कोरोना महामारीले विश्वको भविष्य नै अनिश्चित

भारतमा आउने मन्दीले नेपाल प्रभावित हुने

काठमाडौं । विश्वमा फैलिएको कोरोना भाइरस महामारीले आर्थिक मन्दी बढाउन ठूलो भूमिका खेल्ने विश्लेषण गर्दै अर्थशास्त्री र समाजशास्त्रीहरुले विश्वको भविष्य नै अनिश्चित हुँदै गएको टिप्पणी गरेका छन् । दक्षिण एसियाको सबैभन्दा ठूलो राष्ट्र भारत समेत महामारीको चपेटामा परेको छ । जसले गर्दा ठूलो आर्थिक मन्दी ल्याउने र त्यसको दुष्प्रभाव छिमेकी मुलुकहरुमा पर्ने विश्लेषण गर्न थालिएको छ ।
नेपालको अर्थतन्त्र भारतसँगको आयातनिर्यातबाट प्रभावित भइरहेकाले नेपालले समयमै स्वावलम्वनको बाटो लिन सकेन भने आउँदा दिनहरुमा गम्भीर आर्थिक चुनौतीको सामना गर्नुपर्ने अर्थविद्हरुले चेतावनी दिन थालेका छन् ।
बीबीसी हिन्दी सेवामा प्रकाशित समाचारमा पछिल्लो ४० वर्षमा भारत पहिलो पटक आर्थिक मन्दीको चपेटामा पर्ने देखिएको विश्लेषण गरिएको छ । आर्थिक संकट आउन सक्ने भविष्यवाणी पनि सो समाचारमा गरिएको छ । दाल, चामलदेखि लिएर दैनिक उपभोग्यवस्तुमा समेत भारतमा आश्रित नेपालले भारतको आर्थिक संकटसँगै नेपालले पनि संकट भोग्नुपर्ने देखिन्छ ।
अर्थशास्त्रीहरुले नेपालको अर्थतन्त्र निर्यातमुखी हुन नसकेका कारण विश्वमा आर्थिक मन्दी आउँदा धेरै ठूलो समस्या नरेपनि आत्मनिर्भर हुन अझै धेरै वर्ष लाग्ने भएकाले नेपाली अर्थतन्त्र भारतको संकटसँगै प्रभावित हुने विश्लेषण गरेका छन् ।
श्रम बजारमा पर्न सक्ने प्रभाव र भारतीय मुद्रासँग नेपाली मुद्राको सटहीदर स्थिर हुने भएकाले भारतीय मुद्रा कमजोर भएको अवस्थामा भने नेपाली अर्थतन्त्रमा पनि असर पर्न सक्ने अर्थशास्त्रीहरुको धारणा छ । लाखौ नेपालीहरु भारतमा काम गरिरहेकाले भारतीय अर्थतन्त्र कमजोर भएमा उनीहरुले रोजगारी गुमाउनु पर्ने अवस्था आउन सक्ने देखिन्छ ।
अर्थविद् केशव आचार्यले भनेझै भारतीय अर्थतन्त्रको प्रभाव श्रम बजारमा पर्ने निश्चित छ । जापान र दक्षिण कोरिया तथा विभिन्न खाडी मुलुकजत्तिकै भारतमा नेपाली श्रमिकहरू रहेकाले त्यस्तो क्षेत्रमा ठूलो समस्या पर्न सक्ने पनि उनको विश्लेषण छ । उनले भारतमा यही गतिमा आर्थिक अवस्था बिग्रिँदै गए मुद्रा अवमूल्यनको समस्या देखिन सक्ने चेतावनी दिएका छन् ।
अमेरिकी डलरको मूल्य नेपालमा क्रमिक रूपमा घटिरहेको र भारतीय मुद्रा खस्किए हाम्रो पनि मुद्रा खस्किने अवस्था आउन सक्छ भन्ने उनको टिप्पणी छ । त्यसको प्रभाव भने चौतर्फी रूपमा पर्ने विश्लेषण गर्दै उनले नेपालले विदेशबाट गर्ने आयातदेखि वैदेशिक ऋण हुँदै बजेटमै पनि समस्या पर्ने उल्लेख गरेका छन् ।
नेपालसँग १४ महिनासम्म धान्ने विदेशी मुद्रा सञ्चिति भएका कारण तत्काल धेरै समस्या नआउने बताइएपनि त्यसपछिको परिस्थिति जटिल हुँदा विदेशी मुद्राको संचिति घट्ने र भारतीय अर्थतन्त्र कमजोर हुँदा उसले नेपाललाई दिने अनुदान, ऋण सहयोग र भारतीय परियोजनाहरु प्रभावित हुने अर्थविद्हरु बताउँछन् ।
रोजगारीका लागि भारततर्फ फर्किदै युवाहरु
स्वदेशमा रोजगारीका अवसर नदेखिएपछि पचासौ लाख युवकहरु विदेशिएका छन् । ती मध्ये झन्डै १५ लाख भन्दा बढी भारतका विभिन्न शहरमा थोरै तलवमा असुरक्षित काम गरिरहेका छन् ।
कोरोना महामारीसँगै स्वदेश फर्किएका युवाहरु यहाँ गुजारा नचलेपछि पुनः र भारततिरै फर्किन थालेका छन् । भोक मेटाउन रोगसँग नडराइ रोजगारीका लागि भारत तिरै हिडेको युवाहरुले बताएका छन् । गौरीफन्टा नाकाबाट मात्रै वितेका एक हप्तामा १५ सय भन्दा बढी नेपालीहरु कामको खोजीमा भारततर्फ लागेको बताइएको छ । भारतको हिमाञ्चल प्रदेशमा अहिले स्याउ टिप्ने सिजन सुरु भएको छ । त्यसका लागि धेरै जनशक्ति चाहिने हुँदा हजारौ नेपाली दैनिक ज्यालादारीमा काम गर्न त्यसतर्फ जाने गरेको पाइएको छ । भारतका विभिन्न शहरमा अनेकौ कष्ट व्यहोर्दै मजदुरी गर्नेहरु मध्ये सुदूरपश्चिमका धेरै छन् ।
लाखौ युवालाई स्वदेशमै राखेर उनीहरुको श्रम, सीप र मेहनत स्वदेशी माटोमा लगाउन सकिए राष्ट्र लाभान्वित हुने थियो । तर राजनीतिक खिचातानी, अदुरदर्शी नीति र निम्न तथा मध्यमवर्गलाई हेर्ने सरकारी दृष्टिकोण नै स्पष्ट नहुँदा युवाहरु रोजीरोटीका लागि विदेशीन वाध्य छन् ।