सत्ताको उन्माद्मा प्रशासन र प्रहरीले पीडितको आवाज दवाउन खोज्ने : सचिव पन्थी

सत्ताको उन्माद्मा प्रशासन र प्रहरीले पीडितहरुको आवाज दवाउन खोज्ने दुष्प्रयास गरेको नेपाली कांग्रेस गुल्मीले बताएको छ। नेपाली कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले एक प्रेस विज्ञप्ती जारी गर्दै अपराधीहरुलाई राजनैतिक दवावमा संरक्षण गर्ने प्रशासन र प्रहरीको यो अन्यायपूर्ण कदम सत्ताको उन्माद र लोकतन्त्रको उपहास भएको ठहर गर्नुभएको छ ।

केही दिन अघि रेसुङ्गा नगरपालिका–१२ को रानीपोखरी निमाविको भवन निर्माणका विषयमा नेकपा र कांग्रेस कार्यकर्ताबीच विवाद चुलिएको थियोे । विवादकै क्रममा नेकपाका कार्यकर्ताले नेपाली काँग्रेस रेसुङ्गा नगरपालिका–१२,उर्लेनीका कोषाध्यक्ष चेहरसिंह टण्डन र सोहि स्थानकै नेपाल तरुण दलका सदस्य अमित बस्नेतलाई गत भाद्र १९ गते गम्भिर घाइते हुनेगरी साङ्गघातिक आक्रमण गरेका कंग्रेसले जनाएको छ ।

१७ दिन बितिसके पनि साङ्गघातिक आक्रमण गर्ने व्यक्तिहरुलाई पक्राउ गरी कारवाही गर्ने तदारुकता प्रहरीबाट नदेखिएको भन्दै सोमबार विरोध शान्तीपुर्ण विरोध प्रर्दशनका लागि नेपाली कांग्रेस जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो ।

कांग्रेसद्वारा भइरहेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीको दमनबाट कांग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ तथा क्षेत्र नं.२ (ख) प्रदेशका सभापति पूर्ण के.सी. घाइते हुनुभएको छ । सचिव पन्थीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा पीडितहरुको आवाज दवाउन खोज्ने दुष्प्रयासले दण्डहिनता र अराजकतालाई मलजल गरेको उल्लेख छ ।
आन्दोलनका क्रममा प्रहरीको दमनबाट घाइते हुनुभएका कंग्रेस गुल्मीका सभापति श्रेष्ठ सहित जिम्मेवार नेताहरुको सिघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुृभएको छ । जिल्लाको शान्ति सुरक्षा व्यवस्थामा फितलो देखिएको प्रशासन एवम् प्रहरीलाई अविलम्व दोषीहरुलाई कारवाही गरी पीडितहरुलाई न्याय दिलाउन जोडदार माग समेत गरिएको छ । अन्यथा न्यायको पक्षमा संघर्षका कार्यक्रमहरु जारी रहने उद्घोष समेत गरिएको छ ।