उद्योग वाणिज्य महासंघलाई निर्वाचनका लागि अनुमति
नेतृत्वका लागि फेरि दौडधुप शुरु
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको रोकिएको निर्वाचन मंसिर ११ र १२ गते हुने भएको छ ।
निर्वाचनका लागि गृह मन्त्रालयसँग महासंघले अनुमति मागेको थियो । मन्त्रालयले कोभिड १९ सँग सम्बन्धित स्वास्थ्य मापदण्ड पालना गरेर निर्वाचन गर्न अनुमति दिएको छ ।
महासंघको निर्वाचन गत चैत २८ र २९ गते हुनपर्ने थियो कोरोना संक्रमण र त्यसपछि भएको लकडाउनपछि निर्वाचन सरेको थियो ।
निर्वाचन कसरी गर्न सकिन्छ भन्ने विषयमा महासंघले एक अध्ययन कार्यदल नै गठन गरेको थियो । कोरोना संक्रमणको समयमा साधारणसभा भर्चुअल विधिबाट र निर्वाचन भने प्रदेश र केन्द्रमा बाँडफाँट गरेर गर्न सकिने कार्यदलले सुझाव दिएको थियो । सोहीअनुसार सरकारसँग अनुमति माग गरिएको महासंघले जनाएको छ ।
गृह मन्त्रालयले २५ जनाभन्दा बढी भेला नहुने गरी निर्वाचन गर्न अनुमति दिएको छ ।
उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकाल स्वतः अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्षको नेतृत्वमा चुनाव हुने छ । त्यसका लागि दुई वटा प्यानल बनिसकेका छन् । वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानको नेतृत्वमा छुट्टाछुट्टै प्यानल बनिसकेका छन् । उनीहरु नेतृत्व हत्याउन लकडाउनकै बीच पनि दौडथुप गरिरहेकै थिए । अब निर्वाचन मिति निश्चित भएको र लकडाउन पनि अन्त्य भएकाले उनीहरुको दौडधुप अझ बढ्ने निश्चित छ । यसअघि नै चुनावको अन्तिम तयारी भएकाले दुवै प्यानलको घोषणा भइसकेका थिए ।
चन्द्र ढकालको प्यालनबाट जिल्ला तथा नगर तर्फको उपाध्यक्षमा गुणनीधि तिवारी, वस्तुगत तर्पmको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसियट तर्फबाट रामचन्द्र सांघाई रहेका छन् ।
यस्तै, किशोर प्रधान समुहबाट जिल्ला नगरको उपाध्यक्षमा दिनेश श्रेष्ठ रहेका छन् । यस्तै एशोसियटमा सौरभ ज्योति र वस्तुगतको उपाध्यक्षमा अन्जन श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका छन् ।