शिक्षा र स्वास्थ्य क्षेत्रमा हामीले नमुना र उदाहरणीय काम गरेका छौं
– निमा ग्याल्जेन शेर्पा, अध्यक्ष, हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोक
संघीय सरकारले नेपाली जनताका लागि गर्न नसकेको महान कार्यको शुरुवात र थालनी हेलम्वु गाउँपालिकाले गरेको छ । गाउँपालिका भित्र रहेका दीर्घ रोगीहरुको पहिचान गरी निशुल्क औषधीसहित चिकित्सकिय सेवाको व्यवस्था मिलाएको छ । आगामी दिनमा पालिकाबासीहरुमा ठुलो र दीर्घकालीन रोग लागेमा सम्पुर्ण स्वास्थ्यको जिम्मेवारी पालिकाले नै लिनेगरी कार्ययोजना अगाडि बढाइरहेको छ । साथै नेपालमा कोभिड १९ को महामारी शुरु भएसँगै हेलम्वुले आप्mनै स्रोतमा दुई जना डाक्टरको व्यवस्था मिलाएर सम्पुर्ण पालिकाबासीको स्वास्थ्यका बिषयमा चासो लिएर निःशुल्क चेकजाँच र औषधीको प्रवन्ध मिलाउँदै आएको छ । साथै गाउँपालिकाले दुईवटा एम्वुलेन्सको व्यवस्था गरी सुत्केरी गराउनेदेखि थप उपचार आवश्यक परेको खण्डमा पालिकादेखि जिल्ला सदरमुकाम हुँदैं काठमाडौंसम्म जान र आउनको लागि निशुल्करुपमा सेवा उपलव्ध गराउँदै आएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा नमुना र उदाहरणीय कार्य गरेको दावी प्रस्तुत गर्छन् अध्यक्ष शेर्पा । यस पालिकाले शुरु गरेको यो उदाहरणीय कार्य मुलुकका ७ सय ५३ वटा गाउँपालिकाका लागि प्रेरणाको स्रोत बन्नसक्ने उनको बुझाइ छ । पर्यटन गन्तव्यको लागि पनि त्यत्तिकै संभावना बोकेको यो गाउँपालिकाले यसतर्फ पनि ध्यान दिएर काम अगाडि बढाइरहेको छ । गाउँपालिकाले हाल गरिरहेका बिकास निर्माण, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलगायतका बिषयमा केन्द्रित रहेर अध्यक्ष शेर्पासँग रेसुङ्गा टुडे साप्ताहिकका लागि रामहरि चौलागाईंले गरेको कुराकानी ः
कोरोना संक्रमणले हेलम्वु गाउँपालिकालाई के कस्तो असर पुरयाएको छ ?
अहिलेसम्म यस गाउँपालिकामा कोरोना महामारीले खासै असर पारेको छैन । यसो भनेर हामी स्वास्थ्य सतर्कता नअपनाई बसेका पनि छैनौ । संघीय राजधानीबाट हेलम्वुको दुरी खासै लामो पनि छैन । कतिबेला यसको प्रभाव बढ्न सक्छ यसै भन्न सकिने अवस्था छैन । यो कुरालाई आंकलन गरेर हामी स्वास्थ्य सतर्कता र तयारी अवस्थामा बसेका छौ ।
तपाईं यस गाउँपालिकाको प्रमुखमा निर्वाचित भएर आएपछि शिक्षाको क्षेत्रमा गरेका मुख्य कामहरु के के हुन् ?
