समृद्ध गाउँपालिका बनाउन आवश्यक पर्ने ऐन र पूर्वाधारको जग बसालेका छौं
हामी निर्वाचित भएर आए सँगै बिकास निमार्णसँग सम्वन्धित र आवश्यक ऐन, नियम र कार्यबिधि तयार गर्नमा नै हाम्रो बढी ध्यान केन्द्रित गरायौ । समग्र गाउँपालिकाको १५ बर्षे गुरुयोजना तयार पारेर यसैको जगमा टेकेर पाँच बर्षे आवधिक र बार्षिक योजना तयार गर्दै बिकास निर्माणका कामलाई अगाडि बढाइरहेका छौं । यस गाउँपालिकामा कुल १२ वटा वडाहरु रहेका छन् । यी सवै वडाहरुलाई सडक सञ्जालसँग जोड्न सफल भएका छौं । हामी निर्वाचित भएर आएपछि नै यी सवै काम भएका हुन् । हालसम्म यो गाउँपालिकामा साढे दुई सय भन्दा बढी किलोमिटर सडक निर्माण भइसकेको दावी उनको रहेको छ । बिकास निर्माण, खानेपानी, बिद्युत, सडक, सिंचाई र कृषिलगायत समग्र बिषयमा केन्द्रित रहेर रेसुङ्गा टुडे साप्ताहिकले इन्द्रावती गाउँपालिकाका प्रमुख तामाङसँग गरेको कुराकानीको मुख्य अंश ः
यस गाउँपालिकाको निर्वाचित अध्यक्ष भएपछि तपाईंले गर्नुभएको मुख्य कामका बारेमा बताईदिनुहोस् न ?
हामी जनप्रतिनिधीहरु निर्वाचित भएको ३ बर्ष पुगेर चार बर्ष बित्न लागिसकेको छ । यस बिचमा हामीले थुप्रै र व्यापक रुपमा बिकास निर्माण लगायतका भौतिक, सामाजिक काम गरेका छौं । हामीले यस गाउँपालिकाको बिकासको लागि योजनाबद्ध रुपमा बिकासको जग बसाल्न सकेका छौं । नेपालको संबिधान र त्यसको अनुसुची ८ ले स्थानिय तहलाई दिएको २२ वटा अधिकार प्रयोग गरी आवश्यक ऐन र कानुनको निर्माण गरेका छौं । यसैगरी संस्थागत र सुशासनमैत्री गाउँपालिका बनाउने भनेर लागि परेका छौं । त्यही अनुरुप गाउँपालिकाको लागि आवश्यक ऐन, कानुन र कार्यबिधिहरु बनाउने काम अहिले सकिइसकेको अवस्था छ । यसका लागि हामीले बेसलाइन सर्बेक्षण गर्यौं । यसपछि गाउँपालिकाको अवस्थिति पत्ता लगायौं । त्यसपछि हामीले आवधिक योजना बनायौं । सँगसँगै १५ बर्षे गुरु योजना पनि तयार पार्यौं र यसैको जगमा टेकेर पाँचबर्षे आवधिक योजना पनि सँगसँगै बनाएका छौं । आर्थिक वर्ष ०७६–०७७ लाई आधार वर्ष मानेर पाँचबर्षे योजना बनायौं । यी भए संस्थागत र शुसासनमा केन्द्रित भएर गरेका मुख्य कामहरु ।
बार्षिक कार्ययोजना चाँही बनाउनु भएको छैन ?
आवधिक योजनामा टेकेर हामीले बार्षिक कार्य योजना पनि तर्जुमा गरेका छौं । बार्षिक योजनामा आवधिक योजनाले निर्देशन गरेबमोजिम हामीले काम शुरु गर्नुभन्दा अगाडि गाउँपालिका कहाँ र कुन अवस्थामा थियो । पाँच वर्ष भित्रमा हामीले के के गर्न सकिन्छ र हामीले बनाएको १५ वर्षे गुरुयोजना सफल पार्नको लागि बनाएको कार्य योजनालाई के कसरी सफल पार्न सकिन्छ भनेर हामीले बिभिन्न इन्डिकेटरहरु पनि तयार पारेका छौं । अब हामीले तयार गरेको आवधिक र बार्षिक योजनालाई भौतिक योजनामार्फत कार्यान्वयनमा लैजान जरुरी थियो । भुकम्पका कारण बढी थिलथिलो भएको यो जिल्लाको लागि आवश्यक काम भनेको सडक नै पहिलो प्राथमिकता रहेको थियो । बिकासको आधार भनेको सडकको पहँुच नै पहिलो खुड्किलो हो ।
यो गाउँपालिका भित्र हाल कति किलोमिटर सडक निर्माण भएको छ ?
