संविधान दिवसमा गुल्मी कारागारका एक कैदीबन्दी रिहा

संविधान दिवसमा गुल्मी कारागारका एक कैदीबन्दी रिहा भएका छन्। गुल्मी कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका एक जना कैदीबन्दी रिहा भएका हुन्।

शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद मिनाह तथा माफी पाएपछि कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका गुल्मीको सत्यवती गाउँपालिका हसराका वर्ष ३९ का हिरा बहादुर घर्ती रिहा भएका हुन्। घर्तीलाई गुल्मी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा १० वर्षको कैद तोकिएको थियो ।

राष्ट्रपति भण्डारीबाट संविधान दिवसको अवसरमा घर्तीको ४ वर्ष ११ महिनाको कैद भुक्तान माफी भएसँगै रिहा भएको गुल्मी कारागारका जेलर रेस्मीराज पन्थीले जानकारी दिनुभएको छ।
विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका देशभरी दुई सय ८९ जना कैदी बन्दीहरुले राष्ट्रपति भण्डारीबाट कैद मिनाहा तथा माफी पाएका छन् ।
संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ र फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ को व्यवस्था अनुसार कैदीबन्दीको कैद मिनाह गर्न सक्ने व्यवस्था छ । त्यसका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिका लागि सिफारिस गर्नु पर्छ ।