जनता समाजवादी पार्टीले संविधान दिवस बहिष्कार गर्ने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संविधान दिवस वहिस्कार गर्ने भएको छ । संविधान जारी भएदेखि नै संशोधनको माग गर्दै आएको सो पार्टीले भोलि संविधान दिवसका अवसरमा पनि आफ्नो मागलाई दोहोर्याउँदै विरोध गर्ने भएको छ।
संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरणलगायतका प्रावधान अधुरो र अपूर्ण रहेको जसपाको आरोप छ ।
संविधानमा विभेदकारी प्रावधान राखिएको उल्लेख गर्दै आएको जसपाले संविधान दिवसमा विरोध गर्ने र विभेदकारी प्रावधान संशोधनका लागि दबाब दिने जनाएको छ। संविधान संशोधनका पक्षमा संविधान दिवसकै दिन (भोलि) शान्तिपूर्ण विरोध गर्ने जसपाले जनाएको छ।
जनताको अभिमतलाई समेत अनादर र उपेक्षा गर्दै सरकारले जनतामाथि दमन र हत्या गरी संविधान जारी भएको जसपाको आरोप छ ।
संविधान विभेदकारी, अधुरो, अपुरो र त्रुटीपूर्ण रहेको जसपाले विज्ञप्तिमा उल्लेख गरेको छ। मधेशी, आदिवासी जनजाति, दलित, शिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यकलगायतका समुदायको मुद्दा सम्बोधन गर्न संविधान संशोधन गर्नुको विकल्प नभएको जसपाले जनाएको छ ।