होटल व्यवसायी मोतीको विभत्स हत्याप्रति होटल व्यवसायी मञ्चको गम्भिर ध्यानाकर्षण

गुल्मी । गुल्मीको इस्मा–२ का होटल व्यवसायी मोती बहादुर कुवँरको हत्याप्रति होटल व्यवसायी मञ्च गुल्मीले गम्भिर ध्यानकर्षण जनाएको छ । इस्मा गाउँपालिका–१ स्थित हस्तिचौरको छिन्ना खोलामा होटल सञ्चालन गर्दै आउनुभएका २३ वर्षीय मोतीको भदौ २१ गते राति आफ्नै होटलमा भएको विभत्स हत्याप्रति मञ्चले गम्भिर ध्यानाकर्षण जनाएको हो ।

मंगलबार मञ्चको कार्यालय सदरमुकाम तम्घासको क्याम्पसरोडमा बसको आकस्मिक बैठकले हत्या गर्ने व्यक्तिलाई तत्काल खोज अनुसन्धान गरी कानुनी कठघारामा ल्याउन तथा हदैसम्मको कारवाहीको माग गरेको छ । होटल व्यवसायी मञ्चका अध्यक्ष भेषराज कंडेलले व्यवसायी मोतीको हत्याले होटल व्यवसायीहरुलाई सशंङ्कित बनाएको बताउनुभएको छ ।

होटल व्यवसायी मञ्चका सदस्य समेत रहनुभएका मोतीको हत्याले मञ्चलाई ठुलो धक्का पुगेको बताउनुभयो । अहिले होटल व्यवसायीहरु कोभिड–१९ ले आक्रान्त भइरहेको अवस्थामा व्यवसायीको हत्या हुनु अत्यन्तै दुःखद घटना भएको अध्यक्ष कडेंलले बताउनुभएको छ । उहाँले व्यवसाय सञ्चालन गर्दा सहज रहन पनि आग्रह गर्नुभयो ।

होटल व्यवसायी हत्याको बिषयलाई लिएर जिल्ला प्रहरी कार्यालयको समेत ध्यानाकर्षण गराएको उहाँले जानकारी दिनुभएको थियो । त्यस बैठकले होटल व्यवसायी मोतीको हत्याले मञ्चलाई स्तब्ध बनाएको भन्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकद्वारा शोक स्तब्ध परिवारजनप्रति मञ्चले समवेदना व्यक्त समेत गरेको छ । मञ्चले होटल व्यवसायी मोती हत्याको बिषयलाई लिएर प्रेस विज्ञप्ति पनि जारी गरेको छ । विज्ञप्ति मार्फत घटनाको प्रकृति हेर्दा हत्या नै भएको ठहर गर्दै जिल्लाका सबै होटल व्यवसायी त्रसित भएको उल्लेख गरिएको छ ।

होटल व्यवसायी मञ्चका संस्थापक अध्यक्ष युवराज भण्डारीको बिशेष आतिथ्यता रहेको बैठकमा उपाध्यक्षहरु बिष्णु प्रसाद ज्ञवाली, जंग बहादुर कुवँर, कोषाध्यक्ष टिकाराम भण्डारी, सहसचिव मधु महर्जन तथा सदस्यहरु कृष्ण प्रसाद श्रेष्ठ, मैया कार्की, पार्वती गौचन, झविन्द्र भट्टराई, टेमलाल खनाल, पत्रकार लगायतको उपस्थिति रहेको थियो । बैठकको सञ्चालन मञ्चका सचिव लालमणि आर्चायले गनुभएको थियो ।

व्यवायी मोतीको होटलमा बसीरहेको अवस्थामा अज्ञात व्यक्तिहरुबाट मरणासन्न हुने गरी हतियार प्रयोग गरी कुटपिट गरी भागेको भोलीपल्ट बिहान उहाँका दाजु यम बहादुर कुवँरले घरबाट होटलमा आउँदा भाई मोतीलाई गम्भिर र अचेत रक्ताम्य अवस्थामा फेला पार्नुभएको थियो । तत्कालै सुरक्षा निकायलाई खबर गरी छिमेकीको सहयोगमा उपचारका लागि अस्पताल ल्याउँदा अस्पतालले मृत घोषणा गरेको थियो । होटल व्यवसायी मोतीको हत्याबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।