यस गाउँपालिका भित्र रहेको १२ वटै वडामा सार्वजनिक सडक पुर्याउने काम सम्पन्न भइसकेको छ । साथै हामीले सडक निर्माणको लागि मापदण्ड पनि तोकेका छौं । हामी निर्वाचित भएर आएपछि नै यो गाउँपालिका भित्र २ सय ६२ किलोमिटर सडक बनेको छ । हाइवेदेखि गाउँपालिका र वडा देखि वडा जोड्ने गरी सडक निर्माण भएको छ । कम्तिमा ४ मिटर देखि १५ मिटरसम्म चौडाईको मापदण्ड निर्धारण गरेका छौं । यही मापदण्डअनुसारकै सडक निर्माण गर्ने काम भइरहेको छ । जस्तो बाउन्नेपाटी आँपचौर, बेतिनी तीनघरे आँपचौर, बाउन्नेपाटी ऐसेलुखर्क, सीपाघाट ज्यामिरेपानी नवलपुर, आँपचौर, सीपाघाट काभ्रे । यी चारवटा मुख्य बाटोलाई गाउँपालिकाको मुख्य केन्द्र मानेर हामीले काम अगाडि बढाएका छौं । साथै हामीले इन्द्रावती चक्रपथको काम पनि अगाडि बढाएका छौं ।
यो गाउँपालिकामा बिजुली बत्तिको अवस्थाचाहीं कस्तो रहेको छ ?
हामी निर्वार्चित भएर आउँदा यहाँको बिजुलीको अवस्था एकदमै नाजुक रहेको थियो । काठको पोल, सुकेको रुखमा जथाभावी असुरिक्षत तरिकाले लाइन तानेर बत्ति बालिएको अवस्था थियो । हामी आएपछि यसको सर्वे गर्यौं । गाउँपालिका भित्र रहेको अव्यवस्थित काठे पोलको बिस्थापित गरेर सुरक्षित र व्यवस्थित आधुनिक पोल, ट्रान्समिटर र तार के कति रुपमा आवश्यक पर्ने रहेछ भनेर त्यस बारेमा सर्वेको काम अगाडि बढायौं । यसको आधारमा यो चालु आर्थिक बर्षबाटै यो गाउँपालिकालाई काठेपोलबाट मुक्त घोषणा गर्न लागेका छौं । मुख्य बस्तीहरुमा हामीले केवुल पनि जोडीसकेका छौं । अव नाङ्गो तार गाउँपालिका भरी कतै भेटिने छैनन् । हामीले बिद्युतीकरणलाई व्यवस्थित गरी काम सम्पन्न गरेका छौं ।
इन्द्रावती गाउँपालिका भित्र खानेपानीको अवस्था के कस्तो रहेको छ ?
हामी निर्वाचित भएर आउँदा खानेपानीको व्यवस्था नराम्रो मात्र होइन, अस्तव्यस्त नै रहेको थियो । हामी निर्वाचित भएर आएसँगै एक घर एक खानेपानी धाराको अभियान शुरु गर्यौं । मुहानदेखि मुखसम्म नै खानेपानी सफासँगै शुद्धता पनि हुनुपर्छ भन्ने मान्याताका साथ यो कामको थालनी गर्यौं । खानेपानी योजना सँगसँगै शुद्धता र सरसफाइलाई पनि उत्तिकै ध्यान दिएर काम अगाडि बढाएका छौं । हाम्रो ५ वर्षे कार्यकाल भित्रमा नै ८० प्रतिशत जनताको घर घरमा खानेपानीको धारा पुग्ने गरी योजना तयार गरेका छौं । यो आ.व. भित्रमा १५ सय घरधुरीमा खानेपानीको सेवा उपलव्ध भइसक्नेछ । संघीय सरकारसँग सहकार्य गरेर ४२ सय घरधुरीलाई समेट्ने गरी बृहत् इन्द्रावती खानेपानी आयोजना निर्माणको लागि सार्वजनिक रुपमा टेण्डर आव्हान भइसकेको छ । यो आ.व.मा काम शुरु भएर अर्को आ.व. भित्र काम सम्पन्न गर्नेगरी प्रक्रिया अगाडि बढाइएको छ ।
तपाईको यस गाउँपालिका भित्र घरधुरी संख्या के कति रहेको छ ?
०६८ सालको जनगणना अनुसार यस गाउँपालिकामा कुल घरधुरी संख्या ६ हजार २ सय ६२ रहेको छ । तर २०७२ सालमा गएको भुकम्प पछि धेरै र थप घरहरु बनेका छन् । हाल यो बढेर ७३ सय पुगेको छ ।
कृषि र सिंचाई क्षेत्रको बारेमा पनि केही कुरा बताइदिनुहोस् न ?
