उपत्यकामा थपिए ३०१ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना संक्रमित थपिएका हुन् । काठमाडौंमा कुल संक्रमितको संख्या ३ हजार १८१ पुगेको छ भने ललितपुरमा ५१० र भक्तपुरमा ३२४ पुगेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरमा ८ सय ५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार २५३ नमुना परीक्षण गर्दा २९९ महिला र ५५६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । उनीहरुमध्ये १९ हजार ५०४ जना संक्रमणमुक्त भइसकेका छन् भने १४ हजार ७३९ आइसोलेसनमा छन् । १७५ जना जनाको मृत्यु भएको छ । ती मध्ये आज मात्रै ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।