पछिल्लो २४ घण्टामा थपिए १४५९ जना संक्रमित, १०६२ निको, ११ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा संक्रमितको संख्या ५६ हजार ७८८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६२ डिस्चार्ज भएका छन् । यो सहित कोरोना संक्रमणबाट मुक्त हुनेहरुको संख्या ४० हजार ६ सय ३८ जना पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १५७७९ रहेको छ । उनीहरु मध्ये ८ हजार १३९ संस्थागत आइसोलेसनमा र ७ हजार ६४० जना होम आइसोलेसनमा छन् ।
भेन्टिलेर २९ र आईसीयु १७४ जनाको उपचार भइरहेको बताइएको छ । ७१.५ प्रतिशत निको भएको प्रवक्ता गौतमले जानकारी दिएका छन् । आज १० हजार ३७५ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ७ हजार २५० जना रहेको प्रवक्ता गौतमले बताएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ११ संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा सर्लाहीमा ६४ वर्षीय पुरुष, सिरहामा ३५ वर्षीया महिला, बारामा ५५ वर्षीया महिला र ५५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै काठमाडौंमा ६ वर्षीया महिला, ३४, ९६ र ६६ वर्षीय पुरुष, मकवानपुरमा ६१ वर्षीय पुरुष, रुपन्देहीमा ६४ वर्षीया महिला र कपिलवस्तुमा ५८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।