हामी निर्वाचित भएर आएपछि शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पर्यटनलगायतका क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेका छौं । यी मध्ये पनि शिक्षा क्षेत्रलाई नै अझ बढि प्राथमिकता दिएर काम गरिरहेको अवस्था छ । यहाँका सवै बिद्यालयहरुमा इलेक्ट्रीक हाजिरी प्रणालीको शुरुवात पनि गरेका छौं । यसको मुल उद्देश्यं भनेको १०–५ बजेसम्म शिक्षकहरुले बिद्यार्थी र बिद्यालयलाई समय दिउन् भन्ने हो । यो सँगै हामीले ९ दिन पुरै बिद्यालय बन्द गरेर सम्पुर्ण शिक्षकहरुलाई तालीमको व्यवस्था मिलायौं । नेपाल सरकारले ६ हजार तलवमा बालकक्षाका म्यामहरुलाई पढाउन लगाएको रहेछ । त्यो रकमले उनीहरुलाई खाना र खाजा खान पनि नपुग्ने देखेपछि गाउँपालिकाको तर्फबाट चार हजार रुपैंया थप गरिदिएका छौं । यसैगरी उनीहरुलाई हामीले पोशाकको लागि पनि रकमको व्यवस्था मिलाएका छौं ।
उनीहरुको श्रम शोषण त हुनु भएन भनेर थप भत्ताको व्यवस्था पनि गरेका छौं । हाम्रो भोलीको भविष्य भनेको शिक्षा यही हो भनेर नै शिक्षाको जग बलियो बनाउन लागिपरेका छौं । नेपाल सरकारले कक्षा ५ सम्मका बिद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको छ । तर त्यसमाथिका बिद्यार्थीहरु चाहीं भोकै बस्नु भएन नि भनेर गाउँपालिकाले उनीहरुको लागि दिवा खाजाको प्रवन्ध मिलाएको छ ।
यसैगरी यस गाउँपालिका भित्रका सवै शिक्षकहरुको बिमा गरिदिएका छौं । भोलीका दिनमा शिक्षकहरुमा गंम्भिर रोग लागेर बिरामी परेको खण्डमा २०–३० लाख खर्च गर्नुपर्ने अवस्था आयो भने कहाँबाट त्यो रकम जुटाउने । यदि भोलीका दिनमा त्यो अवस्था आयो भने गाउँपालिकाले त्यत्रो रकम कहाँबाट उपलव्ध गराउने भनेर हामीले बिमाको कार्यक्रम लागु गरेका हौं । यसका लागि शिक्षक कोषको व्यवस्था मिलाएका छौं । हरेक वर्ष यो कोषमा १० लाख रकम जम्मा गर्दै जाने हाम्रो योजना रहेको छ । शिक्षकहरुको तर्फबाट प्रतिमहिना दुई सयका दरले रकम जम्मा गर्न लगाएका छौं । उनीहरुमा ठुलो स्वास्थ्य समस्या आइपरेको खण्डमा यही कोषमा जम्मा भएको रकमलाई प्रयोगमा ल्याउने योजना रहेको छ ।
तपाईहरु निर्वाचित भएर आउनु अगाडि शिक्षाको अवस्था कस्तो रहेछ ?
