जातीय विभेद मुद्दाको जिल्ला अदालत गुल्मीले फैसला
गुल्मी भदौ २६÷ गुल्मीको कालीगण्डकी गाउँपालिका फोक्सिङमा भएको जातीय विभेद मुद्दाको जिल्ला अदालत गुल्मीले फैसला सुनाएको छ। माननीय जिल्ला न्यायधीश राधाकृष्ण उप्रेतीको इजलासले छुवाछुत र जातीय विभेदको जाहेरी दर्ता गरेको करिब २ महिना पछि फैसला सुनाएको छ।
अदालतले जातीय तथा अन्य सामाजिक छुवाछुत र भेद्भाव (कसुर सजाय) ऐन २०६८ को दफा ४(२)को खण्ड (क) र (ख) को कसुर अपराधमा सोही ऐनको दफा ७(१)क बमोजिम पीडक कालीगण्डकी गाउँपालिका–५फोक्सिङ नुनथलाका नेत्र बहादुर काउछालाई ३ महिना कैद र रु ५० हजार जरिवाना गरेको छ।
सोही ऐनको दफा ९(१) बमोजिम निज प्रतिवादी काउछबाट पीडित जाहेरवाला कालीगण्डकी गाउँपालिका–५ फोक्सिङ देउरालीका पीडित श्याम बहादुर नेपालीले रु १० हजार पाउने ठहर गरेको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार उप–सचिव भीमप्रसाद भुसालले जानकारी दिनुभयो।
साथै प्रतिवादी काउछाबाट अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१ (ङ) बमोजिम क्षेतिपूर्ति बापत रु दुई सय क्षेतिपूर्ति शुल्क कोषमा जम्मा गराउने समेत अदालतले फैसला सुनाएको श्रेस्तेदार उप–सचिव भुसालले जानकारी दिनुभयो।
घटना यस्तो थियो !
जिल्लाको कालीगण्डकी गाउँपालिका–५ फोक्सिङका दलित समुदायका श्याम बहादुर नेपालीलाई सोहीस्थानका गैरदलित नेत्र बहादुर काउछाको घरमा पसेको भन्दै स्थानीय बसेर जरिवाना तीराइ काउछको घर चोख्याएका थिए।
नेपाली आफ्नो हजुरआमाको मृत्यु भएपछि शव दाहसंस्कार गरि फर्कने क्रममा ठूलो हावा हुरि, असिनापानी परे पछि बाटोमा बनाउँदै गरेको नेत्र बहादुर काउछाको घरमा ओत लागेका थिए।
साथमा रहेका अरु घर भित्र नै ओत लागे पनि श्याम भने पिढीको छेउमा ओत लागेका थिए। दलितले ठुलो जातको घर छोएको र घरभित्र पसेको भन्दै श्याम परियार र उनका बुवा धनबहादुर परियारलाइ समेत हातपात गरेका थिए।
भोलिपल्ट दलित ठुलो जातको घरमा पसेको भनी स्थानीय बसि १५ सय श्याम नेपालीलाई जरिवाना गरि घर चोख्याएका थिए। त्यस घटनाको देश भरीबाट चर्को आलोचना र विरोध समेत भएको थियो।
उक्त घटनाका पीडक काउछा विरुद्ध जातीय भेदभाव तथा छुवाछूत, कसुर र सजाय, ऐन अनुसार जाहेरी दर्ता भएको थियोे। त्यस मुद्दाको करिब २ महिनापछि जिल्ला अदालत गुल्मीले फैसला सुनाएको हो।