खतिवडालाई अर्थमन्त्रीमा दोहोर्याउन गौतमलाई फकाउँदै प्रम ओली
काठमाडौं । वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान मिल्छ कि मिल्दैन भन्ने विषयमा सत्तारुढ दलभित्रै विवाद देखिएको छ । उनलाई मनोनयन गर्ने निर्णयले प्रम केपी ओलीलाई धक्का लाग्न सक्ने कतिपयको विश्लेषण छ । आफ्ना विश्वासपात्र मानिएका डा. युवराज खतिवडालाई पुनः सांसद बनाएर अर्थमन्त्रीको जिम्मेवारी दिन प्रधानमन्त्री इच्छुक देखिएपनि पार्टीभित्रको दवावले उनी समस्यामा परेका छन् ।
फागुन १४ गते बसेको सचिवालय वैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्नुपर्ने सिफारिस गरेको थियो । त्यो बेला ओलीले सचिवालय वैठकको विरोधमा अभिव्यक्ति दिएकाले विवादमा परेका थिए । तर भदौ १८ गते बसेको सचिवालय वैठकमा ओली आफैले गौतमलाई राष्ट्रिय सभा सदस्यमा लैजाने प्रस्ताव गरेका थिए । वैठकले उनको प्रस्ताव पारित गरिसकेको छ । तर पनि मन्त्रिपरिषदले निर्णय गरेर राष्ट्रपति समक्ष सिफारिस गर्नुपर्ने काम हालसम्म हुन सकेको छैन ।
उपाध्यक्ष गौतमलाई पार्टी निर्णय अनुसार राष्ट्रिय सभामा लैजादा उनलाई इन्साफ हुने कतिपय नेताहरुले बताएका छन् । तर राष्ट्रिय सभा जस्तो गरिमामय संस्थालाई चुनाव हारेका व्यक्तिहरुको संग्रहालय बनाउन नहुने पार्टीका कैयन् नेताको तर्क छ । गौतमलाई मनोनयन गर्ने मसी सुक्न नपाउँदै केपी ओलीले विगतमा पनि माधव नेपाललगायतका नेतासँग वामदेव गौैतमलाई राष्ट्रिय सभामा लैजान नसकिने तर्क गरेका थिए ।
अहिले आएर ओली आफैले राष्ट्रिय सभाको सदस्य बनाउने प्रस्ताव गरेपनि अझै पनि रोक्ने पक्षमा उनी रहेको स्रोतको दावी छ । गौतमलाई राष्ट्रिय सभा सदस्य बन्नुभन्दा आउँदो चुनावमा प्रतिनिधिसभामा जितेर प्रधानमन्त्री हुने बाटो पर्खिन ओलीले आश्वासन दिएको पार्टी निकट स्रोतले जनाएको छ । ओलीले गौतमलाई राष्ट्रिय सभामा नगए दुई वटा मन्त्रीको कोटा दिने आश्वासन दिएको बुझिएको छ ।
नेकपाभित्र देखिएको विवादका कैयन् कारण मध्ये गौतमको मनोनयन एउटा प्रमुख कारण मानिन्छ । पार्टीका गतिविधिलाई सुक्ष्मरुपले हेरिरहेका केही नेताहरु तत्काल गर्नुपर्ने निर्णयमा आलटाल गरेर अध्यक्ष तथा प्रम ओलीले पार्टीलाई कमजोर बनाइरहेको आरोप पनि लगाइरहेका छन् । यसअघि सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि अग्निप्रसाद सापकोटालाई सभामुख बनाउन ओलीले आलटाल गर्दा विवाद भएको थियो । उनी सभामुख पदमा सुवास नेम्वाङलाई ल्याउन चाहन्थे ।
अर्थतन्त्रका ज्ञाता मानिएका डा. खतिवडालाई धेरैले असफल अर्थमन्त्रीको ट्याग लगाएका छन् । तर अर्थविद्हरु भन्छन्, उनले देशको अर्थतन्त्रलाई केही बलियो बनाउने काम भने गरेको स्वीकार्छन् । जसले जे भने पनि २०७४ फागुनमा पहिलोपटक अर्थमन्त्री बनेका खतिवडाले मुलुकको अर्थतन्त्रलाई राम्रैसँग चलायमान बनाए । यसअघि मुलुकको अर्थतन्त्र बेढंगले संचालन हुँदै आइरहेको थियो । त्यसलाई उनले ट्रयाकमा ल्याउने काम सफलतापूर्वक गरेर देखाइदिएका छन् ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र नेपाल राष्ट्र बैंकको गभर्नर भएर काम गर्दा पनि उनले नेपालको अर्थतन्त्रलाई सही गतिमा हिंडाउन खोज्दा व्यापारीबाट व्यापक बिरोध भएको थियो । उनी अर्थमन्त्री हुँदा पनि उनको विरोध हुनुमा सत्तारुढ दलका कार्यकर्ताको फर्माइस पूरा नगर्नु र व्यापारीहरुको कर छली रोक्नु, जग्गा दलालदेखि शेयर दलालअनुकुल निर्णय नहुनु नै हो ।
डा. खतिवडा पुनः अर्थमन्त्री हुने सम्भावना टरेको छैन । त्यही भएर विभिन्न कालाबजारीया, करमारा व्यापारी, रातारात रोडपतिबाट करोडपति बन्ने सपना देख्नेहरुले विभिन्न सञ्चारमाध्यमहरुलाई प्रभावमा पारेर खतिवडाको विज्ञतामा प्रश्न उठाइरहेका छन् । उनले गरेका राम्रा कामलाई पनि ओझेलमा पार्ने गरी प्रचारप्रसार गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्र खतिवडालाई सकेसम्म अर्थमन्त्री नै बनाउने र त्यो सम्भव नभए मन्त्रीसरहको सुविधा दिएर आर्थिक सल्लाहकार बनाउने रणनीतिमा रहेको खबरले केही व्यापारी र माफियाहरु निदहराम भएका छन् । त्यसैले उनीहरु खतिवडालाई खुइल्याउन विभिन्न प्रपञ्च रचिरहेका छन् । तर प्रधानमन्त्री ओली आफूले विश्वास गरेका मानिसविरुद्ध जति नै विरोध भएपनि त्यसका पछि लाग्दैनन् भन्ने उदाहरण धेरै छन् ।