हामी निर्वाचित भएर आउँदा धेरै शिक्षकहरु अस्थायी हुनुहुँदोरहेछ । अस्थायी र राहत कोटामा पढाइरहेका शिक्षकहरुको पेन्सन नहुने रहेछ । यसकारण पनि उनीहरुमा उत्साहपुर्वक बिद्यार्थीहरुलाई पढाउनु पर्छ भन्ने भावना नरहेको पार्यौ । यो कुरालाई मध्यनजर गर्दै हामीले अहिले शिक्षक अवकाश कोषको स्थापना गरेका छौं । त्यो कोषमा हरेक महिना गाउँपालिकाले ५ सय र शिक्षकको तर्फबाट ५ सयका दरले रकम जम्मा हुन्छ । यसरी हरेक वर्ष १२ हजार रुपैंयाँ एउटा शिक्षकको नाममा रकम जम्मा भइरहेको छ । उनीहरुले अवकाश पाएर घर जाने बेलामा रित्तो हात जानुपर्ने छैन ।
अंग्रेजी माध्यमबाट पढाई हुने बिद्यालयको खोजी गर्दै बिद्यार्थी र अभिभावकहरु भौतारिने गरेका छन । यसले हाम्रो धर्म, संस्कृति मासिदै जाने खतरा त्यतिकै छ । व्यक्ति चाहे धनी होस् वा गरीव । उसले पहिला आप्mनो धर्म संस्कृतिलाई नै बढी प्राथमिकता दिन्छ । नेपालमा हिन्दु र बुद्धिस्ट समुदायको नै मुख्य बाहुल्यता रहेको छ । आप्mनो धर्म संस्कारलाई जोगाउन पनि हामीले हाम्रो परम्परा जोगाउन आवश्यक हुन्छ । यसकारण हामीले आप्mनै भाषा, संस्कृतिका साथै अग्रेजी माध्यमको शिक्षालाई पनि तल्लो कक्षादेखि नै प्राथमिकतामा राखेका छौं ।
हेलम्वु गाउँपालिकाभित्र ९ वटा माध्यमिक बिद्यालयहरु छन् । भौगोलिक बिकटताका कारण बिद्यार्थीहरु बिहान २ बेलुकी २ घण्टा हिंडेर आउन जान बाध्य छन् । ४ घण्टा उनीहरुले बाटोमा बिताउनु पर्दा उनीहरुको लागि पढ्ने समय खोइ त ? पढ्नको लागि प्रशस्त समय नपाएपछि अब उनीहरुले कस्तो शिक्षा पाउलान् । अर्को पायक पर्ने ठाउँमा बिद्यालयको स्थापना गरौ भनेपनि अहिले भएका बिद्यालयहरुमा नै शिक्षकहरुको दरवन्दी नै फुलफिल छैन । अझै पनि भएका बिद्यालयहरुमा ४०–५० जना शिक्षकको अभाव छ । नयाँ बिद्यालय स्थापना गर्न र थप शिक्षकको व्यवस्था गर्दा राज्यलाई बार्षिक कम्तिमा २–३ करोड थप रकमको व्ययभार पर्नसक्छ । बरु सवैलाई पायक पर्ने ठाउँमा एउटा आवासिय बिद्यालयको स्थापना ग¥यो भने सवैलाई फाइदा पुग्न सक्छ ।
कस्तो बिद्यालयको अवधारणा ल्याउनु भएको छ त ?
हामीले अहिले एउटा नमुना बिद्यालय स्थापना गरिरहेका र्छौ । यो बिद्यालय भवन निर्माणाधिन अवस्थामा छ । अहिले भएका ९ वटा माबिमा पठनपाठन गरिरहेका ८ कक्षा माथिका सवै बिद्यार्थीहरुलाई सो नमुना आवासिय बिद्यालयमा एकीकृत गराएर पढाउने योजना अगाडि सारेका छौं । यो बिद्यालयलाई पूर्ण आवासीय बनाउने हाम्रो लक्ष्य रहेको छ । यसो हुनसक्यो भने थोरै शिक्षकबाट पनि धेरै बिद्यार्थीहरुलाई पढाउन सकियोस् भन्ने हाम्रो उद्देश्य रहेको छ । एउटै व्यवस्थापनबाट काम चलाउन सकिने भइयो । यसो गर्दा खर्चको बचत पनि हुने देखेर आवासिय बिद्यालयको कन्सेप्ट ल्याएका हौं । स्कुल नजिकै हामीले होस्टल बनाएर करिव दुईसय बिद्यार्थीलाई व्यवस्थापन गर्ने योजना अगाडि सारेका छौं । होस्टल भनेर ठुलो समुहमा बिद्यार्थीहरुलाई एकै ठाउँमा राख्ने र भोजभतेर जसरी खान र