भौगोलिक जटीलताले काम गर्न अलि कठिनाई परेको अवस्था छ

- मोहन प्रसाद निरौला, प्रमुख प्रशासकीय अधिकृत, भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोक


सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत हुन् मोहन प्रसाद निरौला । शुरुमा यहाँ सरुवा भएर आउँदा एक महिना पनि काम गर्न सकिएला जस्तो लागेको थिएन । तर यहाँका जनताको माया र यसैगरी जनप्रतिनिधीहरुको सरसहयोग र सद्भावका कारण काम गर्न उत्साहित र हौसला मिलिरहेको बताउँछन् उनी । जसका कारण बिकास निर्माणलगायत, खानेपानी, स्वास्थ्य र शिक्षाको अवस्थामा निरन्तर सुधार भइरहेको छ । भुगोलको जटीलताको कारण सोचेअनुरुप काम गर्न कठिनाई परेको उनको दुखेसो रहेको छ । यस गाउँपालिकाको मुख्य आम्दानीको श्रोत भनेको व्यापार नै हो । यस गाउँपालीकाको सीमाना छिमेकीमुलुक चीनसँग जोडिएकोले पनि चीनतर्फबाट नेपालमा हुँदै आएको व्यापार नै यहाँका मानिसहरुको मुख्य आम्दानीको श्रोत रहेको उनको दावी छ । यिनै समसामयिक बिषयमा केन्द्रित रहेर निरौलासँग रेसुङ्गा टुडे साप्ताहिकका लागि लक्ष्मी बोहोराले गरेको कुराकानीको मुख्य अंश ः
तपाईं यस गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदको जिम्मेवारीमा कार्यरत हुनुहुन्छ, यो ठाउँको सेवा गर्ने अवसर पाउँदा यहाँलाई कस्तो महसुस भएको छ ?
नेपाल जब संघीय शासन पद्धतिमा गयो, त्यस पश्चात तीन प्रकारका सरकारको परिकल्पना गरियो । तीनै तहको सरकार गठन गर्ने प्रक्रिया शुरु पनि भयो । धेरै लामो समयसम्म जनप्रतिनिधिविहिन स्थानिय निकायमा संघीयताको सुरुवात संगै गाउँपालिकामा रहेर काम गर्ने मौका हामी कर्मचारीलाई प्राप्त भयो । नेपाल सरकार , स्थानिय नागरिकहरु ,राजनीतिक दलहरु र सबैको प्रतिफल स्वरुप प्राप्त भएको संघीयतामा आमजनताको सेवा गर्ने अवसर हामीलाई भयो यो अवसर दिने आमनागरकिलाई हार्दिक धन्यवाद तथा व्यक्तिगतरुपमा कृतज्ञता व्यक्त गर्दछु ।
यस भोटेकोशी गाउँपालिकाको भौगोलिक अवस्थाको बारेमा केही कुरा बताई दिनुहोस् न ?
भोटेकोसी गाउँपालिका बाग्मती प्रदेश अन्तर्गत सिन्धूपाल्चोक जिल्लाको उत्तरी सिमा हिमालसम्म जोडिएको छ । यहाँको कुल जनसंख्या १७ हजार १सय ५६ र जम्मा क्षेत्रफल २७८.३१ वर्ग कि.मि. रहेको छ । यो गाउँपालिका उत्तरी सिमानामा पर्छ । र सामाजिक महत्व बोकेको गाउँपालिका पनि हो । किनकी यस गाउँपालिकाले सामाजिक महत्व बोकेर नेपाल र चीन बिचको सम्बन्ध सेतु अथवा सडक सञ्जाल सम्बन्धको काम गर्दछ । यसले नेपाल र चीन विचको व्यापारिक मार्गको रुपमा सहजिकरण गरेको छ । यो विकट गाउँपालिकाको रुपमा रहेको छ । यस गाउँपालिकाको चित्रण यसरी गर्न सकिन्छ । यो भोटेकोशी गाउँपालिका सिन्धूपाल्चोक जिल्लाको ९ वटा गाउँपालिका मध्येमा एक हो । यस गाउँपालिकामा साविकका चार ओटा र हाल पाँच ओटा वडाहरु रहेका छन् । जस अन्तर्गत तातोपानीलाई २ र ३ मा विभाजन गरिएको छ भने फुल्पिङ्गकट्टी, लिस्ती, मार्मिङ गाविसहरु साविक भई हाल पाँच वटा वडा कार्यालयहरु मिलेर बनेको छ ।
भोटेकोशी गाउँपालिकाको नाम रहनुको अर्थ के हो ?
