कांग्रेस महामन्त्री डा. कोइरालालाई कोरोना
‘मलाई कोरोना भएको छ तर स्वास्थ्यमा समस्या छैन’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले कोरोनाभाइरस संक्रमण भएको छ । मंगलबार आएको स्वाब परीक्षण रिपोर्टले कोरोना संक्रमण पुष्टि भएको डा. कोइरालाले बताएका छन् ।
चिकित्सकको सल्लाहअनुसार आफू होम आइसोलेसनमा बसेको जानकारी दिँदै डा. कोइरालाले हाल आफूलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या नदेखिएको बताएका छन् ।
‘डा. कोइरालाले आफूसँग प्रत्यक्ष सम्पर्कमा आएका सम्पूर्णमा सजगता अपनाउन अनुरोध पनि गरेका छन् । सोमबार ज्वरो आएपछि कोइरालाको ह्याम्स अस्पतालमा स्वाब परीक्षण गरिएको थियो । कोइरालाका सहयोगी भरत तिवारीका अनुसार कोइरालामा मंगलबार ज्वरो घटिसकेको छ। डा. कोइराला सिटामल खाएर आराम गरिरहनुभएको बताइएको छ ।