३ लाख ६७ हजार पाउण्डमा भेंडा बिक्री
हालै ३ लाख ६७ हजार ५ सय पाउन्डमा लिलामी भएको एक भेडालाई विश्वकै सबैभन्दा महंगो मानिएको छ । स्कटिस नेशनल टेक्सल प्रदर्शनीका क्रममा बिहीबार यो भेडा बिक्री भएको हो । तीनजना किसानहरुले मिलेर यो भेडा किनेका छन् । भेडा किन्नेमध्येका एक जेफ एईकेनका अनुसार यस भेडालाई धेरैले आँखा लगाएका थिए । डबल डायमन्ड नामको यो भेडा विशेष भएकाले सबैको नजरमा परेको उनले बताए ।
सुरुमा १० हजार पाउन्डको बोली लगाइएको भेडाको मूल्य क्रमश बढ्दै गयो । टाउको, कपालको रंग, आँखा वरपरको रंग, खुुट्टा निकै आकर्षक रहेको भेडालाई विश्वकै ह्यान्डसम भन्न रुचाएका छन् ती खरिदकर्ताहरु ।
उक्त भेडा प्रजनन कार्यका लागि खरिद गरेको उनीहरुले बताएका छन् । टेक्सल भेडा समाजका अनुसार अहिलेसम्म सर्वाधिक महंगो रकममा बिक्री भएको भेडा डबल डायमन्ड नै हो । यसअघि २००९ मा यस्तै एक आकर्षक भेडा २ लाख ३१ हजार पाउन्डमा बिक्री भएको थियो ।