बस्ने होइन की १०–१० जनाको समुह बनाएर पारिवारिक वातावरणमा राख्ने योजना बनाएका र्छौ । भान्छासहितको होस्टल र त्यहाँ बिद्यार्थीहरुले स्वयम् पकाएर खानुपर्ने व्यवस्था हुनेछ । साथै होस्टल वरिपरी तरकारी खेती लगाउने र त्यसको व्यवस्थापन बिद्यार्थीहरु स्वयम्ले गर्नुपर्ने हुन्छ । यसवाट भोली स्कुल जिवन सकेर बाहिरिदा पनि बिद्यार्थीहरुले शिक्षा सँगैसँगै आफ्नो काम आफैं गर्नसक्ने भएर बुवाआमाको भर पर्नु नपरोस् । घरपरिवारका सदस्यलाई पनि सहयोग र मद्धत गर्न सक्ने होउन् ।
यो रणनीति अपनाउन सकिएन भने अवको १०–१५ बर्षपछि हिमाली जिल्ला र ती भेगका सरकारी बिद्यालय बन्द हुनसक्ने अवस्था हुन्छ । यी कुरालाई मध्यनजर गर्दै हिमाली भेगका गाउँपालिकाहरुले यो कन्सेप्ट अवलम्वन गर्न जरुरी हुन्छ ।
स्वास्थ्य क्षेत्रमा के कसरी काम गरिरहनु भएको छ ?
हामी जनप्रतिनिधी निर्वाचित भएर आउँदा यो गाउँपालिकामा एउटा मात्र बर्थिङ सेन्टर रहेको थियो । सो बर्थिङ सेन्टरमा बार्षिकरुपमा पाँचजना महिलाले मात्र सुत्केरी सेवा लिएका रहेछन् । यो गाउँपलिकामा सातवटा वडा कार्यालयहरु रहेका छन् । हेलम्वु गाउँपालिकामा हरेक वर्ष ४–५ सय महिला, आमा, दिदी बहिनीहरु सुत्केरी हुने गरेको कुरा हाम्रो जानकारीमा आयो । तर बर्थिङ सेन्टरमा नआएर हामीलाई शंका भयो र यसवाट के कुरा पुष्टि भयो भने आधाजसो सदरमुकाम वा काठमाडौं गएपनि आधाजसो त उनीहरु घरमै सुत्केरी हुने गरेको देखियो । घरमा सुत्केरी हुँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा जोखिम हुने नै भयो । यो कुरालाई मध्यनजर गर्दै गाउँपालिकाले जसरी पनि उनीहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउनुपर्छ भनेर हामीले अर्को एक ठाउँमा पनि बर्थिङ सेन्टरको स्थापना गरेका छौं ।
स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउने महिलालाई नेपाल सरकारले ३ हजार रकम दिने व्यवस्था गरेको रहेछ । त्यसमा गाउँपालिकाको तर्फबाट हामीले अर्को ३ हजार थप गरेर ६ हजार पुरयाइदिएका छौं । यो रकम पाउनका लागि उनीहरुले सुत्केरी हुन अनिवार्य रुपमा बर्थिङ सेन्टरमा आउनै पर्छ । यसका साथसाथै सुत्केरीको लागि घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म जान आउनको लागि निशुल्क रुपमा गाउँपालिकाले एम्वुलेन्स सेवाको व्यवस्था मिलाईदिएको छ । यो सेवा उपलव्ध भएसँगै गतबर्ष १ सय ७४ जनाले सुत्केरी सेवा लिएका छन् । चालु आ.व.मा साउनयता करिव ५० जनाले यो सेवा लिइसक्नु भएको छ । यसबाट के पुष्टि भएको छ भने क्रमस महिलाहरुमा जनचेतना जागृत भइरहेको छ । अब चौतारा जिल्ला अस्पताल सरह गाउँपालिकाले यो सेवा उपलव्ध गराउनुपर्छ । यहाँ डेलीभरी हुन नसकेको खण्डमा काठमाडौं लगेर पनि गराएका छौं । सुत्केरीलाई यहाँबाट काठमाडौं लैजाने र सुत्केरी गराएर ल्याउनेसम्मको जिम्मेवारी हामीले नै लिएका छौं ।
गाउँपालिकाले यी बाहेक स्वास्थ्यको क्षेत्रमा अन्य के कस्ता गतिबिधीहरु गरिरहेको छ ?
