स्वास्थ्य खराव भएपछि प्रधानमन्त्री आबेद्वारा राजीनामा
जापानी प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन् । उनले आफ्नो अस्वस्थताका कारण राजीनामा दिएको बताएका छन् ।
आफ्नो अस्वस्थताका कारणले सरकारको निर्णय प्रक्रियामा कुनै असर नपरोस् भनेर आफूले राजीनामा गरेको उनले बताएका छन् । उनले आफ्नो कार्यकाल पूरा गर्न नसकेकोमा जनतासमक्ष माफी पनि मागेका छन् ।
आबे जपानमा सबैभन्दा लामो समय प्रधानमन्त्री हुने नेता हुन् । ६५ वर्षे आबे सन् २०१२ देखि निरन्तर प्रधानमन्त्री पदमा थिए । उनको कार्यकाल करिब एक वर्ष बाँकी थियो । आबेले सन् २००७ मा पनि अस्वस्थताकै कारण प्रधानमन्त्री पदबाट राजीनामा गरेका थिए ।
बीबीसीका अनुसार आबे युवाअवस्थादेखि नै अल्सरेटिभ कोइलेइटिस रोगबाट पीडित छन् । आबेले गत मध्य जुलाईदेखि आफ्नो स्वास्थ्य समस्या बढ्दै गएको बताएका छन् । उनले आफू निरन्तर उपचारमा लाग्नुपर्ने भएको सरकारमा रहेर काम गर्न असमर्थ हुने पनि बताएका छन् ।