महामारी : दलहरुलाई राहत, जनतालाई आहत

काठमाडौं । मुलुकका मुख्य राजनीतिक दलहरु अहिले आन्तरिक विवादमा रुमल्लिएको अवस्था छ । यही कारण मुलुकको राजनीतिक जीवन पनि अलमलका बिच अगाडि बढिरहेको छ । यसो हुनुमा हाल बिश्वव्यापी रुपमा बढिरहेको कोरोना महामारी कोभिड १९ ले पुरयाएको असर पनि एउटा कारण हुनसक्छ । महामारीले नेपाललाई मात्र होइन अन्तराष्ट्रिय जगतलाई पनि नराम्ररी असर पुर्याइरहेको छ ।
जसका कारण राजनीतिक दलहरुले अगाडि सारेका योजना र निर्धारित कार्यक्रम समयमा पुरा हुने अवस्था छैन । निर्धारित समयमा गर्नुपर्ने र हुनुपर्ने कुनै पनि काम समयमा हुने संभावना टर्दै गएपछि त्यसको प्रत्यक्ष असर मुलुकको आन्तरिक जीवनमा पर्न गएको छ ।
मुलुकको राजनीतिक बागडोर संहालिरहेको सत्तारुढ दल नेकपा भित्रको आन्तरिक बिवादले निकै समयसम्म मुलुकलाई अलमलमा पार्यो । झण्डै बिभाजनको संघार नजिक पुगेको नेकपा अहिले त्यो खतराबाट मुक्त हुन लागेको हो कि भन्ने अवस्थामा पुगेको देखिन्छ । अहिले पनि संभावना पुरै टरिसकेको अवस्था भने छैन । बिभाजनको नजिक पुगेको नेकपालाई केही समय अगाडि गठन भएको बिवाद समाधान कार्यदलको प्रतिवेदनले संजीवनीको काम गरेको बताइएको छ । कार्यदलले तयार पारेको प्रतिबेदन यतिबेला नेकपाका लागि रामबाण सावित बन्न पुगेको बताइए पनि कार्यान्वयन नहोउन्जेलसम्म शंकाको लाभ लिनेहरुलाई बल भने मिलिरहने अवस्था छ ।
कार्यदलले दिएको सुझाव प्रतिवेदन नेकपाका मुख्य दुई अध्यक्षका हातमा परिसकेको छ । उनीहरुको हातमा परेपनि त्यसले औपचारिकता भने ग्रहण गर्न पाएको छैन । तथापी पार्टी कमिटी भित्र छलफल भएपछि मात्र यसले औपचारिकता पाउने छ । यसका लागि शनिवार बस्ने भनि तय गरिएको सचिवालय बैठक स्थगित हुन पुगेको छ । उपप्रधान तथा रक्षामन्त्री र गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्यद्धय ईश्वर पोखरेल र रामबहादुर थापा कोरोना आशंकाका कारण आइसोलेसनमा बस्नु परे पछि निर्धारित बैठक स्थगित भएको हो ।
यही कारण तय भइसकेको सचिवालय बैठक अनिश्चितकालसम्मका लागि स्थगित हुन पुगेको नेकपाले बताएको छ । सचिवालय लगत्तै स्थायी समितिको बैठकबाट कार्यदलको सुझावलाई पारित गरेर कार्यान्वयनमा लैजाने योजना नेकपाले अगाडि सारेको थियो । तर अहिले यी काम फत्ते गर्नका लागि नेकपालाई तगारो बनेको छ कोरोना महामारी । यो समस्यामा सत्तारुढ दल नेकपा मात्र होइन संसदमा प्रमुख प्रतिपक्षको भुमिकामा रहेको नेपाली काग्रेसमा पनि आइलागेको छ ।
संसदमा प्रमुख प्रतिपक्ष दलको भुमिकामा रहेको नेपाली काँग्रेसको १४औं महाधिवेशन निर्धारित र घोषित समयमा हुने कुरामा पनि आशंका जन्मन थालेको छ । निर्धारित समयमा महाधिवेशन नहुने भन्ने बिषयमा एकथरी नेताहरु पुगिसकेका छन् । तर उनीहरुले अहिले प्रस्ट रुपमा मुख खोेलिसकेको अवस्था भने छैन । केही नेताहरु महाधिवेशन हुने र नहुने बिषय दोधारको स्थिति रहेको बताइरहेका छन् ।
नेपाली कांग्रेसले आगामी फागुन ७–१० गतेका लागि महाधिवेशन गर्ने तयारी गरेको थियो । यसका लागि मिती तय गरेर कार्यतालिका समेत सार्वजनिक भइसकेको छ । तर त्यसको लागि गर्नुपर्ने आवश्यक कुनै पनि तयारी र प्रक्रिया अगाडि बढ्न र बढाउन सकेको छैन । यसले पनि महाधिवेशन निर्धारित मितिमा हुने कुरामा आशंका जन्माएको छ ।