यस गाउँपालिकाले आप्mनै श्रोतबाट दुईजना डाक्टरको व्यवस्था गरेका छौं । कोभिड १९ को त्रास जारी रहेको अवस्था छ । यस्तो महामारीको समयमा सानोतिनो समस्या लिएर बिरामीहरु चौतारा वा काठमाडौं जान नपरोस् भनेर पालिकाले डाक्टरको व्यवस्था गरेको हो । अहिले हामीले कोरोना शुरु भएसँगै डाक्टरहरुलाई सवै वडाहरु र टोलटोलमा लिएर गयौं । त्यहाँ पुग्दा कोभिडको संक्रमण भन्दा पनि दीर्घ रोगका कारण उनीहरु धेरै समस्यामा रहेको पायौं । सरकारले मुलुकमा लकडाउन गरेपछि उनीहरु झन् समस्यामा परेका रहेछन् । यसपछि हामीले उनीहरुको निःशुल्क चेकजाँच गर्नुका साथै निर्णय नै गरेर सम्पुर्ण दीर्घरोगीहरुलाई निःशुल्क रुपमा औषधी उपलव्ध गराउने व्यवस्था मिलाएका छौं । यसलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने निर्णय भएको छ । अहिले हामीसँग सम्पुर्ण वडाहरुमा रहेका बिरामीहरुको डाटा छ । कुन वडामा कुन किसिम र प्रकारका बिरामी छन् भन्ने अवगत हुनुका साथै सम्पूर्ण बिरामीको रोग र औषधीका बारेमा हामीलाई जानकारी छ । यस गाउँपालिका भित्र कुल १ हजारको हाराहारीमा दीर्घरोगीहरु रहेको डाटा हामीले प्राप्त गरेका छौं ।
शिक्षा र स्वास्थ्यमा उल्लेख्य काम गरेको बताइरहँदा तपाईं स्वयम्ले चाहीँ कस्तो महसुस गरिरहनु भएको छ ?
मैले शिक्षा र स्वास्थ्यका बिषयमा धेरै जानकारी दिएँ र गराएँ । यस गाउँपालिकाभित्र बसोवास गर्ने बिद्यार्थी र स्वास्थ्यका समस्यालाई लिएर बुवाआमाले भविष्यका बिषयमा चिन्ता गर्नुपर्ने अवस्था अब छैन । पालिकाबासीहरुको स्वास्थ्यको सम्पुर्ण जिम्मा स्थानिय सरकारले नै लिन लागेको छ । यो चालु आर्थिक वर्षबाट नै यो बिषयलाई तदारुकताका साथ अगाडि बढाएका पनि छौं । यसका लागि जनसहभागिताको पनि आवश्यकता पर्दछ । हामी यस सम्वन्धमा जनतासँग पनि प्रत्यक्ष छलफल गर्नेछांै । गाउँपालिकाको तर्फबाट र जनताले के कति रकम जम्मा गरेर सहयोग गर्नुपर्ने हो, हामी छलफलका चरणमा रहेका छौं । जनताको सम्पुर्ण स्वास्थ्यको जिम्मा अव गाउँपालिकाले लिनुपर्छ भनेका छौं । यसका लागि हामीले दुईवटा एम्वुलेन्समार्फत सेवा दिइरहेको र आगामी दिनमा पनि निरन्तरता दिने योजनाका साथ काम गर्नेछौं ।
सामाजिक क्षेत्रमा के कस्तो काम गर्नुभएको छ ?
