कहिलेकाहीँ टोलवासीले देखाएकोे उत्साहले आनन्द दिन्छ

- मिनबहादुर लामा (अध्यक्ष, शान्तिदीप एकता टोल विकास संस्था)

फौजी लाहुरेको जीवनबाट अवकाश लिएपछि उहाँको दैनिकी समाजसेवामा बितेको छ । चाहे गुम्बाको विकासका लागि होस् चाहे टोलको विकासका लागि उहाँ सक्रिय भएर लाग्नुहुन्छ । कहिले राजनीतिक कार्यक्रममा दौडिनुहुन्छ त कहिले सामाजिक अभियान्ताका साथ र समर्थनमा । उमेरले आधा शताब्दी पार गरे पनि उहाँको सक्रियता कुनै जोशिला युवाको भन्दा कम छैन । भरतपुर १६ शान्तिचोक, चितवनको शान्तिदीप एकता टोलका अगुवा मिनबहादुर लामासंग हाम्रा प्रतिनिधिले गरेको कुराकानीको केही अंश
यस टोल विकास संस्थाको स्थापना कहिले भयो ? र यो नाम कसरी राखियो ?
यो संस्था २०७२ साल असोज १६ गते स्थापना भएको हो । शान्तिचोक सेरोफेरोमा संस्थागत नाम राख्दा शान्तिदीप राम्रो लागेर होला त्यहीँ नाममा आमा समूह गठन भइसकेको थियो । अनि यहाँ एकता युवा क्लब पनि कार्यरत रहेकाले उक्त क्लबको अस्तित्व पनि कायम रहने गरी यो नाम राखिएको मैले बुझेको छु ।
संस्था स्थापनाका उद्देश्य के के हुन् ?
महानगरपालिकाको नीति निर्देशनअन्तर्गत वडासँग सहकार्य तथा टोलवासीको चाहनाअनुसार टोल सफा सुग्घर राख्ने, पोलबत्ती समयमा मर्मत सम्भार गर्ने, आवश्यक परेको ठाऊँमा पोल र बत्ती थप्दै जान सम्बन्धित निकायमा पहल गर्ने, फोहोर व्यवस्थापन गर्ने ।
संस्था स्थापनाको उद्देश्य र विधि विधान अनुसार काम भएको छ त ?
हामी संस्थाको विधि विधान अनुसार नै संचालित छौं भन्ने मैले ठानेको छु ।
तपाईं कहिलेदेखि कार्यसमितिमा रहनुभयो ? र, कहिलेदेखि अध्यक्ष हुनुहुन्छ ?
मलाई शुरुमा सल्लाहकारमा राखिएको थियो । शुरुको कार्यसमितिका धेरैजसो साथीहरू व्यस्त भएर होला त्यो कार्यसमितिले अपेक्षित काम गर्न नसकेको गुनासो आएपछि २०७३ साल पुषबाट म सर्वसम्मत रूपमै अध्यक्षमा चयन भएँ । त्यसपछि ०७५ साउनमा पुनर्गठन भएको कार्यसमितिमा पनि मलाई अध्यक्षमा दोहो¥याइयो ।
तपाईंको नेतृत्वमा के के काम भए ?
म अध्यक्ष भएपछि फोहोर व्यवस्थापन, टोलको सरसफाई, पोलबत्तीको मर्मत सम्भार नियमित रूपमा भएको छ । शान्तिचोकबाट दक्षिणतर्फको नयाँ बाटोमा केही पोलहरू थप गरियो र त्यहाँ पनि बत्तीको व्यवस्था गरियो । हामी जहाँ छौं त्यहाँ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनिरहेको छ । रंगशाला बन्ने शुरुवाती चरणमै हामीले यस संस्थाबाट सक्दो आर्थिक सहयोग गर्दै आएका छौं । पटकपटक श्रमदान पनि गरेका छौं । रंगशालाका लागि लगाइएको महायज्ञमा पनि सक्रिय भएर लाग्यौं । त्यसबेला टोलवासी सबैको उतसाह प्रशंसनीय रह्यो । यस वर्षको योजना तर्जुमाका लागि पनि दर्जनजति पोल थप्न माग गरि पठाइएको हो, अहिलेसम्म नतिजा आइसकेको छैन । वडाबाट आएका कार्यक्रमको सूचना दिने र सो अनुसारको कार्य गर्ने गराउने काममा पनि छुटिएजस्तो लाग्दैन ।
संस्थामा काम गर्दाका अप्ठ्यारा र अपजश के के बेहोर्नुभयो र बेहोर्दै हुनुहुन्छ ?
