गुल्मीमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय पुग्यो

गुल्मीमा समुदायस्तरमै कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जिल्लाको मुसिकोट नगरपालिका र चन्द्रकोट गाउँपालिकामा समुदायस्तरमै कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या चार सय पुगेको छ।

स्वास्थ्य कार्यालय गुल्मीका अनुसार सोमबार एकै दिन १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै कोरोना भाइरस संक्रमितको संख्या ४ सय पुगेको हो। समुदायस्तरमै कोरोना भाइरस संक्रमण पुष्टिभएसँगै जोखिम बढेको छ। जिल्लाको चन्द्रकोट गाउँपालिकामा समुदायस्तरमा कोरोना संक्रमण पुष्टि भएसँगै त्यस गाउँपालिका क्षेत्रभर पूर्ण रुपमा सील गरिएको छ।

गाउँपालिकास्तरीय स्थानीय कोरोना रोग नियन्त्रण रोकथाम समितिको निर्णय अनुसार सोमबार राति १२ देखि अर्को निर्णय नभएसम्मका लागि गाउँपालिका क्षेत्रभर सील गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीले जानकारी दिनुभयो।

गाउँपालिकाले एक सुचना जारी गर्दै संक्रमितमध्ये ५१, ६६, ६१ र ३८ वर्षका पुरुष र २२, २७, २८ वर्षका महिला रहेको जनाएको छ। संक्रमितमध्ये सातै जना समुदाय स्तरका रहेको बताईएको छ। संक्रमित सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनीहरु सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्। उनीहरुमा कुनै पनि प्रकारको लक्षण देखिएको छैन्। संक्रमितहरु जनप्रतिनिधि, विभिन्न पेशामा आवद्ध नागरिक हुन्।

मुसिकोट नगरपालिका–६ मा एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै त्यस वडालाई सील गरिएको छ। मुसिकोट नगरपालिकामा समुदायस्तरमै एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै शनिबार राति १२ बजे देखि सील गरेको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो।

नगरपालिकाले समुदायस्तरमा गरेको कोरोना परिक्षणको रिपोर्टमा समुदायस्तरमा कुर्घा स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मी सहित अन्य ४ जनामा सक्रंमण देखिएको थियो। मुसिकोटमा समुदायस्तरमा कोरोना सक्रंमण फैलिएकाले विशेष सावधानी अपानाउन र अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन तथा अनावश्यक काममा हिँड्डुल नर्गन उहाँले आग्रह गर्नुभयो।
यता इस्मा गाउँपालिकामा पनि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय गुल्मीका अुनसार संक्रमितमध्ये १५, १९, १७ वर्षीय पुरुष र ६६, ३७ वर्षीया महिला रहेका छन्। ती सबै संक्रमित भारतबाट आइ स्थानिय क्वारेन्टिनमा बसेका हुन्।

जिल्लामा संक्रमितमध्ये ३ सय ६६ जना कोरोनालाई जितेर घर फर्किएका छन्। जसमा ३०७ जना पुरुष र ५९ जना महिला कोरोना जितेर घर फर्किएका स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आर्चायले जानकारी दिनुभएको छ। कोरोना भाइरस संक्रमणबाट यस जिल्लामा ३ जनाको ज्यान गएको छ।

अहिले जिल्लामा ९३ जना मात्र क्वारेन्टाइनमा रहेका छन्। पुरुष ७२ जना र महिला २१ जना क्वारेन्टीनमा रहेका सुचना अधिकारी आर्चायले जानकारी दिनुभयो। महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै जिल्लाका विभिन्न स्थानीयतहमा गरी क्वारेन्टाइनको बेड क्षमता १२ सय ९६ रहेको छ। जिल्लामा अहिले १९ जना आइसोलेशनमा रहेका छन्।