बदेलले मकै नष्ट गर्न थालेपछि कृषक निराश
गुल्मी । जिल्लाको मदाने गाउँपालिका होलवाङ्गमा बदेलले कृषकले लगाएको मकै बाली नष्ट गरे पछि कृषकहरु चिन्तित बनेका छन् । जिल्लाको मदाने गाउँपालिका–२ स्थित होल्वाङ्गका विभिन्न स्थानमा गरी ३२ रोपनीमा लगाइएको मकै बाली जंगली जनावर बदेलले नष्ट गरेपनि कृषकहरु चिन्तित बनेका हुन ।
रातको समयमा बदेलले मकै बाली नष्ट गर्ने गरेको स्थानीय कृषक बाबुराम भुसालले बताउनुभयो । नजिकै दुई वटा सामुदायिक वन रहेका छन् । मदाने सामुदायिक वन र छहरा सामुदायिक वन । जसका कारण जंगली जनावरको समेत बिगबिगी रहेको छ । त्यस स्थानमा गत वर्ष चितुवाले आतङ्क समेत मच्चाएको थियो । भुसालले भन्नुभयो ‘कहिले चितुवाले बाख्रा खाइदिने । कहिले मान्छेलाई नै आक्रमण गर्ने गर्छ । यस वर्ष बदेलले वर्षभरीको खेती स्याहार्ने बेला उत्पात मच्चाएको छ ।’
यसरी मकै बाली भित्र्याउने बेलामा बदेलले मकै सखाप पार्न थाले पछि कृषकहरु रातभर जागाराम बस्न बाध्य छन् । केही दिनसम्म युवाहरुको समुह बनाएर रातको समयमा बदेललाई धपाउन खट्ने गरेको समेत भुसालले जानकारी दिनुभयो । तर पनि मकै बालीलाई बेदेलबाट बचाउन नसकिएको कृषक भुसालको भनाई छ ।
भुसालको मात्र होइन् । होलवाङ्गका डोम बहादु पुन, हुमा थापा, झक बहादुर थापा, गणेश घर्ति, शिव पुन, ऐमन बहादुर घर्ति, गणेश पुन, गणेश घर्तिको मकैबालीमा बदेलले क्षति पुर्याएको छ । त्यस वडाभित्र पर्ने ओख्रेरेनीमा पनि कृषकहरुको बालीनाली क्षति गरेको छ । कृषकहरु भुवानी प्रसाद भुसाल, नरिश्वर भुसाल, तुलसा भुसाल, तुल्सीाम भुसालको मकै बाली क्षति गरेको छ ।
कोभिड–१९ ले प्रभावितले सबैतिर अस्तव्यस्त बनाइरहेको अवस्थामा कृषकहरुले खेतीबाली भित्राउन नपाउनु अत्यन्तै दुःखद बिषय हो । मकै बाली भित्र्याउने बेलामा बदेलले क्षति पुर्याएपछि कृषकहरु आक्रोशित समेत बनेका छन् । यसतर्फ सम्बन्धित निकायको बेलैमा ध्यान पुग्नुपर्ने देखिन्छ ।