महाधिवेशनको मुख्य तयारीको बिषय भनेको क्रियाशील सदस्यता नै हो । यसको लागि महाधिवेशन हुनभन्दाु छ महिना अगावै यसको तयारी र प्रक्रिया अगाडि बढाउनुपर्ने भएपनि अहिलेसम्म संस्थापन पक्षले त्यो कुनै काम र प्रक्रियामा प्रवेश नै गरेको छैन । यसले पनि समयमा महाधिवेशन नहुने आशंकाको बिषय हो । अर्को कुरा महाधिवेशनको लागि आ–आप्mना समुहबाट दस्तावेज लेखन गरी कार्यकर्ताको माझमा छलफलमा लैजानुपर्छ । तर नेताहरुले त्यो कामलाई भन्दा पनि उम्मेदवारी घोषणालाई नै प्रमुख बिषय बनाउँदै महाधिबेशनलाई सेकेन्डरी प्राथमिकतामा राखेको देखिन्छ । नेताहरुको सभापतिको उम्मेदवारीमा भएको प्रतिस्पर्धाबाट पनि यो कुराको पुष्टि हुन्छ ।
यी कुनै पनि काम नगरी सभापति शेरबहादुर देउवा संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलको समुह आगामी महाधिवेशनको लागि सभापतिको उम्मेदवारी घोषणा गर्नमा प्रतिस्पर्धामा उत्रिएको प्रति कार्यकर्ताहरुले असन्तुष्टि जाहेर गर्दै आएका छन् । संस्थापन पक्षलाई महाधिवेशनको प्रक्रिया अगाडि बढाउन दवाव दिनुपर्ने मुख्य नेताहरुको भुमिका भएपनि उनीहरु मुख खोलेर सभापति देउवाको बिरुद्ध लाग्न सकिरहेका छैनन् । अहिलेसम्म आगामी महाधिवेशनमा सभापति पदका लागि एकदर्जन भन्दा बढी नेताहरुले आप्mनो नाम अगाडि सारिसकेका छन् । ‘छोरा जन्मिनु कहिले कहिले, कन्दनी बाट्ने अहिले’ भन्ने उखानलाई चरितार्थ गर्नमा नेताहरुको प्रतिस्पर्धा चलिरहेको छ ।
१३औं महाधिवेशन गर्नको लागि क्रियाशील सदस्यता बितरणको काम निर्धारित समयमा अगाडि नबढाएको भन्दै बर्तमान सभापति शेरबहादुरको समुहले तत्कालीन सभापति स्वर्गीय शुशील कोइरालाको कार्यशैली बिरुद्ध र दवाव स्वरुप भन्दै केन्द्रिय सदस्य पदबाट सामुहिक राजीनामा दिएका थिए । तर अहिले उनै सभापति देउवालाई समयमा महाधिवेशन गर्न आमकार्यकर्ताहरुले निरन्तर दवाव दिदा पनि कानमा तेल हालेसरह आनन्द लिइरहेका छन् । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस दुवैलाई समयमा काम नगरेर आलटाल गर्न कोरोना महामारी बहानाबाजी बन्दै आएको छ । यसको प्रत्यक्ष मारमा सर्वसाधारण नेपाली जनता परेका छन् ।
महामारी फैलिएर अहिले समुदायमा पुगेको कारण दिनदिनै संक्रमितको संख्या थामी नसक्नु गरी बढेको छ । संघीय राजधानी कोरोना महामारीको हटस्पट बन्न थालेपछि स्थानीय प्रशासनले भदौ ४ बाट १० हँुदै १७ गतेसम्मका लागि निषेधाज्ञा लगाएको छ । निषेधाज्ञाका कारण सर्वसाधारण नागरिक घरबाट बाहिर निस्कन सकेका छैनन् । जसका कारण बिहान काम गरेर बेलुकीको छाक टार्दै आएका उनीहरुको चुलो बल्न छोडेको छ । बिहान मात्र खुल्ने खाद्यान्नलगायत तरकारीको पसलमा भिडभाड हुने गरेको कारण संक्रमणको जोखिम पनि उत्तिकै बढ्दैछ ।
दैनिक उपभोग्य बस्तु दाल, चामल, तेल र तरकारीलगायतको मूल्य बढेर सर्वसाधारणले उपभोग गर्न नै नसक्ने अवस्था छ । यसतर्फ सरकारको ध्यान जान सकिरहेको छैन । सत्तारुढ दल त सत्ताको मातमा छ र उसलाई नागरिकको समस्याका बारेमा ध्यान दिन फुर्सद पनि छैन । तर संसदमा प्रतिपक्ष दलको भुमिकामा रहेको नेपाली काँग्रेस पनि मूल्य बृद्धि र सर्वसाधारण जनताले दैनिक भोग्दै आएको महंगीको राप र तापमाथि बेखवर झै बनिरहेको छ ।
चुनावको समयमा दैनिक खसी काटेर भोज गर्दै जनताको भोटबाट चुनाव जितेर सांसद र मन्त्री बनेकाहरु जनताको घर दैलो टेक्न गएका छैनन् । छ महिना देखि जनताले यति ठुलो दुःखकष्ट भोगिरहेका छन् । कोरोना कहरका कारण सर्वसाधारण नागरिक रोगले भन्दा पनि भोकले छटपटिइरहेको अवस्था छ । दलका कार्यकर्तासमेत अहिले उनीहरुको समस्याका बारेमा बुभ्mन गाउँघर गएका छैनन् । चुनाव आएपछि मात्र भोटको राजनीति गर्ने राजनीतिक दलहरुको यो अवव्यहारिक चरित्रले जनता बिरक्तिएका छन् ।