सरकारले समानताको नारा अगाडि सारिरहेको छ । एकल, अपाङ्गता भएका, बुद्धबुद्धालाई सामाजिक भत्ताको व्यवस्था गर्दै आइरहेको छ । हामी गाउँगाउँ पुग्दा एकल महिलालाई सामाजिक भत्ताको सुविधा दिइएको तर एकल पुरुषले त्यो सुबिधा नपाउँदा उसको बिजोग भएको पायौ । त्यसपछि हामीले यो असमानता हुनुहुँदैन भनेर पालिकाबाट कार्यबिधि बनाएर एकल पुरुषहरुलाई पनि मासिक १ हजार भत्ता दिने व्यवस्था गरेर उपलव्ध गराउँदै आएका छौं । यो काम गर्ने पहिलो गाउँपालिका हामी नै बनेका छौं ।
कृषिको क्षेत्रमा चाहि के कस्तो कार्य गरिरहनु भएकोे छ ?
कोभिड संक्रमणका कारण मुलुकमा खाद्यान्न संकट हुनसक्छ भनिन्छ तर त्यसको तयारी गरिदैन । यसैगरी खेती लगाउने हरेक सिजनमा रासायनिक मलको अभाव किसानले झेल्नु परेको छ । तर हामीले त्यो अभाव हुन दिएका छैनौ । कुषि सामाग्री कम्पनीले सहकारी संस्थाहरुलाई जे जति सहुलियत रकममा मल उपलव्ध गराउँछ, त्यही रकम हामीले यहाँका किसानलाई उपलव्ध गराउँदै आएका छौं । उनीहरुले ढुवानी बापत भनेर बिचमा लिने मुनाफा किसानसँग लिन पाउँदैनन् । ढुवानी भाडा गाउँपालिकाले बेहोर्दै आएको छ । यो वर्ष युरिया मल प्रतिबोरा ८ सय ५० रुपैयाँमा किसानलाई उपलव्ध गरायौं ।
पर्यटन क्षेत्र पुर्वाधारको लागि के कस्ता काम अगाडि बढाउनु भएको छ ?
हेलम्वु पर्यटक क्षेत्रको लागि पनि प्रसिद्ध रहेको छ । यहाँ टे«किङको लागि पनि हरेक बर्ष स्वदेशी र बिदेशी पर्यटकहरु आउने गरेका छन् । तर पहिलेका टे«किङ रुटहरुमा मोटरबाटोका कारण रुटहरु मासिइसकेका छन् । टे«किङ रुटहरु भएनन् भने यहाँको पर्यटन खुम्चनसक्ने देखेर हामीले हेलम्वु हिमालय टे«क वे भनेर ६० किलोमिटरको ग्रेट वे बनाइरहेका छौं । चाइनाको गे्रटवाल पछिको यो नेपालको पहिलो नमुना टे«क वे हो । चाइना पछिको हेलम्वुबाहेक अन्त कहि र कुनै पनि जिल्लामा यो गे्रटवे छैन भनेर बिभिन्न मिडियाहरुमा समाचारहरु पनि धेरै आएका छन् । यसको शुरुवात भएर पनि करिव तीनसय मिटर जति त तयार नै भइसकेको छ । यो बर्ष १ किलोमिटर तयार गर्ने योजना रहेको छ । यति बनाउँदा पनि अहिले आन्तरिक पर्यटकहरु आउनेक्रम निक्कै बढेको छ । हेलम्वुबासीको आर्थिक जिवनलाई यसले परिवर्तन गर्नसक्ने हामीले बुझेका छौं । जस्तो काडमाडौं उपत्यकामा ५० देखि ५५ लाख मानिसहरुको बसोबास रहेको अनुमान गरिएको छ । त्यसको आधा जनसंख्यालाई मात्र आन्तरिक पर्यटकको रुपमा भित्र्याउन सकियो भने पनि ठुलो आर्थिकलाभ लिन सकिने छ । हाम्रो लागि यो उपलव्धी हुने ठानेका छौं ।