लामो दूरीका सार्वजनिक बस भोलिबाट चलाउन व्यवसायी तयार
काठमाडौं । लामो दूरीका सार्वजनिक यात्रुबाहक बस भोलिबाट सञ्चालन हुने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज १ गतेदेखि लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे अनुसार आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवसायी र मजदुर युनियनबीच भएको छलफलमा व्यवसायी र मजदुरले बस चलाउने विषयमा छलफल भएको थियो । छलफलमा व्यवसायी र मजदुरहरुले सार्वजनिक बस सञ्चालनका लागि आफूहरु तयार रहेको बताएका छन् ।
छलफलमा यातायात व्यवसायीले सरकारको बनाएको स्वास्थ्य मापदण्ड र त्यसको कार्यविधि भोलिसम्म आउनु पर्ने माग गरेका छने । मन्त्रालयले यातायात व्यवस्था विभागलाई असोज १ सम्ममा स्वास्थ्य मापदण्ड र भाडा लगायतको विषयमा मापदण्ड बनाउन निर्देशन दिइसकेको छ ।
मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधामात्रै यात्रु बोक्ने गरी लामो दूरीमा सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको थियो । एक लाइनको सिटमा एक जनामात्रै यात्रु बस्नेगरी सेवा दिनुपर्ने सरकारको निर्णय छ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले व्यवसायीको मागअनुसार नै सबै दूरीका सार्वजनिक सवारी खोलिएकाले सरकारले तोकेका मापदण्ड पालना गरेर सेवामा जान आग्रह गरेका छन् ।
असोज १ गते विश्वकर्मा पुजा भएकाले भोली नै पुजा गरेर बस सञ्चालनका लागि व्यवसायी तथा मजदुरलाई आग्रह गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताएका छन् ।
व्यवसायी र मजदुरबाट मापदण्ड पालना भए÷नभएको अनुगमन गर्ने संयन्त्र पनि बनाइने बताइएको छ ।