भोटेकोशी गाउँपालिका रहनु भन्दा अगाडी यसलाई विभिन्न किसिमका नाम राख्ने जस्तै लिस्ती, तातोपानी गाउँपालिका राख्ने भनिएको थियो । यस गाउँपालिकालाई कुन नामबाट नामाकरण गर्ने भन्ने विषयमा राजनीति दल र यहाँका जनप्रतिनिधि विच वृहत छलफल भएता पनि चाईना हुँदै बगेर आएको भोटेकोशी नदीलाई आधार मानेर भोटेकोशी नाम राख्न सकियो भने सबैको अपनत्व हुन्छ र सबै गाउँपालिकालाई समेटिन्छ भनेर यसको नाम भोटेकोशी गाउँपालिका रहन गयो ।
यस गाउँपालिकामा खानेपानीको व्यवस्था कस्तो रहेको छ ?
भोटेकोशी गाउँपालिका जलश्रोतको अभाव नभएको ठाउँको रुपमा लिन सकिन्छ । यस ठाउँमा घर–घरमा खानेपानीको मुहान छ भन्न मिल्छ । यद्यपी यस गाउँपालिका भित्र खानेपानीका लागि विभिन्न संघ संस्था र गाउँपालिकालगायतका यस भित्र रहेका विस्थापित गाविस हुँदै प्रत्येक घरमा एक घर एक धाराको व्यवस्था रहेको थियो । हाल २०७२ सालको भूकम्प पछि पानीका मुहान सुक्ने र साविक मुहानहरु विलाएर जाने भएको कारणले गर्दा द्धारीका फाउन्डेसन, सिर्जनसिल समूह तथा विभिन्न संस्थाहरुले गाउँपालिका र प्रत्येक वडाहरुमा र सवै नागरिकको घर–घरमा पानीको सुविधा उपब्लध गराएको छ । साथै वर्षाको समयमा चाहीँ पानीको मुहानहरुमा समस्या आउने र बनाएको पूर्वाधार क्षती हुने गरेको छ । केही समयमा नै गाउँपालिकाले व्यवस्था गरेर उनीहरुलाई खानेपानीको व्यवस्था मिलाई दिन आवश्यक हुन्छ । उहाँहरुको माग गाउँबासीहरुले पर्याप्त रुपमा स्वच्छ र सफा खानेपानी उपभोग गरिरहन पाउँ भन्ने रहेको छ । किनकि गाउँपालिकामा रहेको युवा जनशक्ति, जनप्रतिनिधिहरु र गाउँबासीहरुको लागि गास, बास र कपासलाई मुख्य केन्द्रमा राखेर काम गरिरहेका छौं ।
यस गाउँपालिकाले कृषिमा के –कस्तो काम गर्ने योजना बनाएको छ ?
भोटेकोशी गाउँपालिका विकट भौगोलिक क्षेत्र भएको हुनाले खेती हुने जग्गा अति नै कम छ । कृषि क्षेत्रको विकास गर्न गाउँपालिकाले नीति तथा कार्यक्रममार्फत खेतीयोग्य जस्तै किवी, ओखर, टिमुर लगायतका यो क्षेत्रको अनुकुल सुहाउँदा बालीनाली हुन् । यस्तै फलफुलहरु धेरै छन् । यस्ता जात र किसिमका कार्यक्रमलाई प्रवद्र्धन गर्ने नीति अगाडि सारेको छ । त्यस्तै गरी उनीहरुको हौसला स्वरुप गाउँपालिकाले कुषकहरुलाई अनुदानको पनि व्यवस्था गरेको छ । जस्तै कृषि व्यवसाय गर्न चाहने कुषकलाई ७५ प्रतिशत, कोही लाई २५ प्रतिशत अनुदान दिईएको छ । अनुदान दिँदा गाउँपालिकाले सूचना प्रकाशन गरी वार्षिक बजेटको पुस्तिकाको दायरामा रहेर क–कस्ले खेती गर्न चाहन्छ त्यसलाई दिईन्छ । जस्तै एउटा किवि विरुवाको दुई सय रुपैया पर्छ भने गाउँपालिकाले त्यस विरुवालाई १ सय ५० मा उपलब्ध गराउँछ । जस्तै ओखरका विरुवा, फलफुलको विरुवा, सागसब्जीको विरुवाहरुमा पनि गाउँपालिकाले अनुदान दिईरहेको छ । जस्तै लिस्ती, फुलपिङकट्टी र तातोपानीको माथिल्लो भेगहरुमा आलु पर्याप्त मात्रामा हुन्छ । आलुको सिजन अहिले नै भएकोले बाटोको कारणले गर्दा किसानहरुलाई बोकेर तल राजमार्गसम्म ल्याउन पनि धेरै समस्या परेको छ । तरपनि त्यस ठाउँमा उत्पादन भएको आलुको व्यवस्थापन र खपत त्यही भएको पाइएको छ । यसमा गाउँपालिकाले पनि सहकार्य गरेको छ ।
यस गाउँपालिकामा कुन जातजातिका मानिसहरुको बसोबास रही आएको छ ?
