राष्ट्रिय सम्मानका साथ हिमचितुवाको अन्त्येष्ठी

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको अन्तिम संस्कार गरिएको छ । हिमचितुवाको उपनाम पाएका शेर्पाको सोमबार काठमाडौँको जोरपाटीमा निधन भएका थियो । उनको राष्ट्रिय सम्मानका साथ आज शेर्पा समुदायको परम्पारगत विधि अनुरूप काठमाडौमा अन्त्येष्टि गरिएको हो ।


उनले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गरेका थिए । सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेटेका शेर्पाको त्यो अन्तिम आरोहण थियो । सर्वोच्च शिखर सगरमाथा मात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उहाँले पटकपटक आरोहण गरेका थिए ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हिमचितुवाको नामले परिचित आङ्रिता शेर्पाको निधनले नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् ।
मन्त्री भट्टराईले शेर्पाको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएका सम्मान गरेका छन् । मृतक शेर्पाको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भनी मन्त्री भट्टराईले कामना गरेका छन् ।