गुल्मीमा पिसिआर ल्याब सञ्चालनमा ढिलाई

रेसुङ्गाका मेयर भन्नुहुन्छ, भदौ २५ गतेभित्र सञ्चालनमा ल्याउछौँ

गुल्मी । गत जेठ अन्तिम साता जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीले जिल्लामै कोरोना भाइरस परिक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय ग¥र्यो । यसको व्यवस्थापनको जिम्मा सदरमुकाममा रहेको रेसुङ्गा नगरपालिकालाई प्रदान गरियो । जिल्लाबाट स्वाब सङ्कलन गरी पठाउँदा रिपोर्ट आउन ढिलाइ भएपछि यहि पिसिआर ल्याब सञ्चालन गर्ने निर्णयले जिल्लाबासी खुसि भए ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संन्त्रास छाइरहेको अवस्थामा कोरोना परिक्षण प्रयोगशाला समयमै सञ्चालनमा आउने आशा जिल्लाबासीमा थियो । तर लामो समय बितिसक्दा पनि प्रयोगशाला सञ्चालन नआएपछि भने नागरिकहरु निराश बन्दै गएका छन् । यतिबेला केही छिमेकी जिल्लाहरुमा समुदायस्तरमै कोरोना भाइरस संक्रमण पुष्टि भइरहेको छ ।
यसको संक्रमण जोखिम न्यूनिकरणका लागि पछिल्लो पटक गरिएको लकडाउनको पनि भोली शुक्रबार एक हप्ता पुरा हुँदै छ । यसको संक्रमण न्यूनिकरणका लागि जिल्लामै कोरोना भाइरस संक्रमण परिक्षण प्रयोगशाला सञ्चालनमा ल्याउनु अतिआवश्यक देखिन्छ । तर प्रयोगशाला सञ्चालनको कार्यले गति लिन नसक्दा भने नागरिकहरुमा छाएको आशा निराशामा परिणत हुने देखिन्छ ।
कोभिड–१९ प्रयोगशालाको व्यवस्थापनको जिम्मा लिएको रेसुङ्गा नगरपालिकाले भने आवश्यक कार्यहरुलाई अगाडि बढाइरहेको दाबी गरेको छ । रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसालले अबको १५ दिनभित्र जिल्लामा कोभिड–१९ प्रयोगशाला सञ्चालनमा ल्याउने बताउनुभयो । यस नगरपालिकाको वडानं.९ मा रहेको महिला विकासको भवनमा प्रयोगशाला निर्माणको कार्य भइरहेको भुसालले बताउनुभयो ।
‘भदौ १५ गतेभित्रमै ल्याब सञ्चालनमा ल्याउछौँ ।’मेयर भुसालले भन्नुभयो ‘अहिले प्रयोगशालामा आवश्यक पर्ने मेसिन खरिदका लागि आफुहरु केन्द्रित भएका छौँ ।’ भुसालले आवश्यक मेसिन उपकरणहरुको खरिदमा ढिलाई हुँदा प्रयोगशाला सञ्चालनमा ढिलाई हुन गएको बताउनुभयो । तत्कालका लागि भैरहवाबाट जनशक्ति झिकाएर प्रयोगशाला सञ्चालन गर्ने बताउनुभयो । यहाँका स्वाथ्यकर्मीहरुलाई तालिम दिने समेत मेयर भुसालको भनाई छ । प्रयोगशाला स्थापना भएपश्चाय सञ्चालनका लागि गुल्मी अस्पताललाई हस्तान्तरण गरिने छ । पिसिआर परिक्षण खर्चिलो समेत हुने भएकाले यसको आर्थिक व्यवस्थापन भने जिल्लाका सबै स्थानीयतहले गर्ने मेयर भुसालले बताउनुभयो ।
यस अघि साउन ३ गते परराष्ट्रमन्त्रि मार्फत रेसुङ्गा नगरपालिकालाई पिसिआर मेसिन हस्तान्तरण भएको थियो । तर त्यसमा आवश्यक पर्ने अन्य मेसिन उपकरणहरु नपाइएपछि अहिले पुन काठमाडौँ लगिएको छ । प्रयोगशाला सञ्चालनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँबाट दुई जना प्राविधिक आएर त्यस मेसिनको जाँच गर्दा थप आवश्यक पर्ने उपकरण नभएपछि काठमाडौँ लगिएको गुल्मी अस्पतालका मेसु डा.उत्तम पच्चाले बताउनुभयो ।
विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले प्रयोगशाला सञ्चालनमा केही समय ढिलाई भएको स्वीकार गर्नुभयो । उहाँले आफुहरुसँग प्राविधिक जानकारी पनि नहुने र यससँग सम्बन्धित प्राविधिक पनि नभएकाले केही ढिलाई भएको उहाँको भनाई छ । बाहिरबाट बोलाउँदा जाँचमा खटिएका प्राविधिक ल्याउन समय लाग्ने भएकाले पनि केही ढिला हुन गएको प्रजिअ शर्माले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘जसरी पनि सञ्चालनमा ल्याउन लागि परेका छौँ । यसमा सबैको सहयोग आवश्यक छ ।’ प्रजिअ शर्माले प्रयोगशाला निर्माणको कामलाई अगाडि बढाइएको बताउनुभयो । हिन्दूहरुको महान पर्व दशैँ लगायतका पर्व आउन लागेकाले यस समयमा धेरै मानिस बाहिरबाट जिल्लामा भित्रने हुँदा कोरोनाको जोखिम हुने भएकाले दशैँ अगावै सञ्चालनमा ल्याउने गरी काम भईरहेको बताउनुभयो ।
प्रयोगशाला सञ्चालनका लागि जिल्लाका सबै स्थानीयतहरु केन्द्रित भएका हुन् । यसका लागि आवश्यक आर्थिक लगानी समेत स्थानीयतहबाट गरिनेछ । दुई नगरपालिकाबाट १५÷१५ लाख तथा १० वटा गाउँपालिकाबाट १०÷१० लाखका दरले आर्थिक रकम जुटाउने निर्णय समेत भइरहेको छ ।
१ करोड ३० लाख भन्दा बढी लगानीमा जिल्लामा कोरोना भाइरस परिक्षण प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको हो । यसका लागि छिमेकी जिल्ला अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले समेत आर्थिक लगानीका लागि चासो व्यक्त गरेको छ । कोरोना भाइरसको जोखिम बढिरहेको सन्र्दभमा छिटो–छरितो रुपमा जिल्लामा प्रयोगशाला सञ्चालनमा ल्याउन अतिआवश्यक देखिन्छ । यसबाट जोखिम न्यूनिकरणमा बल पुग्ने नागरिकहरुको अपेक्षा रहेको छ ।