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउनुपर्ने बताउनुहुन्छ स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा.भवानी प्रसाद शर्मा ।
मास्कको प्रयोग गर्ने, स्यानिटाइजरको प्रयोग गर्ने, सामाजिक तथा भौतिक दुरी काम गर्ने जस्ता सरकारले जारी गरेका सुरक्षा सर्तकताका उपायहरु अपनाउनुपर्ने डा.शर्माको भनाई छ । कोरोनाको जोखिम कायम नै रहेकाले यसतर्फ बिशेष सर्तकता अपनाउनुपर्ने शर्माले बताउनुभयो ।
कोभिड–१९को जोखिमलाई ध्यान दि“दै लकडाउन
जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा एक हप्ता लकडाउन गर्ने निर्णय गरेको छ । शुक्रबार राति १२ बजेदेखि सदरमुकाम गुल्मीमा एक हप्ता लकडाउन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जानकारी दिनुभयो ।
लकडाउन अवधिमा अत्यावश्यक सेवा बाहेकका सबै साना ठुला सवारी साधनहरु र मोटरसाईकलहरु छोटो तथा लामो दुरीका सबै सार्वजनिक यातायातहरु नचल्ने र अत्यावश्यक सेवा बाहेकका जिल्ला प्रशासन कार्यालय गुल्मीले गरेको निषेधाज्ञा सम्बन्धी आदेशको उल्लंघन गर्ने वा आदेशको पालना नगर्नेलाई प्रचलित कानुन बमोजीम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।
दुग्धजन्य पसलहरु बिहान ७ बजे देखि ९ बजे सम्म बेलुका ४ बजे देखि बेलुका ६ बजे सम्म खुल्ला हुने छ । तरकारी तथा मासु पसल बिहान ७ बजे देखि ९ बजे खुल्ला रहने छन् । अत्याबश्यक पसल सबै बन्द रहने छ । गुल्मीका पार्टी प्यालेस, होटेल, रेस्टुरेन्ट, पसल, शपिङ मल,स्टोर्स, शैलुन, ब्युटीपार्लर, समुहमा खेलिने खेल, पुस्तकालय, संग्रालय आदी बन्द रहनेछन् ।
नेपाली नारीहरुको महान् पर्व हरितालीका तीजसंगै चाडपर्वहरु नजिकै आइरहेकाले नागरिकलाई मेला, महोत्सव, जात्रा, जुलुस जस्ता धेरै मान्छेहरुको भिड हुने गतिविधीहरु सभा, तालिम नगर्न पनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
गुल्मीमा अहिलेसम्म ३६९ जनामा कोरोना भाइरस पोजेटिभ
जिल्लामा जेठको ५ गते देखि भाद्र ५ गते सम्म ३ सय ६९ जनामा पोजेटिभ देखिएको छ । ८ हजार १ सय ८४ जनाको आरडिटि गरिएको छ । भने २९ सय ६१ जनाको स्वाब संकलन गरिएको छ । जसमा ३ सय ६९ जनाको पिसिआर पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा.भवानी प्रसाद शर्माले जानकारी दिनुभएको छ ।
जिल्लामा हाल सक्रिय केश ३ रहेको छ । तीन जनाको अवस्था नै सामान्य रहेको शर्माले जानकारी दिनुभयो । यस जिल्लामा कोरोना संक्रमित ३ जनाको मृत्यु भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या ठुलो र तिब्र गतिमा नभएकाले सबैले लकडाउनको पालन गर्न सकेमा भयावह अवस्था सिर्जेना नहुने शर्माले जानाकारी दिनुभयो ।