१६ नं. को सम्झनामा गणेशमान

चितवन । भरतपुर १६ का काँग्रेसले पनि शुक्रबार गणेशमान सिंहलाई सम्झिए । नेपाली काँग्रेसका संस्थापक सदस्य तथा जनआन्दोलन २०४६ का कमाण्डर सिंहको आश्विन २ गते स्मृति दिवश थियो । वि.सं १९७२ सालमा जन्मेर २०५४ साल आश्विन २ गते निधन भएका सिंहलाई नेपाली काँग्रेसका नेता कार्यकर्ताले लौहपुरुष र सर्वमान्य नेताका रूपमा सम्मान गर्ने गरेका छन् ।
शुक्रबार कार्कीचोकमा जम्मा भएका काँग्रेसले २३औं स्मृति दिवशको अवसरमा नेता गणेशमानको नाममा कार्कीचोकको बीच बाटोमै दीपप्रज्वलन गरे । कोरोनाको नाममा भएको बन्दाबन्दी र निषेधाज्ञाले काँग्रेसका कैयन् कार्यक्रम रोकिएका थिए । बन्दाबन्दी खुकुलो भएको अवस्थामा गणेशमानको सम्झना भने गोधुलीसाँझमा उत्साहजनक रूपमा गरियो ।
संविधानसभा सदस्य समेत रहनुभएका नेता रामकृष्ण घिमिरेले स्वर्गीय सिंहको राजनीतिक योगदान सदाकालका लागि अविस्मरणीय रहेको स्मरण गर्नुभयो । नेपाली काँग्रेसलाई अहिले पनि गणेशमानजस्ता त्यागी र निष्ठावान नेताको खाँचो रहेको पनि उहाँले औल्याउनु भयो । १६ नं वडाका सभापति तथा कार्यक्रमका अध्यक्ष रामबहादुर बस्नेतले पनि गणेशमानको योगदानको खुलेर प्रशंसा गर्नुभयो । कार्यक्रम १६ नं काँग्रेसका सचिव कुलायनन्द अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा केही जिल्ला नेता र कार्यकर्ता गरी सयौंको उपस्थिति रहेको थियो ।