तीन करोड भ्रष्टाचारको आरोपमा शर्माविरुद्ध मुद्दा दयार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाइ विभागका सिडिई सुरेशकुमार शर्माविरुद्ध तीन करोड रुपियाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
शर्माले विभिन्न कार्यालय तथा आयोजनाहरूमा कार्यरत रहँदा अत्यधिक भ्रष्टाचार तथा अनियमितता गरेको ठहर गर्दै आयोगले विशेष अदालतमा आज आरोपपत्र दर्ता गरेको हो ।
अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार, शर्माविरुद्ध कुल तीन करोड छ लाख ५४ हजार नौ सय बत्तीस रुपियाँ बिगो कायम गरिएको छ ।
शर्माले वैध आयभन्दा बढी खर्च गरी खरिद गरेका चलअचल सम्पत्ति र खर्च लगानीहरूको स्रोत नखुलेको देखिएको छ ।
सिडिई शर्माले आफ्नो हैसियतभन्दा बढी रकमले आफू र श्रीमतीको नाममा जग्गा खरिद, घर निर्माण, विभिन्न बैंक तथा वित्तीय संस्था तथा कम्पनीहरूका संस्थापक एवम् साधारण शेयरहरु खरिद लगानी गरी खर्च गरेको देखिएको छ ।