‘नेपाल आइडल ३’ की बिजेता बनिन् सज्जा
काठमाडौं । नेपालको चर्चित गायन रियालिटी सो नेपाल आइडल सिजन– ३ को बिजेता बनेकी छिन्, सज्जा चौलागाईं । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचालेकी हुन । त्यस्तै फस्र्ट रनरअप प्रबिन बेडुवाल बनेका छन् भने सेकेण्ड रनरअप किरण कुमार भुजेल बनेका छन् । उनीहरुले क्रमशः ५० लाख, १० लाख र ५ लाख रुपैंया पुरस्कार प्राप्त गरेका छन् ।
दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरेका हुन् ।
एपी वान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको रियालिटी सो नेपाल आइडल नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो ।
नेपाल आइडल सिजन ३ को निर्माण टोलीको एक सदस्यमा कोरोना देखिएकाले आइडलको फिनालेमा सीमित मानिस र दर्शकको उपस्थितिमा विजेता घोषणा गरिएको हो ।
फाइनल कार्यक्रम पछिका अन्य कार्यक्रम स्थगित गरिएको सुचना सो कार्यक्रममा प्रसारण गरिएको थियो । प्रतिस्पर्धी तथा जजहरु सबै सेल्फ आइसोलेसन रहेको बताइएको छ । संक्रमण हुने पुरुष या महिला खुलाइएको छैन ।
मोरङ पथरीकी सज्जा नेपाल आइडलमा छनोट भएसँगै उनको रक पप र भर्सटायल गायकीको चर्चा हुन थालेको थियो । उनको प्रस्तुति र बोल्ड स्वरको हरेक कार्यक्रममा प्रशंसा हुने गर्छ । कक्षा ८ मा पढ्दा स्कुलमा भएको गायन प्रतियोगितामा उनले पहिलो स्थान प्राप्त गरिन् । बाबा मोरङमा र आमा साइप्रसमा भएकी सज्जा आफ्नो भाइसँगै हुर्किएकी हुन् ।
ठमेल, दरबारमार्ग तथा कमलपोखरी क्षेत्रमा रहेका लाउन्जहरूमा उनी लाइभ गीत गाउने गर्थिन् । उनको ‘दी लोडिङ’ नामक ब्यान्ड थियो ।
सुरुमा उनले डिजाइनर बन्ने सपना बोकेकी थिइन् तर गीतले उनलाई पछ्याइरह्यो । नेपाल आइडलमा अरूले गाएको सुन्दा यत्तिको त म पनि गाउन सक्छु भन्ने लगेर प्रतिस्पर्धामा भाग लिएको उनलेब ताएकी छिन् ।
त्यस्तै फस्ट रनरअप प्रवीण बर्दिया राजापुरका हुन् । शास्त्रीय संगीतका विद्यार्थी बेडुवाल शान्त स्वभावका छन् । भारतको तमिलनाडुमा हुर्किएका हुन् । इन्डियन आर्मीमा आबद्ध उनका बुवाले गायनका लागि उनलाई कहिल्यै सहयोग गरेनन् । उनका बुवाले प्रवीण पनि आर्मीमै जागिर खाउन भन्ने सोच्थे । हजुरबुवा आफ्नै देशमा काम गर्न उक्साउँथे । यसैले पनि प्रवीणमा नेपालमै केही गनुपर्छ भन्ने भावना जागेको थियो ।
त्यस्तै सेकेन्ड रनरअप भुजेल महोत्तरी बर्दिबासका हुन् । उनी वाइल्ड कार्ड इन्ट्रीमार्फत नेपाल आइडलमा पुनः भित्रिएका थिए । केही वर्षदेखि नेपाली संगीतमा संघर्ष गरिरहेका उनी सामान्य किसान परिवारमा हुर्किएका हुन् । संगीत सिक्ने रहरले संघर्ष र अभावको बाटोमा लामै हिँडाएको उनको अनुभव छ ।
गाउँमा भैंसी चराउन जाँदा होस् या धान रोप्न खेत पस्दा होस् उनले दाजु सुमनसँगै गीत गाउने अभ्यास गरेका थिए । इन्डियन च्यानलमा आउने सांगीतिक रियालिटी सो हेरेर उनले नेपालमा पनि यस्तै स्टेज होस् भन्ने कल्पना गर्थे ।
नेपाल आइडललाई सुरुआतदेखि नै पछ्याएका भुजेल पहिलो सिजनमा थिएटर राउन्डसम्म पुगेर बाहिरिएका थिए ।