कृषि सँगसँगै सिंचाई पनि जोडिएर आउँछ । हामीले एक घर एक करेसाबारी अभियान पनि अगाडि बढाएका छौं । त्यसैगरी एक घर बरावर ५ बिरुवा अभियान पनि चलाएका छौं । तरकारीको लागि निःशुल्क रुपमा बिरुवा बितरण गरिरहेका छौं । एक वडा एक उत्पादन अभियान पनि संचालन गर्न गइरहेको र्छौ । यसमध्ये वडा नम्वर १०–१२ सम्म जग्गाको चक्लाबन्दी गरेर सामुहिक खेती अभियान शुरु गरेका छौं । साथसाथै हामीले सामुहिक खेतीलाई प्रबिधिमैत्री बनाएका छौं । फरक फरक किसानले फरक फरक बाली लगाउँदा बालीमा बिबिधीकरण भएर उत्पादन पनि राम्रो हुने भएकोले यसतर्फ जोड दिएका छौं । यसका लागि प्रदेश सरकार र स्थानिय निकाय मिलेर चक्लाबन्दीका साथै सामुहिक खेती अभियान संचालन गरेका छौं । जसका कारण उत्पादन र उत्पादकत्व बढ्नुका साथै यसबाट किसानले मनग्गे फाइदा लिनसक्ने अवस्था छ ।
किसानले लगाएको बालीनालीमा जंगली जनावरले अति नै दुःख दिएको र बाली जोगाउन मुस्किल परेको जनगुनासो बेस्सरी आइरहेका छन् । यसतर्फ के कति रुपमा तपाईहरुको ध्यान गइरहेको छ ?
तपाईले सही प्रश्न गर्नुभयो । किसानहरुले लगाएको बालीनालीमा जंगली जनावरहरुले अति नै दुःख दिएर किसानहरु हैरानमा परेका छन् । यो कुरालाई मध्यनजर गर्दै स्याङ्जा जिल्लामा एकजना ब्यक्तिले आविस्कार गरेको प्लास्टिकको बन्दुकका बारेमा धेरै कुरा सुन्यौ । त्यसपछि अध्ययन गरेर ल्याउने निश्कर्षमा पुग्यौ र, किनेर ल्याएर किसानलाई बितरण गरेका छौं । १२ वडाका लागि तीन तीन वटाका दरले ३६ वटा बन्दुक निःश्ुाल्क रुपमा बितरण गरेका छौं । यसवाट किसानलाई ठुलो राहत मिलेको छ ।
सिंहदरवारको अधिकार गाउँगाउँमा पुगेको भनिए पनि जनप्रतिनिधिहरुले त्यो अनुभूति आम गाउँबासीले व्यवहारमा महसुस गर्न नसकेको र जनप्रतिनिधिहरुले गाउँगाउँमा डोजर आंतक मच्चाएको आरोप तपाईंहरुमाथि लाग्ने गरेको छ नि ?
यो गलत कुरा हो । मेशीनको प्रयोग कहाँ गर्ने नगर्ने भन्ने कुरा ठाउँ बिशेष र स्थान बिषेशले निर्धारण गर्ने कुरा हुन् । पहाडी जिल्लाको सन्दर्भमा भन्नुपर्दा भुगोलका कारण पनि बिकास निर्माणका काम गर्न र अगाडि बढाउन अत्यन्तै र त्यत्तिकै कठिनाई रहेको छ । गाउँघरमा भएका युवाहरु रोजगारीको लागि बिदेश पलायन भएका छन् । यसकारण जनश्रमदानको पाटो एकदमै सुस्त मात्रै होइन शुन्यमा नै झरेको छ भन्दा फरक पर्दैन ।
०७२ सालमा गएको भुकम्पमा यहाँका धेरै घर भत्किए । पुनर्निर्माण प्राधिकरणले अनुदान दिएर घर बनाउन सहयोग गर्यो । तर घर बनाउने जनशक्तिको अभाव भएर डडेलधुरा, जाजरकोट, दाङ, सल्यानलगायतका जिल्लाबाट जनशक्ति ल्याएर निर्माणको काम अगाडि बढाउनु पर्यो । यसले पनि गाउँघरमा जनशक्तिको अभाव कुन तहमा पुगेको रहेछ भन्ने कुराको पुष्टि गर्दछ । साथसाथै मोटरबाटो, बिकास निर्माणका काम अगाडि बढाउन मेशिनको प्रयोग नगरी हामीलाई मात्र होइन पहाडी जिल्लाका अरु जनप्रतिनिधीहरुलाई पनि सुखै छैन ।
केही जनप्रतिनिधीहरु कन्स्ट्रक्सन पेशामा संलग्न भएकाहरु पनि चुनाव जितेर आउनुभएको छ । त्यो पेशाबाट आएकाहरुसँग त डोजर जेसीवीलगायत मेशीनरी औजारहरु हुने नै भए । गाउँपालिकाले निर्धारण गरेको दर रेटमा ती सामान ‘हायर’ गरेर काम गर्दा त्यो आरोप लगाएका हुन सक्छन् । हामीसँग त यी औजारहरु छैनन् नि ! त्यसकारण उनीहरुसँग भएका मेसीनरी औजार भाडामा प्रयोग गर्नुलाई अन्यथा भयोे जस्तो मलाई लाग्दैन ।