जबर्जस्ती मच्छिन्द्रनाथको रथयात्रा गर्न खोज्दा झडप
ललितपुर । रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न जबर्जस्ती हजारौँ युवा पुल्चोकमा उत्रिँदा प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरी हटाएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड महामारीका कारण मुलुकमा दैनिक सङ्क्रमित थपिँदै गएका कारण थप जोखिम बढ्न नदिन रथयात्रा नगरिने निर्णय भए पनि युवाहरु रथयात्राको साइत रहेको मानी बिहान ११ बजेतिर रथयात्रा गर्न आएका थिए ।
महामारी नियन्त्रण नभएसम्म मच्छिन्द्रनाथको रथयात्रा तथा भोटोजात्रा दुवै गर्न अनुमति नदिइने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताएका छन् । ललितपुरमा रहेका १९ जातीय समुदाय र राजनीतिक दलका प्रतिनिधि कसैलाई पनि ती युवा सडकमा उत्रिएर रथयात्रा गर्न खोज्ने विषयमा जानकारी नभएको प्रजिअ भट्टको भनाइ छ ।
वृष्टिदेवको रथयात्रा गर्न आएका मानिसलाई प्रहरीले कोरोना बढ्ने देखी पुल्चोकबाट हटाएको पुजारी पूर्णराज शाक्यले बताएका छन् । रथयात्राका लागि उपयुक्त साइत रहेको ठानी युवाहरु सडकमा उत्रिएको हुन सक्ने गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले बताएका छन् । ‘जात्रा रोक्न पाइँदैन, माथिको आदेश चाहिँदैन’, हाम्रो परम्परा हामी अघि बढाउन चाहन्छौं’ भन्ने नाराका साथ थुप्रै युवा सडकमा उत्रिए थिए । । ती युवा सडकमा उत्रिएर केही परसम्म रथयात्रासमेत गरेका थिए ।