भोटेकोशी गाउँपालिकामा बढी शेर्पा जातिको बाहुल्यता रहेको छ । त्यसैगरी क्षेत्री, तामाङ, दलित जातीहरुको पनि बसोबास रहेको छ भने उल्लेखनीय रुपमा शेर्पा र लामाजातीको बढी मात्रामा बसोबास रहेको छ ।
यस गाउँपालिकाको स्वास्थ्य र शिक्षाको अवस्था कस्तो रहेको छ ?
यस गाउँपालिका एक व्यापारिक गाउँपालिकाको रुपमा चिनिन्छ । तातोपानी सुख्खाबन्दरगाह यसै गाउँपालिका भित्र रहेको कारणले गर्दा मानिसहरु शिक्षामा भन्दा पनि बढी व्यापारमा केन्द्रित भएको पाईन्छ । शिक्षामा हेर्दा सिन्धुपाल्चोक जिल्लालाई नेपालको पहिलो साक्षर जिल्ला भनेर चिनिएता पनि यस भोटेकोशी गाउँपालिकाको अवस्था भने अलि फरक छ । मानिसले जसोतसो एसईई गर्ने र बढी भए प्लस टू गर्ने र त्यसपछि चीनतर्फ गएर भारी बोक्ने र दैनिक रुपमा तीन चार हजार कमाउँदै आएका छन् । यसरी दैनिक रुपमा आम्दानी गर्ने भएकाले शिक्षा क्षेत्रमा यो गाउँपालिका अलि पछाडि परेको छ । शिक्षाको हिसाबले हेर्दा भोटेकोशी गाउँपालिकामा ३५ प्रतिशत मात्र साक्षरता देखिन्छ । यस गाउँपालिकामा विद्यालयको संख्या २९ वटाजति रहेको छ । विद्यालयको संरचना पूर्वाधार मात्र ठूलो कुरा होइन, त्यहाँको विद्यालयको स्थिति कस्तो छ र कति विद्याथीले अध्ययन गर्दछन् भन्ने ठूलो कुरा हो । भोटेकोशी गाउँपालिकामा ६ ओटा सामुदायिक स्वास्थ्य इकाइ रहेको छ भने ५ ओटा स्वास्थ्य चौकी रहेका छन् । ती स्वास्थ्य इकाइ र स्वास्थ्य चौकीमार्फत जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउन यस भोटेकाशी गाउँपालिकाले पहिलो प्रथामिकतामा राखेको छ । संघीयता पश्चात यस गाउँपालिका र जनप्रतिनिधि निर्वाचित भएर आएपछि यहाँका नागरिकलाई घर घरमा स्वास्थ्यको सेवा पु¥याउनु पर्छ भन्ने मान्यतालाई आधार मानेर सामुदायिक स्वास्थ्य केन्द्रको स्थापना भयो । यी सामुदायिक स्वास्थ्यमार्फत र स्वास्थ्य केन्द्रहरु मार्फत आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराएको छ । यस गाउँपालिका भित्र रहेका सबै वडाहरुमा स्वास्थ्यको पहुँच पुगेको छ । र सबै स्वास्थ्य सेवाहरुका लागि नेपाल सरकारबाट आएको दरबन्दीबाट सेवाग्राहीहरुले भनेको जस्तो सेवा नपाएपछि गाउँपालिकाले तोकिएको दरबन्दी सिर्जना गरेर ६ ओटा वडाको स्वास्थ्य चोकी र स्वास्थ्य इकाइहरुमा कर्मचारी परिचालन गरेको छ ।
यस गाउँपालिकाको आम्दानीका मुख्य स्रोतहरु के–के हुन् ?