बिजुलीको भ¥याङ किन्ने बेलामा केही महिना रु. एक सयका दरले उठाइयो । फोहोर व्यवस्थापन र सडकबत्ती मर्मतका लागि अरु बेला (नियमित) न्यूनतम मासिक रु. ५०।– उठाउने गरिएको छ । हामीले महानगरपालिकालाई प्रत्येक महिना यथासमयमै फोहोरको पैसा बुझाउनु पर्छ । यता त्यहीँ पनि समयमा उपलब्ध हुँदैन । पोलका बत्ती बिग्रिइ राख्छन् मर्मत गर्न उत्तिकै मेहनत र खर्च हुन्छ तर काम देखिंदैन तर टोलवासीबाट सेवा सुविधा धेरै मागिन्छ ।
संस्थामा काम गर्दा पाएको जश र सुखानुभूति पनि बताइदिनुस् न ?
कुनै पनि संस्थामा काम गर्दा जश अपजश दुवै हुन्छ । कहिलेकाहीँ श्रमदान गर्दा, सहयोग उठाउँदा टोलवासीले देखाएकोे उत्साहले आनन्द पनि दिन्छ । जेहोस् टोल विकासको अध्यक्षको हैसियतमा वडा, विभिन्न संघ संस्था र अभियान्ताहरूले विभिन्न किसिमका कार्यक्रममा बोलाउनुहुन्छ । उपस्थित भएर जानेको बोल्न र नजानेको सोध्न पनि पाइन्छ । अनि हाम्रा कुरा विभिन्न निकायले चासो दिएर सुन्ने र मनन् गर्ने गरेको सुखानुभूति पनि गरेको छु । टोलवासी सबैको चित्त बुझाउन सकिन्न तथापि धेरैले मप्रति राम्रै भाव राखेको महसुस गरेको छु ।
यस संस्थालाई वडाको साथ र सहयोग कत्तिकोे छ ? वडाले संस्थाका के कस्ता अपेक्षा पुरा गर्न सकेको छैन ?
बाल विकास र ज्येष्ठ नागरिकको सहयोगका लागि तथा अन्य सिपमूलक तालिम आदिका लागि केही सहयोग आउने गरेको छ । पोलबत्तीका लागि पनि सहयोग आएको हो तर गुणस्तर राम्रो नभएर शिकायत गर्नुप¥यो र धेरै गुनासो आएकाले वडाले फरक ढंगले काम गर्दैछ अब राम्रै सामान देला भन्ने विश्वास छ ।
विधानतः यस संस्थाको अधिवेशन कहिले हुँदैछ ?
शायद एक महिनाभित्रै ।
अब आउने कार्यसमितिमा बस्न तपाईंको चाहना हुन्छ कि हुँदैन ?
कार्यसमितिमा बसेर भन्दा बाहिरबाट सहयोग गर्न इच्छुक छु । वा भनूँ सल्लाहकारका रूपमा आवश्यक सहयोग गर्न तत्पर छु । कार्यसमितिमा नरहे पनि म सहयोगमुक्त रहने छैन ।
नयाँ कार्यसमितिका लागि तपाईंका राय सुझाव केही छन् कि ?
टोलमा नराम्रो खालको वातावरण सिर्जना गर्नेलाई संयमित राख्ने, वडाबाट आउने सुविधालाई राम्रो तरिकाले व्यवस्थापन गर्ने । बाटोको दायाँबायाँको झारपात फालेर टोललाई सफासुग्घर राख्ने कार्यमा सक्रिय रहन सुझाव दिन चाहन्छु ।
टोलवासीलाई के भन्न चाहनुहुन्छ ?
अहिले देशैभरि कोरोनाको महामारी फैलँदो छ । यस्तो बेलामा स्वास्थ्य सतर्कता अपनाउँदै सरसफाईको ख्याल गर्न र स्वस्थ रहेर बस्न अनुरोध गर्दछु । स्वास्थ्य र सरसफाई अहिले मात्र होइन सधैंका लागि अनिवार्य शर्त हो ।