यस गाउँपालिकाको आम्दानीको स्रोत भन्नुपर्दा जलविद्युत त्यसैगरी जडिवुटी, यहाँ भएको फलफुल, कृिष व्यवसायअन्तर्गत आलु र किवि फल नै मुख्य हो । यसैगरी मुख्य आम्दानी भन्नु पर्दा चीन संगको व्यापारलाई नै यस गाउँपालिकाको आम्दानीको मुख्य स्रोतको रुपमा मानिन्छ ।
कोभिड १९ को महामारी विश्वव्यापी रुपमा फैलिएको छ । यस गाउँपालिकाको स्थिति कस्तो छ । यसलाई नियन्त्रण गर्न के कस्तो योजना बनाउनु भएको छ ?
कोरोना महामारी अहिले विश्वव्यापी रुपमा फैलिएको रोग हो । यो रोग फैलिदै गर्दा हामी पनि यो रोगबाट अछुतो छैनौ । सरकारले पनि यस कोरोना रोगलाई निर्मूल गर्ने भरपुर प्रयास गरिरहेको छ । यो गाउँपालिकाले कोरोना नियन्त्रण गर्नुपर्छ भनेर सिमानामा स्वास्थ्य होल्डिङको व्यवस्थापन गरिएको छ । त्यस ठाउँमा प्रहरी र स्वास्थ्यकर्मीलाई राखेर बाहिरबाट आउने र जाने आवागमनलाई व्यवस्थित गरेको छ । त्यसैगरी गाउँपालिका भित्र १८ वेडको क्वारेन्टाइन निर्माण गरिएको छ । आईसोलेसन रुममा पर्याप्त स्वास्थयकर्मी नभएको कारणले गर्दा यसको व्यवस्थापन राम्रोसँग गर्न सकेको छैन । कोरोना के हो भन्ने कुरा विश्वलाई नै थाहा नभएको बेला यस गाउँपालिकाले साधारण जनचेतनामूलक कार्यक्रम, विदेश र अन्य ठाउँबाट आउने व्यक्तिलाई क्वारेन्टाइनमा १४ दिन राखेर पिसिआर गरेर उनीहरु सुरक्षित भएको अर्थात कोरोना संक्रमित नभएको भन्ने एकिन भएपछि मात्र घर पठाईन्छ । जसले गर्दा कोरोना सर्ने दरलाई कम गरेको छ ।
अन्तमा गाउँवासीहरुलाई के भन्न चाहनुहुन्छ ?
म यस भोटेकोशी गाउँपालिकामा आएर गाउँबासीहरुको सेवामा लागेको १८ महिना भएको छ । शुरुमा यस ठाउँमा प्रवेश गर्दा अलि डरलाग्दो भूगोल भयो र बाह्रविसेबाट आउँदै गर्दा दायाँ र बायाँ पहिरो मात्र देखियो । भोटेकोशी नदीको किनारै किनार जाँदा र आउँदा यो गाउँपालिकामा एक महिना पनि बस्न कठिन हुन्छ जस्तो लाग्थ्यो तर गाउँबासीको उत्साह र उमंगले गर्दा केही गर्नु पर्छ भन्ने भावना जगायो । जसका कारणले गर्दा यस गाउँपालिकालाई एक कुशल प्रशासकको आवश्यकता छ भन्ने लागेर काम गरिरहेको छु । गाउँपालिकाको लागि कुशल नेतृत्व दिन अध्यक्षज्यूले पहल गर्नुभएको छ । केही कामहरु पुरा भइसकेका छन् भने केही हुन बाँकी रहेका छन् । हामीले तर्जुमा गरेको योजना र ती काम पुरा भएमा यस गाउँपालिकाको उन्नती र प्रगती छिट्टै हुने अपेक्षा गर्न सकिन्छ ।